दाङ पुगेर कांग्रेस प्रवक्ता शर्माले यस्तो दिए ओली सरकारलाई सुझाव
सारांश
- दाङ, १९ जेठ ।
- नेपाली कांग्रेसका प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माले वर्तमान सरकारले ल्याएको बजेट यथार्थपरक भन्दा पनि बढी महत्वाकांक्षी भएको बताएका छन् ।
- प्रेस युनियन दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले वर्तमान सरकारले ल्याएको बजेटका सन्दर्भमा यस्तो प्रतिक्रिया जनाएका हुन् ।
दाङ, १९ जेठ । नेपाली कांग्रेसका प्रवक्ता एवं युवा नेता विश्वप्रकाश शर्माले वर्तमान सरकारले ल्याएको बजेट यथार्थपरक भन्दा पनि बढी महत्वाकांक्षी भएको बताएका छन् । प्रेस युनियन दाङले शनिवार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले वर्तमान सरकारले ल्याएको बजेटका सन्दर्भमा यस्तो प्रतिक्रिया जनाएका हुन् ।
“वर्तमान सरकारको अवस्था वायुपंखी घोडाको नारा, बयलगाडाको पाराजस्तै छ” युनियन दाङका कोषाध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रवक्ता शर्माले भने, निजी क्षेत्रलाई बजेटले समेट्न सकेको छैन । प्रवक्ता शर्माले वर्तमान सरकारले ल्याएको बजेटमा करको दर बढाइएको भन्दै दायरा नबढाएसम्म बजेटको लक्ष पूरा हुन कठिन भएको पनि बताए । “करको दर बढाउने होइन, यसले नागरिकलाई व्ययभार थप्छ । त्यसैले दरभन्दा दायरा बढाउनु उपयुक्त हुने थियो”, शर्माले भने ।
प्रवक्ता शर्माले अहिले वामपन्थीहरुको दुइतिहाई बहुमतको सरकार गठन भएकाले कांग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र सरकारको कमजोरी औंल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने रणनीति अपनाएको बताए । कांग्रेस लगातार नहार्ने र लगातार नजित्ने पार्टी भएको भन्दै पार्टीमा देखिएको गुटबन्दी र वामपन्थी एकताका कारण कांग्रेसले निर्वाचनमा पराजय भोगेको बताउँदै उनले अब पार्टीलाई नवीनतम बनाउन लागिएको बताए । त्यसै अभियानअनुरुप अहिले सबै नेताहरु देशदौडाहामा लागिरहेको उनले जानकारी दिए ।
“कांग्रेसले नेतृत्व गरेको सरकारलाई जति चुनौतिहरु थिए, अहिले ओली नेतृत्वको सरकारलाई छैन । यो अवस्थामा पनि वर्तमान सरकारले आर्थिक बृद्धिदरलाइ ८ अंकमा पु¥याउन सकेन भने त्यो सबैभन्दा दुर्भाग्य हुने छ”, नेता शर्माले भने । नेता शर्माले वर्तमान सरकारका प्रधानमन्त्रीलाई दृढ इच्छाशक्ति, विशाल हृदय र अधिकतम लचकता अपनाएर समृद्धिका पक्षमा अघि बढ्न पनि सुझाव दिए । उनले वर्तमान सरकार भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणका बेला राष्ट्रियताको सवालमा चुकेको बताउँदै भारतीय सेनाको खुला रुपमा नेपालमा प्रवेश गराइनु दुर्भाग्यपूर्ण अवस्था भएको बताए । उनले थपे, “यसले नेपाली सेना मोदीलाई सुरक्षा दिनसक्ने अवस्थामा दिएन भन्ने संकेत दिन्छ ।”
यसैबीच अर्को प्रसंगमा प्रवक्ता शर्माले मुलुक संघीय संरचनामा प्रवेश गरिसकेको अवस्थामा पनि पार्टीमा पुर्नसंरचना हुन नसक्नुका कारण निर्वाचनमा समेत केही जटिल समस्या देखिएको भन्दै आउँदो भदौ महिनाभित्रै पार्टी नयाँ शिराबाट अघि बढ्ने बताए । “भदौमा हुने महासमिति बैठकले पार्टीको विधान संशोधन गरेलगत्तै पार्टी पुनर्संरचनामा प्रवेश गर्छ”, प्रवक्ता शर्माले भने, पुनर्संरचनापछि पार्टी नयाँ ढंगले अघि बढ्ने छ ।
कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्न नसकेको भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा प्रवक्ता शर्माले सरकार गम्भीर नभएमात्र कांग्रेस कठोर रुपमा प्रस्तुत हुने बताए । पत्रकार सम्मेलनको सहजीकरण प्रेस युनियनका सहसचिव बालाराम खड्काले गरेका थिए ।
Raj Paudel
जाहा पुगेर जे भनेपनी आउदो चुनाब मा जित्न सकिन्छ कि भने कुरा दिमाग देखि निकल्दिदा हुन्छ हो
Shekhar Regmi
boula
Ram Prasad Neupane
ओलीलाई भन्दा आफ्नै शेर बहादुरलाई भनौन तै सुधारीन्छ की कांग्रेस ।