दुर्गमका मतदान केन्द्रको अनुगमन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ७, २०७४
|
|
२९ पटक हेरिएको
Shares

सारांश

  • बेनी: धौलागिरिका दुर्गम क्षेत्रमा रहेको मतदान केन्द्रको निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेल नेतृत्वको सुरक्षा अधिकारीको टोलीले बुधबार अनुगमन गरेको छ ।
  • हवाई मार्ग हुँदै मुस्ताङ पुगेको टोलीले त्यसलगत्तै म्याग्दी र बागलुङको दुर्गम क्षेत्रमा रहेका मतदान केन्द्रको अनुगमन गरेको हो ।
  • म्याग्दीको सबैभन्दा दुर्गम गुर्जामा रहने मतदान केन्द्रमा पुगेर टोलीले सुरक्षा चुनौती रहेको भन्दै तत्काल सेनाको गस्ती बढाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ ।

बेनी: धौलागिरिका दुर्गम क्षेत्रमा रहेको मतदान केन्द्रको निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेल नेतृत्वको सुरक्षा अधिकारीको टोलीले बुधबार अनुगमन गरेको छ । हवाई मार्ग हुँदै मुस्ताङ पुगेको टोलीले त्यसलगत्तै म्याग्दी र बागलुङको दुर्गम क्षेत्रमा रहेका मतदान केन्द्रको अनुगमन गरेको हो ।

म्याग्दीको सबैभन्दा दुर्गम गुर्जामा रहने मतदान केन्द्रमा पुगेर टोलीले सुरक्षा चुनौती रहेको भन्दै तत्काल सेनाको गस्ती बढाउन जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएको छ । जिल्ला सदरमुकाम बेनीदेखि दुई दिनको पैदल दूरीमा पुगिने गुर्जा जिल्लाको विकट क्षेत्र हो।

एउटै गाउँ रहेको त्यहाँको मतपेटिका कसरी सदरमुकाम ल्याउने भन्ने विषय टुंगो लाग्न सकेको छैन। निर्वाचनलाई भयरहित वातावरण बनाउन मतदानअघि सुधार गर्न सकिने विषय सम्बोधनका लागि अनुगमन गरिएको आयुक्त पौडेलले जानकारी दिए। ‘सुगमभन्दा दुर्गम क्षेत्रलाई हामीले प्राथामिकता दिएका छौं । त्यहाँ सुरक्षित तरिकाले मतदानको वातावरण बनाउन आयोगको ध्यानकेन्द्रित भएको छ। अहिलेसम्म सुरक्षा व्यवस्था मजबुत छ’, उनले भने।

दलहरूले मागे सुरक्षा
म्याग्दीका राजनीतिक दलहरूले सुरक्षाको भरपर्दो व्यवस्था गर्न माग गरेका छन् । धौलागिरिका चार जिल्लाको मतदान केन्द्रको अनुगमन गर्न बेनी आएका निर्वाचन पौडेललगायत उच्च सुरक्षा अधिकारीहरूसँगको संक्षिप्त अन्तरसंवादमा दलहरूले यस्तो माग गरेका हुन् । ‘उम्मेदवारलक्षित बम विस्फोट र अगुवा कार्यकर्ताहरूलाई निर्वाचनमा निष्क्रिय रहन पत्र आएको छ’, कांग्रेस जिल्ला सदस्य माधवप्रसाद रेग्मीले भने, ‘यस्तो अवस्थामा निष्पक्ष निर्वाचन हुनेमा आशंका रहन्छ।’

गत कात्तिक २७ गते बेनी नगरपालिका १ अर्जममा कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार खम्बीर गर्बुजालाई लक्ष्य गरी बम विस्फोट गराएको दुई दिनपछि कांग्रेसका दुई दर्जन बढी अगुवा कार्यकर्तालाई निष्क्रिय रहन धम्कीपूर्ण पत्र आएको छ । तर अहिलेसम्म यी घटनाहरूमा संलग्नलाई पक्राउ गर्न नसक्नु प्रहरीको असफलता भएको उनले बताए।

मौन अवधि सुरु हुन केही समयमात्र बाँकी रहँदा दलहरूले आफ्नो चुनावी अभियानलाई अन्तिम चरणमा पुर्‍याएका छन् । तर दलैपिच्छे नेकपाको नाममा धम्कीपूर्ण पत्र आउन थालेपछि कार्यकर्तासँगै मतदाताहरूमा असुरक्षाको महसुस भएको माओवादी केन्द्रका जिल्ला इन्चार्ज गोविन्द पौडेलले जानकारी दिए । ‘हामी र उम्मेदवारहरू त धम्की मात्रै भनौंला तर मतदाताहरू त्रसित छन्’, उनले भने । जिल्लामा दलहरूले गरेको आचारसंहिता उल्लंघनको नियमन र फिलतो सुरक्षा व्यवस्थाका कारण मतदाताहरू ढुक्क बन्न नसकेको नागरिक समाज म्याग्दीका संयोजक सुदर्शनकुमार श्रेष्ठले बताए।

म्याग्दी जिल्लालाई निर्वाचन बहिष्कारको घोषणा गरेको नेकपा विप्लव समूहको प्रभाव क्षेत्र मानिन्छ । सोहीअनुसार सुरक्षा रणनीति बनाएको सुरक्षा निकायले जनाएको छ । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले सुरक्षा थ्रेटबारे सुरक्षा निकायलाई जानकारी गराउनुपर्ने भन्दै पूर्ण सुरक्षाको व्यवस्था मिलाउन आयोग र सरकार सक्षम रहेको बताए। प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा ७५ हजार पाँच सय ३८ मतदाता छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?