देशभरमा १२ जनाको ज्यान गयो, कतै बाढी, कतै पहिरो
सारांश
- काठमाडौं, १९ असार ।
- अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभरिबाट कम्तीमा १२ को ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् ।
- सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ भने पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको छ ।
काठमाडौं, १९ असार । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी देशभरिबाट कम्तीमा १२ को ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । सिंगै तराई–मधेस क्षेत्र बाढीसँगै डुबानमा परेको छ भने पहाडी क्षेत्रमा ठाउँठाउँमा पहिरो खसेको छ ।
तराईका झापादेखि बर्दियासम्मको भूभाग डुबानमा परेको छ । प्रदेश ५ मा मात्र ८ जनाको ज्यान गएको छ । त्यसमध्ये बाँकेमा ४ जनाले ज्यान गुमाएका छन् भने रोल्पामा ३ जनाको मृत्यु भएको छ । दाङमा एक जनाको मृत्यु भएको छ ।
प्रदेश २ को पर्सा जिल्लामा बाढीले बगाउँदा १ जना विद्यार्थीको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । प्रदेश ७ को कैलालीमा घर भत्किएर एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
राजधानी काठमाडौंमै १ जनाको मृत्यु भएको छ भने सिन्धुलीमा खोलामा डुबी एक जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । यो समाचार आजको अन्नपूर्ण पोष्टको पहिलो पृष्ठमा छापिएको छ ।
सबै जिल्लालाई गृहको सर्कुलर
गृह मन्त्रालयले सोमबार ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई जिल्ला नछोड्न सर्कुलर जारी गरेको छ । लगातारको वर्षासँगै देशभरि बाढीपहिरोले जनधनको क्षति भएपछि गृहले सबै जिल्लाका सिडिओ र प्रहरी प्रमुखलाई पत्र लेख्दै जिल्ला नछाड्न कडा सर्कुलर जारी गरेको हो ।
प्रतिक्रिया