दीपक विष्टको लक्की ड्रेस ‘जसले उनैलाई चड्कन खुवायो’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख १३, २०७५
|
|
१६ पटक हेरिएको
Shares
दीपक विष्टको लक्की ड्रेस ‘जसले उनैलाई चड्कन खुवायो’

सारांश

  • काठमाडाै, १३ वैशाख ।
  • भदौमा इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुद (एसियाड)मा नेपालबाट तेक्वान्दोमा कसले खेल्ने भन्ने अहिलेसम्म टुङ्गिएको छैन ।
  • यसले दीपकमा तनाव थपेको छ ।

काठमाडाै, १३ वैशाख । भदौमा इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुद (एसियाड)मा नेपालबाट तेक्वान्दोमा कसले खेल्ने भन्ने अहिलेसम्म टुङ्गिएको छैन । यसले दीपकमा तनाव थपेको छ ।

तर, तेक्वान्दोमा लगातार चार पटक स्वर्ण जितेर इतिहास बनाएका दीपकसँग हामी यो विवादबारे कुरा गर्दै थिएनौँ ।

कार्यक्रमबाट बाहिर निस्किएपछि अलिक पर एउटा छुट्टै टेबलमा हामीले दीपकसँग कुरा गर्न थाल्यौँ।

सम्झनाको तरेलीमा पुराना दिनमा फर्किदैं जाँदा विष्ट अचानक शंखमुल पुगे । अहिले पनि हरेक दिन विष्ट शंखमुल पुग्छन् । तर, विगतको त्यो सम्झनाले विष्टको अनुहारमा एउटा नमीठो दुःख ल्याइदियो ।

यो विष्ट काठमाडौं आएको सुरुवाती दिनको कुरा हो । विष्टले शंखमुलमा एउटा कोठा लिए ।

‘त्यो कोठामा कयौँ रात भोकै सुतेको थिएँ,’ विष्टले लामो सास फेरे अनि भने, ‘कति दुःख थियो भन्ने कि मलाई थाहा छ, कि त्यही कोठालाई ।’ आजभोलि जब बाटोमा त्यो कोठाअगाडि उनी पुग्छन्, टक्क केही बेर अडिन्छन् ।

यता, कुराकानीमा पनि टक्क अडिए विष्ट । किनकि हामी उनको विगतका दुःखहरुसँग फेरि एकपटक साक्षात्कार गर्दै थिएनौँ, हामी त खेलका क्रममा उनले लगाएका ड्रेसबारे कुराकानी गर्दै थियौँ ।

२४ वर्ष अगाडि । काठमाडौंमा तेक्वान्दो र कराँतेबारे त्यति धेरै भिन्नता थाहा नै थिएन ।

दीपक विष्ट १९ वर्षका थिए । आइएससी सकिसकेका । अब चाहिँ तेक्वान्दो सिक्ने कि भन्ने रहर पलायो उनमा । त्यसो त त्यसअघि पनि खेलकुदमा लागिरहेका थिए, विष्ट । तर, इन्डिभिजुअल गेममा रुची पलाएकाले उनी तेक्वान्दोतिर लाग्ने सोचे ।

तेक्वान्दो सिक्न जानुभन्दा अगाडि उनी दर्जीकहाँ पुगे । कपडा सिलाउन लगाए ।

‘नयाँ कपडामा ठाँटिएर ट्रेनिङ हुने ठाउँमा पुगे,’ उनी हाँसे ।

अहिले विष्टलाई हाँसो लागेको त्यो सम्झना त्यति बेला चाहिँ पीडादायी थियो ।

‘सेतो खद्दरको नयाँ ड्रेसमा जोसिएर पुगेको थिएँ म,’ उनले सम्झिए, ‘नयाँ ड्रेस सबले देखुन् भनेर अगाडि गएँ ।’

उनी अगाडि के पुगेका थिए, गुरु गोविन्द विष्ट कोठामा छिरे । दीपकलाई लाग्यो, गुरुलाई पनि देखाइदिन्छु नयाँ कपडा । उनी हतारिँदै गोविन्द विष्टको अगाडि पुगे ।

चड्याम्म ।

दीपकले जे सोचेका थिए, त्यो भएन । उनलाई त लागेको थियो, गुरुले पनि नयाँ ड्रेसलाई हेरेर मुस्कुराउलान् ।

तर, गालामा थप्पड हानिदिए गोविन्दले ।

किन थप्पड खाएँ मैले, रातो गाला छाम्दै दीपकले सोच्न मात्र के थालेका थिए । गुरुले भने– तेक्वान्दोमा आउँदा खुब कराँतेको ड्रेस लगाएर आएको छस् त ।

बल्ल थाहा भयो, विष्टलाई उनले त तेक्वान्दोको ड्रेस पनि चिनेका रहेनछन् । जहाँ सिलाउन दिएका थिए, त्यहाँको दर्जीले ड्रेसै त हो भने कराँतेको बनाइदिएका रहेछन् ।

त्यति बेला दीपकले आइएससी सकिसकेका थिए । केमेष्ट्रीमा अक्सिजन र कार्वनका लामा लामा फर्मूलामा काम गरिसकेका थिए । तर, कराँते र तेक्वान्दोको ‘ड्रेस फर्मूला’ खुट्ट्याउन सकेका थिएनन् ।

त्यो साँझ दीपक त्यही ड्रेसमा भुले । मध्यरातसम्ममा कराँतेको ड्रेसलाई फेरेर तेक्वान्दोको बनाए ।

त्यो कराँते ड्रेसबाट ट्रान्सफर्म भएको तेक्वान्दो ड्रेस लगाएरै तेक्वान्दो सिकेका हुन् दीपकले ।

सुरुकै दिन गोविन्द गुरुको झापडले ह्युमिलिएट भएका दीपकले त्यसपछि पनि सहज दिन चाहिँ बिताउन पाएनन् । गोविन्द गुरुसँग त्यति बेला अरु पनि तेक्वान्दो सिक्थे ।

‘तर, सब फुच्चाफुच्ची थिए,’ उनी सम्झिन्छन्, ‘तर, सबै ब्ल्याक, रेड बेल्टवाला । म चाहिँ ह्वाइट बेल्ट वाला ।’

उनी लजाए । आइतबार इन्द्रेणी क्याफेमा मात्र होइन, त्यतिबेलाका कक्षामा पनि लजाएका थिए दीपक।

त्यो कराँतेबाट ‘कलमी गरेको’ तेक्वान्दो ड्रेसलाई अहिले पनि सुरक्षित राखेका छन् दीपकले ।

‘फ्रेमिङ गरेर रु’ अनायसै यो प्रश्न जन्मियो ।

कुनै सम्झनाबाट झल्याँस बाहिर आएजस्तो चमक देखियो दीपकमा । उनले भने, ‘अहिले घर बनाउँदै छु, घर बनिसकेपछि फ्रेमिङ गर्छु ।’

त्यसपछि दीपकसँग वाचा भयो– दीपकको र त्यो ड्रेसको घर बनिसकेपछि फेरि भेटौँला ।

तर, हाम्रो कुराकानी सकिएको थिएन ।

सम्झनाको तरेली टहल्दै दीपक हङकङ पुगे । यो सन् १९९७ को कुरा हो । त्यो दीपकको पहिलो अन्तर्राष्ट्रिय म्याच थियो ।

र, दीपकमा पहिलो अन्तर्राष्ट्रिय म्याचको खुसीमा थपिएको थियो अर्को खुसी– उनले नयाँ ड्रेस पाएका थिए ।

तर, यो नयाँ ड्रेसले पनि दीपकलाई केही समय दिग्दारी नै दियो ।

त्यति बेला खेलाडी स्वयंमले आफ्नो ड्रेस किन्नु पर्ने हुन्थ्यो । दीपकलाई यो ड्रेस चाहिँ कोरियाबाट आइपुगेको थियो ।

अनि नेपालबाट खेल्न गएका दीपकको त्यो ड्रेसमा लेखिएको थियो– कोरिया ।

‘ड्रेस समात्नेवित्तिकै त्यो कोरिया मेटाउने ध्यान गयो,’ उनी भन्छन्, ‘मेटाएपछि मैले त्यसमाथि नेपाल लेखेँ ।’

खेलको मामलामा सधैं लक्की रहे दीपक । तर, ड्रेसको मामलामा सधैं अनलक्की रहे दीपक ।

‘नेपालमा खेल्दा त्यही खद्दरको ड्रेस लगाउँथे,’ उनी सम्झिन्छन्, ‘आर्थिक अवस्था कमजोर भएकाले पनि छानीछानी ड्रेस लगाउन पाइनँ ।’

तर, यसको अर्थ के होइन भने दीपकले कहिल्यै ड्रेस किनेनन् । जहिले किने त्यति बेला खुसीले सगरमाथा चुचुरो चुम्थ्यो ।

अहिले पनि त्यो खुसी सम्झिँदा दीपक खुसी नै हुन्छन्, ‘पहिलो पटक कोरियामा ट्रेनिङ हुँदा पाएको पैसाले ड्रेस किनेको थिएँ ।’ त्यो ड्रेस किनेको दिन दीपक अहिले पनि सम्झिन्छन् ।

त्यो ड्रेस किनेको केही पछि साफ गेम भयो । तर, आफूलाई मन पराएर किनेको ड्रेस उनले साफ गेममा लगाउन पाएनन् । त्यहाँ अर्कै ड्रेस दिइन्थ्यो ।

त्यो अर्को ड्रेस चाहिँ दीपकको ‘गोल्डेन ड्रेस’ हो– त्यसले उनलाई गोल्ड मेडल दिलायो ।

त्यसपछि दीपकको जीवनमा नयाँ मोड आयो । ‘कहाँको दीपक कहाँ पुग्यो,’ उनी मुस्कुराए, ‘त्यसअघि परिवारले पनि वास्ता गर्थेन, मेडल जितेपछि मेरो सान नै अर्को भयो ।’

ड्रेससँगको सम्बन्ध दीपकको जीवनमा अचम्मको छ । जब उनले सामन्य ड्रेस लगाए, मेडल जिते । तर, जब उनले महंगो ड्रेस लगाए, मेडल उनको हातबाट फुत्कियो । यो २०६५ सालको कुरा हो । बेइजिङ ओलम्पिकमा महंगो ड्रेस आएको थियो दीपकलाई ।

‘त्यति बेलाको सबैभन्दा महंगो ड्रेस लगाएको थिएँ,’ दीपकले भने, ‘तर, गेम जित्न सकिनँ ।’

तर, यसपछि पनि दीपकले महंगा ड्रेस चाहिँ लगाए । १२ हजारसम्म पर्ने ड्रेस लगाएका दीपक भन्छन्, ‘हेर्नुस्, ड्रेसको मूल्य सधैं अमूल्य हुन्छ । पैसामा हिसाब गर्न सकिँदैन ।’

त्यसो त गेम जितेकै ड्रेसलाई पनि दीपक अरुले जस्तै लक्की ड्रेसको संज्ञा दिँदैनन् ।

‘अरु सब मेडल जितेको ड्रेसलाई लक्की भन्छन्,’ दीपकले भने, ‘मेरालागि लक्की ड्रेस त त्यही सुरुको खद्दरको ड्रेस हो ।’

त्यही ड्रेस जसले दीपकलाई गालामा चड्कन खुवाएको थियो, गोविन्दको ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?