दुवै हात नभएकी सङ्घर्षशील सम्झना: ‘कसैको साथ पाए म पनि केही गर्न सक्छु ’

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २३, २०७६
|
|
१९ पटक हेरिएको
Shares
दुवै हात नभएकी सङ्घर्षशील सम्झना: ‘कसैको साथ पाए म पनि केही गर्न सक्छु ’

सारांश

  • दुवै हात नभएकी सम्झना राईले आइतबार दिक्तेल बहुमुखी क्याम्पसबाट कक्षा १२ को मौका परीक्षा दिनुभयो ।
  • खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकी १९ वर्षीया सम्झना कक्षा १२ को नियमित परीक्षामा अङ्ग्रेजी विषयमा अनुत्तीर्ण भएपछि मौका परीक्षा दिन दिक्तेल आउनुभएको हो ।
  • मौका परीक्षा दिनका लागि दुई दिन लगाएर दिक्तेल आउनुभएकी सम्झनाले खोटाङ बजारस्थित भगवती दीनानाथ माविबाट नियमित परीक्षा दिनुभएको थियो ।

दुवै हात नभएकी सम्झना राईले आइतबार दिक्तेल बहुमुखी क्याम्पसबाट कक्षा १२ को मौका परीक्षा दिनुभयो । खोटेहाङ गाउँपालिका–२ वाप्लुखाकी १९ वर्षीया सम्झना कक्षा १२ को नियमित परीक्षामा अङ्ग्रेजी विषयमा अनुत्तीर्ण भएपछि मौका परीक्षा दिन दिक्तेल आउनुभएको हो ।मौका परीक्षा दिनका लागि दुई दिन लगाएर दिक्तेल आउनुभएकी सम्झनाले खोटाङ बजारस्थित भगवती दीनानाथ माविबाट नियमित परीक्षा दिनुभएको थियो । निम्न आर्थिकस्तरको परिवारमा दुवै हातविहीन जन्मनुभएकी सम्झनाले सानै उमेरदेखि नै कष्टपूर्ण ढङ्गले अध्ययन गर्दै आउनुभएको थियो । अहिले आमासँगै मावलीघर सोही गाउँपालिका–६ मा पर्ने इन्द्रेणीपोखरी बस्दै आउनुभएकी सम्झना आफैँ कपडा लगाउन, फेर्न तथा खाना खान सक्नुहुन्न । कुमदेखि नै हातको नक्सासमेत नभएकी सम्झना खुट्टाकै भरमा सबै काम गर्नुहुन्छ ।

भगवती दीनानाथ माविका नियमित तथा जेहेन्दार विद्यार्थीका रूपमा रहनुभएकी सम्झना खुट्टाले नै लेखेर कक्षा–१ देखि ११ कक्षासम्म उत्तीर्ण हुनुभएको हो । दुवै हात नभए पनि आफू पढाइ–लेखाइमा साथीहरुभन्दा कम नभएको उहाँको भनाइ छ ।घरबाट एक घण्टाभन्दा बढीको बाटो हिँडेर विद्यालय आवतजावत गर्नुपर्दा शुरु–शुरुमा विद्यालय छाडौँ जस्तो पनि लागेको उहाँले सुनाउनुभयो । “विद्यालय टाढा भएकाले शुरु–शुरुमा पढाइ छाडौँ कि भन्ने लागेको थियो तर मनले मान्दै मानेन । जसरी भए पनि पढ्नैपर्छ भन्ने लागेर दुःखकष्ट गरिरहेकी छु”, उहाँले भन्नुभयो ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्रसमेत रहेको दिक्तेल बजारमा आएर मौका परीक्षा दिइसकेपछि रासससँग कुरा गर्दै उहाँले भन्नभयो, “दाइ पनि मसँगै पढ्दै हुनुहुन्थ्यो तर अहिले छोड्नुभो, बुनुहरु पढ्दैछन् । शारीरिकरूपमा अशक्त भएकाले पनि मैले त झनै पढ्नैपर्छ भन्ने लागेर पढाइलाई निरन्तरता दिइरहेकी छु ।”घरायसी काममै अल्झिनुभएका सम्झनाका बुबाआमाको इच्छा पनि छोरीलाई धेरै पढाउनु नै रहेको उहाँले सुनाउनुभयो । “आजसम्म त सबैको साथ सहयोगबाट पढियो तर, अब।।।१”, गला अवरुद्ध पार्दै बोली नसक्दै अड्किनुभयो ।

सम्झनाको अबको अध्ययन यात्रा निश्चित छैन तर सम्झनासँग लगनशीलता, धैर्य र आत्मबल देखिएको छ । “शारीरिक हिसाबले म जस्ता र मभन्दा कमजोर अवस्थाकाले पनि धेरै राम्रो र ठूलो काम गरेर नाम कमाएका छन्”, उहाँ भन्नुहुन्छ, “मैले झमककुमारी घिमिरेलगायतका धेरै व्यक्ति शारीरिकरूपमा फरक भए पनि इतिहास लेख्न सफल बनेको देखेकी छु । उहाँहरुले गरेको काममा म पनि केही न केही गरेर आफ्नो नाम लेखाउन सक्छु भन्ने लागेको छ ।”झमककुमारी घिमिरेलाई प्रत्यक्ष भेटेको उहाँले सुनाउनुभयो । “धरानमा मैले उहाँलाई प्रत्येक्ष भेटेँ । उहाँले भेट्न बोलाउनुभएको रहेछ”, उहाँले भन्नुभयो, “झमककुमारीबाट आफूले धेरै हौसला पाएकी छु । उहाँ त हिँड्न पनि सक्नुहुन्न रहेछ । उहाँले लेख्नुभएको ‘जीवन काँडा कि फूल’ पढेँ, साह्रै राम्रो लाग्यो, रोएँ पनि अनि धेरै कुरा बुझेँ पनि ।”

झमकुमारीले लेख्नुभएको उक्त पुस्तकले आफूलाई जीवन र सङ्घर्ष भन्ने बुझ्न मद्दत गरेको सम्झनाको भनाइ छ । सबैको माया र साथ पाए आफू पनि देश र समाजका लागि केही न केही गर्ने अठोट आफूभित्र रहेको उहाँको भनाइ छ ।सम्झनाको अध्ययन निरन्तर अघि बढोस् भनेर यसअघि विभिन्न सङ्घसंस्थाले सहयोग पनि गरेका छन् । करीब चार वर्षअघि खोटाङमा जन्मेर बेलायत ९युके०लाई कर्मथलो बनाएका समाजसेवीको सामाजिक संस्था खोटाङ सेवा समाज युकेले रु चार लाख ६९ हजार ७६० सहयोग रकम प्रदान गरेको थियो ।

समाजले सम्झनाको उमेर १८ वर्षको हुँदासम्म ब्याज मात्र झिक्न मिल्ने र त्यसपछि साँवा रकम निकाल्न पाउने गरी चेक प्रदान गरेको थियो । युकेमा बसोवास गरिरहेका खोटाङेबाट सङ्कलित रकम सम्झना र आमा सुमिता राईको नाममा जम्मा गरिएको थियो ।पढाइसँगै गीत÷सङ्गीत र साहित्यमा समेत रुचि राख्नुहुने सम्झनाका लागि यसअघि एरिया वेलफेयर सेन्टर दिक्तेलले पनि भौतिक सहयोग गरेको छ । नेपाल सरकारबाट भने मासिक रु ६०० भत्ता पाउने गरेको सम्झनाले जनाउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?