डोके आम्दानीबाटै तीन छोरीको विवाह खर्च
सारांश
- बलेवा, बागलुङ, असोज १।
- बागलुङ नगरपालिकाको तित्याङकी ५५ वर्षीय लक्ष्मी किसानको दैनिकी डोकोमा तरकारी बोकेर बजार झरेपछि शुरु हुन्छ ।
- यो दैनिकी उनले २५ वर्षदेखि गरिरहेकी छन् ।
बलेवा, बागलुङ, असोज १। बागलुङ नगरपालिकाको तित्याङकी ५५ वर्षीय लक्ष्मी किसानको दैनिकी डोकोमा तरकारी बोकेर बजार झरेपछि शुरु हुन्छ । यो दैनिकी उनले २५ वर्षदेखि गरिरहेकी छन् । बिहान र बेलुकी गरी कम्तीमा दुई डोका तरकारी लिएर बजारमा पुग्ने किसानले साहुको पैसा बुझाएर आउने नाफाबाट जीवन धानिरहेकी छन् ।बिहान उज्यालो हुँदानहुँदै बागलुङ बजार पुगेर तरकारी पसल, होटल तथा व्यक्तिका घरघरमा तरकारी बेच्छिन् उनी । बिहानको खेप ८ बजेभित्र सकेपछि उनी फर्केर घरको काम भ्याउँछिन् । दिउँसो २ बजेपछि फेरि दोस्रो खेप तरकारी तयार हुन्छ । त्यो सकेपछि बेलुकी घरको नियमित काममा लाग्नुपर्छ उनलाई ।
यस्तै काम गरेर उनले चार सन्तान हुर्काएकी छन् । आफूले पढ्न लेख्न नपाएपनि छोराछोरीलाई पढाउन सफल भएको उनी बताउँछिन् । “राम्रो गर्न नसकेपनि छोराछोरीलाई नराम्रो गरेकी छैन, डोकोमा तरकारी बेचेर कमाएको पैसाले खाने लाउनेदेखि पढाएर पनि केही बचत गरेकी छु,” उनले भनिन् । तीन छोरी र एक छोरालाई डोकोमा हालेर बेचेकै तरकारीले हुर्काएकी हुन् उनले । बीस वर्षअघि श्रीमान् बितेको थियो । श्रीमान् छँदा पनि उनले यसरी नै दुःख गरेकी थिइन् । श्रीमान्बाट साथ र सहयोग नपाएकाले उनलाई कमाएर परिवार पाल्नुपर्ने भयो । डोके आम्दानीबाटै उनले तीन छोरीको विवाह खर्च पनि जुटाइन् । उनले भनिन् – “छोरीको विवाह गर्दा केही खर्च भयो तर, मैले यो पेशाबाटै पु¥याएँ । ठूला साहुको ठूलै ऋण हुन्छ रे, मैले अहिलेसम्म कसैको एक रुपैयाँ पनि खाएको छैन ।” डोकोभरि तरकारी लगेर बेचेपछि घर फर्कंदा उनले सबैको पैसा तिर्छिन् र बचेको मात्र खर्च गर्छिन् । केही समयदेखि बागलुङ नगरपालिका–३ स्थित मिर्मिरे कृषि सहकारी संस्थाले उनको पैसा बचत पनि गरिदिएको छ ।
बिरामी हुँदा उपचार खर्च हुन्छ र मौकामा खर्च गर्न पाइन्छ भनेर खाता खोलेको उनले सुनाइन् । सहकारीका सदस्यहरुले गाउँभरि तरकारी खेती गरेका छन् । उनीहरुको तरकारी कृषि फार्मबाटै बिक्री समेत हुन्छ । किसानले बाँकी तरकारी डोकोमा बोकेर बजारका घर–घरमा लैजाने गरेकी हुन् । उनले हरेक दिन कम्तीमा १०० केजी तरकारी बिक्री गर्ने गर्छिन् । साग, काउली, बन्दागोभी, केराउ, गोलभेडा लगायतका तरकारी बिक्री गर्ने उनको दिनचर्या नै हो ।“नियमित आएर तरकारी टिप्ने काममा पनि साथ र सहयोग गरेर डोकोमा लैजान्छिन्, खुद्रा मूल्यभन्दा केही सस्तो दिएर पठाउने गरेको छु,” सहकारीका अध्यक्ष गंगाबहादुर थापाले भने । त्यही कमिसनबाट उनले आफ्नो दैनिकी धानिरहेकी छिन् । किसानका अनुसार प्रतिकेजी १० रुपैयाँसम्म नाफा निकाल्न सक्दा दैनिक एक हजार रुपैयाँसम्म कमाइ हुन्छ ।
अत्यधिक मदिरा सेवनले श्रीमान् बिते
का हुन् । “विदेश जान खोजेको छोरोलाई पनि कृषि कर्म गर्न भनेकी छु,” किसानले भनिन् । खेती गर्न गाउँमै जग्गा भाडामा लिन पनि पाइने भएपछि छोरा दीपकले आमाको पेशालाई साथ दिने योजना बनाएको उनी सुनाउँछिन् । बजारको समस्या नभएकाले र राम्रै आम्दानी हुने भएकाले छोरोलाई खेतीपातीमा प्रेरित गरेकी हुन् उनले ।मासिक ३० हजार रुपैयाँसम्म कमाइआएका उनी छोरोले साथ दिए ५० हजार कमाउने आशा छिन् । उनले भनिन् – “उमेरले काम गर्न नसक्ने अवस्था भैसकेकी छु तर, छोरोले साथ दिए अझै मासिक ५० हजारसम्म कमाउन सक्छु ।” गाउँसम्म मोटरबाटो बनेको छ । जिपमा राखेर बजार पठाउन सकिए अझै धेरै तरकारी बिक्री हुनसक्छ । एकै खेपमा एकसय केजीसम्म लगेर खपत गर्ने बजार आफूले देखेको उनी बताउँछिन् ।
पछिल्लो समय बागलुङ बजारमा तरकारीको चर्को अभाव छ । स्थानीय उत्पादनले मात्रै बजारको माग नधान्ने भएकाले बाहिरी बजारबाट समेत तरकारी आयात हुने गरेको छ । लामो समय बागलुङको ट्राफिक चोकमा तरकारी ब्यापार गरेर बसेका टुकनाथ शर्मा भन्छन् – “स्थानीय बजारको तरकारीले नपुगेर बाहिरबाट ल्याएर बेच्ने गरेको छु ।” उनका अनुसार तराईबाट बढी तरकारी आयात हुन्छ । सानो तरकारी पसल राखेर बसेका शर्माको अनुभवमा उपभोक्ताले स्थानीय उत्पादन बढी रुचाउने गरेका छन् ।
शर्मा भने – “तरकारी खोज्न आउनेहरुले लोकल तरकारी बढी खोज्छन् तर, हाम्रोमा लोकल तरकारीले मात्रै दैनिक ब्यापार धान्दैन ।”तरकारीको बजार राम्रो रहेको भए पनि एकाध युवाबाहेक कृषिजन्य उत्पादनको कारोबारमा लाग्ने जनशक्तिको अभाव छ । रेमिट्यान्स भित्र्याउने जिल्लाहरुको सूचीमा आउने बागलुङका अधिकाँश युवा रोजगारीको सिलसिलामा तेस्रो मुलुकहरुमा रहेका छन् ।
प्रतिक्रिया