तिहारको झिलिमिली बत्तीमा करोडौँ खर्च !
सारांश
- चितवन, ३१ असोज : दुना र पालामा दीप प्रज्ज्वलन गरेर मनाइने तिहार पर्व आधुनिकतासँगै निकै खर्चिलो मात्रै बनेको छैन, करोडौं रुपैयाँ विदेशिएको छ ।
- आफ्नै बारीमा उत्पादन गरेको तोरीको तेल सालको पातले बनाएको दुनामा राखेर आफँैले कातेको बत्ती बालेर हर्षाेल्लासपूर्वक मनाइने तिहार पर्वमा अहिले वार्षिक झण्डै एक अर्ब रुपैयाँ खर्चेर झिलिमिली बत्ती बालेर मनाइने गरेको छ ।
- तिहारका लागि बालिने झिलिमिली बत्तीका लागि नेपाल विदेशको भरमा निर्भर छ ।
चितवन, ३१ असोज : दुना र पालामा दीप प्रज्ज्वलन गरेर मनाइने तिहार पर्व आधुनिकतासँगै निकै खर्चिलो मात्रै बनेको छैन, करोडौं रुपैयाँ विदेशिएको छ ।
आफ्नै बारीमा उत्पादन गरेको तोरीको तेल सालको पातले बनाएको दुनामा राखेर आफँैले कातेको बत्ती बालेर हर्षाेल्लासपूर्वक मनाइने तिहार पर्वमा अहिले वार्षिक झण्डै एक अर्ब रुपैयाँ खर्चेर झिलिमिली बत्ती बालेर मनाइने गरेको छ ।
तिहारका लागि बालिने झिलिमिली बत्तीका लागि नेपाल विदेशको भरमा निर्भर छ । विद्युतीय व्यवसायी महासंघका अध्यक्ष तेजनारायण खरेलकाअनुसार वार्षिक झण्डै रु ७० करोड बराबरको तिहारमा बालिने झिलिमिली बत्ती भित्रिने गर्दछ । चीनबाट ९० प्रतिशत र भारतबाट १० प्रतिशत झिलिमिली बत्ती आयात हुन्छ ।
सामग्री धेरै बिग्रिने र तिहारमा बिक्री नभएमा थन्किएर बस्ने हुँदा व्यवसायीले नाफा बढी राखेर बिक्री गर्छन । जडान गर्नेले छुट्टै रकम लिने गर्दछन् । सीमा क्षेत्रमा कतिपयले भन्सार छलेर नै यस्ता बत्ती भित्र्याउने गरेका छन् । झिलिमिली बत्तीको सबै खर्च जोड्दा एक वर्षको तिहारमा रु एक अर्बभन्दा बढीको कारोबार हुने व्यावसायी बताउँछन् ।
महासंघका महासचिव रेशम देवकोटाकाअनुसार अधिकांश बत्ती लिडबाट बनेका छन् । बत्तीको स्वरुप फरक÷फरक हुने गरेको उहाँले बताउनुभयो । सबैभन्दा बढी एक सयवटा एलइडि बल्ब भएको १० मिटर लामा झालर बिक्री हुने गर्दछन् । यसका अतिरिक्त लिड जडित फूल, लिडबाट बनेको क्याण्डिल, क्याण्डिल पाइप, पाइप लाइट, लालटिन बल्ब, टेबल बल्ब, डिस्को लाइट, स्टिक लाइट, नेट लाइट, लेजर लाइटलगायतका विभिन्न बत्ती तिहारमा बिक्री हुने गरेको देवकोटाले बताउनुभयो ।
यसअघि चीमबाट बल्ने बल्ब आयात गर्ने गरिए पनि हाल अधिकांश लिडबाट बनेका बत्ती आयात गर्ने गरिएको छ । महासंघका अध्यक्ष खरेलकाअनुसार चीमबाट बल्ने बल्बले बनेको एउटै झालरले ७० वाटसम्म विद्युत् खपत गर्ने भए पनि अहिले आउने लिडबाट बनेका झालरले बढीमा सात वाट मात्रै विद्युत् खपत गर्ने गर्छ ।
यस्ता सामग्रीको भन्सार २० प्रतिशत लाग्छ । करिब १३ प्रतिशत मूल्य अभिवृद्धि कर र व्यवसायीको नाफा जोड्दा अत्यधिक बिक्री हुने एउटा झालर रु ५० देखि रु ४०० सम्ममा बिक्री हुन्छ । तिहारमा एउटै परिवारले एक सयदेखि रु २० हजारसम्म झिलिमिली बत्तीमा खर्च गर्ने गरेको खरेलको भनाइ छ । कतिपय ठूला टावर र धनाढ्यको घर, पसलका अतिरिक्त बगैँंचा समेत बत्तीले सजाउँदा अरु बढी खर्च हुन्छ ।
प्रायः एक वर्ष प्रयोग भएपछि पुनः प्रयोग कमै हुने हुँदा वर्षेनी यसको खर्च बढ्दै गएको छ । उज्यालोको पर्व भनिने तिहारमा घर, पसल, कारखाना सबैमा रातभर झिलिमिली बत्तीको उज्यालो बनाउँदा लक्ष्मी खुशी हुने भन्ने मान्यता रहिआएको छ ।
महासंघमा दुई हजार व्यवसायी आवद्ध छन् । प्रमुख शहर भएको १९ जिल्लाका व्यवसायी मात्रै महासंघमा आवद्ध छन् । खरेलका अनुसार अरु नेपालमा चार हजारको हाराहारीमा व्यवसायीले यस्ता सामग्री बिक्री गर्ने गरेका छन् ।
विना दर्ता सञ्चालित पसल बन्द
भरतपुरस्थित केन्द्रीय बस टर्मिनल (बसपार्क) क्षेत्रभित्र दर्ता नगरी सञ्चालित आठ पसललाई स्थानीय प्रशासनले आइतबार बन्द गराएको छ ।
बसपार्क क्षेत्रभित्र भाडामा लिएर सञ्चालित पसल बिना दर्ता सञ्चालनमा थिए । जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन टोलीले पसल बन्द गराएको हो ।
बसपार्कभित्रका गुरुङ कोल्ड स्टोर्स, लक्ष्मी खाजा घर, सृषा खाजा घर, रोशनी एण्ड रोशन खाजा घर, मनकामना खाजा घर, गुल्मी बागलुङ खाजा घर, लमजुङ प्रोभिजनल स्टोर्स र न्यून सिमरा शुभास स्टाफ होटल बन्द गरिएको बजार अनुगमन अधिकृत ओमनारायण शर्माले जानकारी दिनुभयो ।
पसल सञ्चालकले खानेपानी प्रति बोतल रु २५ लिएर सेवाग्राहीलाई ठगी गर्दै आएको पाइएको छ । सोही क्रममा म्याद नाघेका ठूलो परिमाणमा पेय पदार्थ एवं खाद्य सामग्री पनि नष्ट गरिएको खाद्य निरीक्षक प्रवीणकुमार तिवारीले बताउनुभयो ।
बन्द गरिएका पसललाई भरतपुर महानगरपालिका र आन्तरिक राजस्व कार्यालयमा पसल दर्ता गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको शर्माले बताउनुभयो । स्थानीय प्रशासनले आइतबार बसपार्क क्षेत्रका २५ वटा पसलको अनुगमन गरेको थियो ।
बिना दर्ता सञ्चालित विपना मगर होटलले घरेलु र अन्य मदिरा बिक्री गरेको पाइएपछि मदिरा जफत गरिएको छ । त्यस्तै सुर्तीजन्य पदार्थ एवं मदिरा जफत गरी आन्तरिक राजस्व कार्यालय भरतपुर पठाएको शर्माले बताउनुभयो । सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ एवं मदिरा निषेध गरिए पनि बसपार्कमा खुलेआम प्रयोग भइरहेको थियो । प्रहरीको सहयोगमा बसपार्कभित्र सञ्चालित पसलबाट अवैध रुपमा बिक्री गरिएका सुर्तीजन्य पदार्थ बरामद गरिएको उपभोक्ता अधिकार संरक्षण मञ्च चितवनका उपाध्यक्ष विष्णु भुषालले बताउनुभयो ।
प्रतिक्रिया