तातोपानी नाका मालवाहक सवारीका लागि मात्र

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख २९, २०७६
|
|
२९ पटक हेरिएको
Shares
तातोपानी नाका मालवाहक सवारीका लागि मात्र

सारांश

  • काठमाडौं २९ बैशाख ।
  • नेपाल र चीन जोड्ने पुरानो नाका तातोपानी ‘भेहिकल मुभमेन्ट’ मात्र गर्न पाउने सर्तमा खुला हुने भएको छ ।
  • तीन सातापछि उक्त नाका खोल्ने गरी तयारी भए पनि त्यो स्वाभाविक रूपमा सञ्चालन हुन भने थप तीन महिना लाग्नेछ ।

काठमाडौं २९ बैशाख । नेपाल र चीन जोड्ने पुरानो नाका तातोपानी ‘भेहिकल मुभमेन्ट’ मात्र गर्न पाउने सर्तमा खुला हुने भएको छ । तीन सातापछि उक्त नाका खोल्ने गरी तयारी भए पनि त्यो स्वाभाविक रूपमा सञ्चालन हुन भने थप तीन महिना लाग्नेछ । नेपालतर्फको सडक वर्षाअघि निर्माण नभए त्यो पनि सम्भव छैन । बाढी र पहिरोको चपेटामा परेको तातोपानी नाकालाई ०७२ को महाभूकम्पले ध्वस्त पारेको थियो । भूकम्पपछि उत्तरतर्फ सम्पर्क नै विच्छेद भएको छ ।

चार वर्षयतादेखि यो नाकाबाट कुनै कारोबार भएको छैन । त्यहाँबाट हुने आंशिक कार्य रसुवागढीबाट हुने भए पनि यहाँको सडक पनि जर्जर छ । त्यसैले रसुवागढीबाट तातोपानी नाकाबाट अझै सामान ढुवानी सहज छैन ।

भूकम्पले तातोपानी नाकाका संरचना ध्वस्त भएदेखि नै नाका खुल्ने–नखुल्ने विषयमा बहस चलिरहेको छ । चिनियाँले भौगोलिक संरचना देखाउँदै त्यहाँबाट कारोबार गर्न नसकिने भने पनि नेपाली पक्षले राजनीतिक कारणबाट नाका खुल्न ढिलाइ भएको बुझाइ छ ।

तातोपानी नाकाबाट चीनविरोधी गतिविधि बढेको बुझाइ चिनियाँ पक्षमा परेपछि यो खुल्न समय लागेको हो । अहिले चीनबाट जुन मोडलमा नाका खोल्ने तयारी भइरहेको छ, त्यसबाट नाका राजनीतिक कारणले नै खुलाउन ढिलाइ भएको पुष्टि हुन्छ । नेपाली पक्षले पनि आफ्ना तर्फबाट गर्नुपर्ने काम अघि बढाएको थिएन । ‘चीनले मानिसको आउजाउ हुन नपाउने सर्तमा नाका पुनर्निर्माण गरेको हो’, अधिकारीले भने, ‘कुती (न्यालोम) बाट सीधा सामान सिल गरी नेपाली ड्राईपोर्ट (लार्चे) मा सामान खोल्ने गरी त्यो नाका सुचारु गराउन लागेको हो ।’

यो नाकाबाट मानिस माथिल्लो खासासम्म पुग्ने गर्थे । कतिपय त त्यहाँबाट ल्हासा नै जान्थे । तर, यसपटक चिनियाँ मानिसको आउ जाउमा उदार नहुने देखिएको परराष्ट्र अधिकारीले बताए । यो चीनसँगको पहिलो अन्तर्राष्ट्रिय नाका हो । दुई वर्ष अघिदेखि रसुवागढीलाई पनि अन्तर्राष्ट्रिय नाका भन्दै त्यहाँबाट आउजाउ गर्न थालिएको छ । त्यस्तै, हिल्सा–यारी नाकालाई पनि अन्तर्राष्ट्रिय नाकाका रूपमा लिइएको छ । प्रधानमन्त्रीको चीन भ्रमणमा रेलसँगै यो नाका खोल्ने विषय पनि प्रमुख एजेन्डाकै रूपमा उठ्यो । केपी ओलीको पहिलो कार्यकाल तथा केही समयअघि भएको चीन भ्रमणमा नाका खोल्ने विषय प्रमुख एजेन्डा बनेको थियो । यो एजेन्डामा चिनियाँ अधिकारीले छलफल पनि गरे ।

राष्ट्रपति विद्यादेवी भण्डारीको नौ दिने राजकीय भ्रमणमा पनि यो विषय उठ्यो । चीनका तर्फबाट तत्काल खोल्ने प्रतिबद्धता पनि आयो । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले तातोपानी नाका छिट्टै खुल्ने अभिव्यक्ति बारम्बर सार्वजनिक गरे ।

छिमेकी चीन जोड्ने अन्य नाका पनि क्रमशः खोल्ने भनिँदै छ तर भएको नाकासम्म पुग्ने सडकलाई राम्रो बनाउनु आवश्यक छ । नेपालतर्फको सडक राम्रो नहुँदा हिउँदबाट मात्रै तातोपानी नाका पूर्ववत् अवस्थामा फर्कन सक्ने अनुमान गर्न सकिन्छ ।

तातोपानी नाका बन्द भएपछि हजारौंको रोटीरोजी खोसिएको छ । हजारौं परिवार त्यहाँबाट विस्थापित भएका छन् । अहिले फेरि चीन सरकारको सहयोगमा पुलसहित सडकमर्मत भएपछि बस्ती फर्कने अवस्थामा आएको छ । मानिसको आउजाउ सुरु भएको छ । भोटेकोसीमा पुल निर्माण सुरुदेखि नै विवाद भएको थियो । अहिले पनि यो विवादरहित भएन । विवादकै कारण पुल निर्माण ढिलो सुरु भयो । तर, अहिले काम सकिने चरणमा पुगेको छ । कान्तिपुरबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?