दोहोरो भूमिकामा प्रश्नः पत्रकार कि प्रेस सल्लाहकार ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण ९, २०७५
|
|
४५ पटक हेरिएको
Shares
दोहोरो भूमिकामा प्रश्नः पत्रकार कि प्रेस सल्लाहकार ?

सारांश

  • अचेल प्रेस सल्लाहकार, प्रवक्ता, प्रेस संयोजक जस्ता पदहरुमा नियुक्त गर्ने प्रचलन बढ्दो छ ।
  • राष्ट्रपति, प्रधानमन्त्री एवम् प्रदेश प्रमुखका लागि त कानुनी रुपमै पूर्णकालीन प्रेस सल्लाहकार राख्ने व्यवस्था छ तर धेरैजसो मन्त्रीहरुले आ–आफ्नो स्वभाव र स्वार्थ अनुसार प्रेस सल्लाहकार राख्न थालेका छन् ।
  • त्यति मात्रै कहाँ हो र ?

अचेल प्रेस सल्लाहकार, प्रवक्ता, प्रेस संयोजक जस्ता पदहरुमा नियुक्त गर्ने प्रचलन बढ्दो छ । राष्ट्रपति, प्रधानमन्त्री एवम् प्रदेश प्रमुखका लागि त कानुनी रुपमै पूर्णकालीन प्रेस सल्लाहकार राख्ने व्यवस्था छ तर धेरैजसो मन्त्रीहरुले आ–आफ्नो स्वभाव र स्वार्थ अनुसार प्रेस सल्लाहकार राख्न थालेका छन् । त्यति मात्रै कहाँ हो र ? हरेक सांसद्, प्रादेशिक मन्त्री एवम् सांसद्, अझ ७५३ गाउँ एवम् नगरपालिकाका पदाधिकारीले समेत आफू निकट पत्रकारहरुलाई घोषित वा अघोषित रुपमा प्रेस सल्लाहकारको दर्जा दिएका छन् । उद्योगी–व्यापारी, गैरसरकारी संस्था, सहकारी, सेना–प्रहरीका विभिन्न निकाय, विदेशी नियोग आदिमा संलग्न भएकाहरुको समेत हिसाब गर्ने हो भने नेपालमा पत्रकारिता गर्दै गरेका झन्डै आधाभन्दा बढी पत्रकार प्रेस सल्लाहकार/संयोजकको भूमिकामा खपत हुने अवस्था छ ।

सम्बन्धित व्यक्ति वा संस्थाहरुले प्रेस सल्लाहकार राख्दा जनताको सुसूचित हुने अधिकार सुनिश्चित हुने तर्क गर्ने गरेको पाइन्छ । यस तर्कलाई आधार मान्दा केही सवालहरु गर्नै पर्ने हुन्छ : के राजनीतिककर्मीहरु, व्यापारिक प्रतिष्ठानहरु वा ठूला गैह्रसरकारी संस्थाहरु नेपाली जनताको सूचनाको अधिकारप्रति सचेत हुँदै गएका हुन् ? के उनीहरु वास्तवमै त्यहाँभित्रको यथार्थ सूचना जनतासमक्ष प्रस्तुत गर्न चाहन्छन् ? के उनीहरु प्रेस सल्लाहकार राखेर मिडियाको खबरदारी गर्ने भूमिकालाई अन्तर्हृदयदेखि सम्मान र सहयोग खोज्दैछन् ? यीनै सवालहरुको जवाफ खोज्ने प्रयास यस आलेखमा गरिएको छ ।

१. पत्रकार र प्रेस सल्लाहकारको भूमिका किन फरक छ ?
पत्रकार भनेको सञ्चार पेसाकर्मी हो, जसले समाचारमूलक सूचना खोज्छ र अखबार, रेडियो वा टेलिभिजनजस्ता माध्यमबाट प्रकाशन÷प्रसारण गर्दछ । सत्यता, सन्तुलन, विश्वसनीयता, तटस्थता, नैतिकता जस्ता पत्रकारिताका पेसागत मूल्यमान्यताहरुबाट निर्देशित भई सत्ता र शक्तिमा रहेकालाई सर्वसाधारण जनताप्रति जवाफदेही बनाउन प्रयास गर्दछ । दबिएका वा दबाइएका आवाजहरुलाई सतहमा ल्याउँछ । विद्यमान कानुनको परिधिमा रहेर सरकारका निकायहरुले जनताको हितमा काम गरेनगरेको निगरानी गर्दछ । पत्रकारले व्यापारिक घरानाहरुले उत्पादन गरेका वस्तु वा सेवाको गुणस्तर ठीक भएनभएको विषयमा बहस चलाउँछ । राजनीतिक दल वा तिनका भ्रातृसंगठनहरुबाट हुनसक्ने गैहकानुनी गतिविधिप्रति सजग हुन सरोकारवालालाई सचेत गराउँछ । एउटा आदर्श पत्रकार जनसाधारणको मानवअधिकार, सामाजिक न्याय र समान अवसरका लागि हरदम चनाखो रहन्छ । पत्रकारिता बाहेक आफूले विज्ञता हासिल गरेको विषयसँग सम्बन्धित पेसा वा व्यवसाय गर्न सक्छ तर यसो गर्दा पत्रकारिताका आधारभूत मूल्यमान्यता र मर्यादाहरुमा सम्झौता गर्दैन ।

पत्रकार र प्रेस सल्लाहकारको भूमिका ठीक विपरित प्रकृतिका छन् । पत्रकारले गोप्य सूचनाहरु खोज्ने र समाचारको रुपमा सार्वजनिक गर्ने काम गर्छ भने कुनै संस्थाको प्रवक्ता वा प्रेस सल्लाहकारले त्यस्तो सूचनाले आफ्नो संस्थालाई फाइदा पुग्ने भएमात्रै सार्वजनिक गर्दछ, नत्र लुकाउँछ । सूचनामा नियन्त्रण गर्दछ र समाचार सार्वजनिक हुनबाट रोक्छ । पत्रकारले कुनै संस्थाले गैरकानुनी कृयाकलाप गरेको रहेछ भने त्यसलाई खुलेर आलोचना गर्दछ र सरोकारवाला निकायहरुलाई घच्घच्याउँछ । तर, प्रेस सल्लाहकार वा प्रवक्ताले त्यस्तो कुराको बचाउ गर्छ । गल्ती नभएको जिकिर गर्छ । आफ्ना कुरा माथि पार्न तथ्यहरु तोडमोड गर्छ । एकपक्षीय सूचना सार्वजनिक गर्छ । आफ्नो संस्थाको पक्षमा प्रोपगन्डा मच्चाउँछ । पत्रकार सर्वसाधारणको हितका निम्ति काम गर्छ । उनीहरुप्रति सत्तामा रहेको समूह वा अख्तियारप्राप्त निकाय वा पदाधिकारीलाई जवाफदेही हुन बाध्य पार्छ । तर, प्रेस सल्लाहकार वा प्रवक्ताले जसको नुन खाएको हो उसैको हितका निम्ति काम गर्छ । सार्वजनिक रुपमा कूटनीतिक कुरा गर्छ तर निष्ठा र वफादारी सम्बन्धित संस्थाप्रति हुन्छ । तसर्थ उसले एउटा व्यावसायिक पत्रकारले खेल्ने भूमिका निर्वाह गर्न सक्दैन ।

२. सल्लाहकारहरु पदअनुसारकै भूमिकामा होलान् ?
सल्लाहकार भनेको सल्लाह दिने, नीति नियम बनाउने, सुझाव दिने व्यक्ति हो । ऊसँग सूचना, सञ्चार, जनसम्पर्क, पत्रकारिता जस्ता विषयमा गहन विश्लेषण गर्न सक्ने असाधारण क्षमता, दक्षता र अनुभव हुनु पर्दछ । संस्थाको व्यक्तित्व निर्माणका लागि सञ्चार एवम् जनसम्पर्क सम्बन्धी रणनीतिहरु बनाउँछ । नीतिनिर्माताहरुसँग मिलेर काम गर्छ र संस्थाका दृष्टिकोणहरु सार्वजनिक गर्छ । सञ्चारमाध्यमलाई छलफल र बहसका लागि विषयवस्तु प्रदान गर्छ । सञ्चार, पत्रकारिता वा जनसम्पर्कका दृष्टिकोणबाट समालोचना प्रस्तुत गर्दछ । अर्कोे शब्दमा ऊ सैद्धान्तिक र व्यावहारिक ज्ञानको सेतु हो, जसले विगतका अनेक घटनाक्रमलाई सञ्चार, पत्रकारिता, जनसम्पर्क आदिका दृष्टिकोणबाट पर्गेल्न सक्छ ।

नेपालमा धेरै ‘प्रेस सल्लाहकार’ले सल्लाह दिने पद पाए पनि पूर्ण रुपमा त्यो भूमिका अवलम्बन गर्न पाएका हुँदैनन् । कतिपय अवस्थामा सल्लाहकारको बौद्धिक क्षमताको कदर वा प्रयोग समेत गरिँदैन । उनीहरुलाई दिइने नियुक्ति पनि बौद्धिक भन्दा पनि रणनीतिक हुन्छ । नियुक्तिसँग संस्थागत, व्यक्तिगत वा अन्य किसिमका लाभहानिका विषयहरु जोडिएका हुन सक्छन् । नियुक्ति दिनेले पनि ‘मैले तँलाई जागिर दिएँ, मैले भनेबमोजिम काम गर’ भन्ने किसिमको मानसिकता राख्छ । तसर्थ, उनीहरु सञ्चार सल्लाहकारभन्दा सहयोगी जस्तो भूमिकामा हुन्छन्, जस्तै : भाषण लेखिदिने, टाइप वा फोटोकपी गरिदिने, पत्रकारसँग भेटघाट मिलाउने, प्रेस विज्ञप्ति तयार गर्ने एवम् सञ्चार संस्थाहरुमा वितरण गर्ने, विभिन्न सञ्चारमाध्यममा अन्तर्वार्ताको चाँजोपाँजो मिलाउने, अप्ठरो वा आलोचक प्रश्न सोध्ने पत्रकारबाट संस्था वा व्यक्तिलाई जोगाउने, मिडिया कभरेजबारे ब्रिफिङ गर्ने, नकारात्मक कभरेज भएमा त्यसलाई रोक्ने वा थामथुम पार्ने आदि । बौद्धिक क्षमताको प्रयोग गर्ने प्रभावशाली सल्लाहकारहरु हुँदै नभएका होइनन्, तर ती नगन्य छन् ।

सल्लाहकारको बौद्धिक भूमिका नभएकै कारणले विगतमा केही सञ्चार सल्लाहकारहरुले जागिर छोडेका घटनाहरु पनि छन् । केही वर्षअघि तत्कालीन प्रधानमन्त्रीका एकजना सल्लाहकारलाई सोधेको थिएँ (व्यक्तिगत कुराकानी भएकाले परिचय सार्वजनिक गर्न सक्दिन), “के प्रधानमन्त्री वा मन्त्रीहरुले साँच्चिकै प्रेस सल्लाहकारको सल्लाह लिने अथवा पदअनुसारको व्यवहार गर्ने अवस्था रहन्छ ?” उनले तत्कालै जवाफ दिएका थिए, “वास्तवमा उहाँहरुलाई सल्लाह सुन्ने फूर्सदै हुँदैन । हामीलाई सल्लाह दिने भन्दा पनि लाएअह्राएको वा प्राविधिक काममा सघाउन नियुक्त गरेको होला । समय लाग्छ, भविष्यमा त्यस्तो दिन पनि आउला ।”

३. एउटै व्यक्ति एकै पटक पत्रकार र प्रेस सल्लाहकार हुनु हुँदैन, किन ?
कुनै पत्रकार वा सञ्चारकर्मी आफ्नो दक्षता र क्षमताले गर्न सकिने कुनै पनि पेसा रोज्न वा त्यसमा संलग्न हुन स्वतन्त्र छ । यो उसको संवैधानिक अधिकार हो । तर, त्यस्तो पेसा रोज्दा पत्रकारितामा पनि संलग्न भइरहन खोजियो भने पत्रकारिताका पेसागत मूल्यमान्यताहरुमा आघात पुग्छ । उदाहरणका लागि कुनै व्यावसायिक पत्रकार ठूलो व्यापारिक प्रतिष्ठान वा राजनीतिक संस्थामा प्रेस सल्लाहकार हुँदा दुवैतर्फ स्वार्थ बाझिन्छ । व्यापारिक प्रतिष्ठानमा सल्लाहकार रहेको व्यक्तिले त्यस व्यापारिक संस्थाको हितलाई प्रवद्र्धन गर्ने दायित्व लिएको हुन्छ । उसको काम त्यहाँका कमजोरीहरुलाई सार्वजनिक हुनबाट रोक्नु र सकारात्मक पक्षलाई जोड दिएर प्रचारबाजी गर्नु हो । तर पत्रकारको रुपमा उसको दायित्व भनेको कमजोरीहरुको पर्दाफास गर्नु र उक्त संस्थालाई कानुनी दायरामा ल्याउनु र राज्यप्रति उत्तरदायी बनाउनु हो । व्यापारिक प्रतिष्ठानबाट प्राप्त हुने नियमित तलब र सेवा सुविधाका कारणले प्रेस सल्लाहकार रहेको व्यक्ति पत्रकारका रुपमा निरीह भइसक्छ । ऊ व्यापारिक प्रतिष्ठानको हिस्सेदार भइसकेको हुन्छ । उसले सञ्चारमाध्यममा प्रकाशन हुन लागेका आलोचनात्मक समाचारहरुलाई रोक्न प्रत्यक्ष वा परोक्ष रुपमा लबी गर्नथाल्छ । अर्थात् ऊ एउटा स्वतन्त्र पत्रकारले गर्नुपर्ने दायित्वको ठीक विपरित कोणबाट प्रस्तुत हुन्छ ।

विभिन्न संस्थाले राम्रा पत्रकारलाई अदृश्य प्रेस सल्लाहकार बनाएर आफ्ना अजेन्डाहरुतर्फ नेपाली प्रेसलाई प्रयोग गर्ने गरेको कुरा धेरैलाई अवगत भएकै विषय हो । उनीहरु आफ्नो व्यक्तिगत वा संस्थागत कमजोरीहरु लुकाउन र आलोचनात्मक चेत र क्षमता भएका राम्रा पत्रकारहरुलाई प्रेस सल्लाहकारको अदृश्य भूमिका दिएर निस्तेज राख्न चाहन्छन् । कुनै संस्थामा प्रवक्ता, सञ्चार सल्लाहकार, प्रेस संयोजक जस्ता (तलब र अन्य सेवासुविधासहित) पदमा नियुक्त भएको अवस्थामा के पत्रकारले पेसागत भूमिका निरपेक्ष रुपमा निर्वाह गर्न सक्छ ? अवश्य सक्दैन किनभने उसको प्राथमिक दायित्व आफू आबद्ध संस्थाको हितलाई प्राथमिकतामा राख्नु हो । राजनीतिक वा व्यापारिक उद्देश्य भएका खास संस्थाहरुसँग पत्रकारको संलग्नताले प्रेस स्वतन्त्रता वा सम्पादकीय स्वतन्त्रताको दायरालाई संकूचित पारिदिन्छ । यदि कुनै पत्रकार पेसागत मूल्यमान्यताप्रति सम्झौता नगर्ने, पत्रकारिताप्रति प्रतिबद्ध र आफूसंलग्न संस्थाका कमिकमजोरीलाई समेत पर्दाफास गर्ने स्वभावको रहेछ र उ कुनै संस्थाको प्रेस सल्लाहकार समेत रहेछ भने प्रेस सल्लाहकार राख्ने व्यक्ति वा संस्थालाई समेत बेफाइदा हुन्छ ।

पदीय हैसियत सल्लाहकारको भए पनि धेरैजसोले व्यक्तिगत वा संस्थागत स्वार्थ विपरितका सूचनाहरुको नियन्त्रणका लागि पत्रकारलाई प्रयोग गर्दछन् । अर्थात् सञ्चारमाध्यममा आउनसक्ने आलोचनाहरुलाई रोक्ने नियतले प्रेस सल्लाहकार पदहरु सिर्जना हुँदै गएका छन् । यसले प्रेस अर्थात् चौथो अंगको आलोचनात्मक क्षमतालाई निस्तेज पार्दै लगेको छ ।

४. अब के गर्न सकिन्छ ?
जसरी एउटा पत्रकार राजनीतिमा सक्रिय भयो भने उसको राजनीतिक भूमिकाले स्वतन्त्र पत्रकारितामा असर पर्छ, स्वार्थ बाझिन्छ । ठीक त्यसैगरी कुनै पत्रकार एउटा अमुक संस्था वा समूहमा प्रेस सल्लाहकारको भूमिकामा रहन्छ भने त्यसले स्वतन्त्र पत्रकारको भूमिकालाई चुनौति दिन्छ । कतिपय पत्रकारले कुनै संस्थाको सल्लाहकारको दायित्व लिंदा त्यसले पेसागत धर्ममा पार्न सक्ने असरका बारेमा कमै ख्याल गरेको पाइन्छ । अझ, कतिपय पत्रकारले अरुले थाहा नपाउने गरी भित्रभित्रै सल्लाहकार भएर तिनकार विरुद्ध आएका नकारात्मक समाचार लुकाउने, समाचारै प्रकाशन गर्न नदिने वा सम्पादकीय नीतिलाई प्रभावित पार्ने भूमिका खेलेको पाइन्छ । पत्रकार र प्रेस सल्लाहकारको भूमिका आपसमा अन्तर्सम्बन्धित होइन्, विल्कुल फरक स्वभावका छन् । तिनलाई फरक ढंगले बुझ्न जरुरी छ ।

पत्रकारिता पेसाका पेसागत मूल्यमान्यताहरुसँग बाझिने गतिविधिहरु रोक्न, पत्रकारितामा विश्वसनीयता बढाउन तथा पत्रकारको आलोचनात्मक क्षमतालाई अक्षुण्ण राख्न मूलतः दुई कार्यहरु गर्न सकिन्छ । पहिलो, पत्रकारले कुनै संस्थाको प्रेस सल्लाहकार हुनका लागि पत्रकारिता पेसा त्याग्ने । प्रेस सल्लाहकारको रुपमा नियुक्त हुनुअघि आफ्नो तलब एवम् सेवासुविधा निश्चित गर्ने । आफूले आफ्नो बौद्धिक क्षमताको प्रयोग गर्न पाउने अवस्था हुने नहुने निक्र्यौल गर्ने । चित्तबुझ्दो सेवा सुविधा र बौद्धिक स्वतन्त्रता दिए मात्रै जाने । अपारदर्शी ढंगबाट कुनै पनि संस्थाको प्रेस सल्लाहकारको जिम्मेवारी नस्वीकार्ने । औपचारिक रुपमा नियुक्त वैतनिक प्रेस सल्लाहकार पदको अवधि सकिएपछि पत्रकारितामा फर्किन चाहे पेसागत मान्यताहरुप्रति प्रतिबद्धता जनाउदै सार्वजनिक घोषणा गरेर पेसामा फर्किने । दोस्रो, पत्रकारले कतिपय अवस्थामा स्वयम्सेवी ढंगबाट समेत प्रेस सल्लाहकारको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । त्यस्तो अवस्थामा पत्रकारिताका आधारभूत मूल्यमान्यताहरुको परिधिमा रहेर मात्रै प्रेस सल्लाहकार हुनसक्ने सर्त राख्ने । आफू कुन कुन संस्थामा प्रेस सल्लाहकार भएको हो, त्यसलाई सार्वजनिक गर्ने र ती संस्थामा संलग्न रहेबापत समाचार वा सम्पादकीय भूमिकामा कुनै सम्झौता नहुने स्पष्ट पार्ने ।

अन्त्यमा, प्रेस सल्लाहकार वा त्यस्तै भूमिका भएको पद आफैंमा नराम्रो होइन । पत्रकारिता वा सञ्चारको पृष्ठभूमि भएको व्यक्तिले प्रेस सल्लाहकारको भूमिका सहजै निर्वाह गर्न सक्छन् । तर, मूल प्रश्न हो, के एउटा पत्रकारलै एकै पटक दुवै भूमिका निर्वाह गर्न मिल्छ ? मिल्दैन । दोहोरो भूमिकामा रहेको पत्रकारले पत्रकारिताका कतिपय मूल्यमान्यताहरुसँग सम्झौता गर्न सक्छ । तसर्थ, वैतनिक सल्लाहकारको भूमिकामा जाँदा पत्रकारले पूर्णकालीन सल्लाहकारकै भूमिकामा केन्द्रित हुनु राम्रो हुन्छ । दोहोरो भूमिकाले पत्रकारितालाई निरपेक्ष र तटस्थ राख्न सक्दैन ।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)को  मुखपत्र प्रयासमा प्रकाशित

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी
तिला नदीमा बेपत्ता विश्वकर्माको खोजी जारी
मध्य चीनको हेनानस्थित कोइला खानीमा आगलागी हुँदा पाँच जना बेपत्ता
मध्य चीनको हेनानस्थित कोइला खानीमा आगलागी हुँदा पाँच जना बेपत्ता
नेपालका हिमालमा भिड, सगरमाथामा अहिलेसम्मकै बढी आरोही
नेपालका हिमालमा भिड, सगरमाथामा अहिलेसम्मकै बढी आरोही
रुकुम पूर्वमा कर्फ्यू लगाइयो
रुकुम पूर्वमा कर्फ्यू लगाइयो
बाराका प्रजिअ चढेको गाडी दुर्घटनाः सशस्त्र प्रहरीका एसपी पोखरेलको मृत्यु, प्रजिअ गम्भीर
३३ किलाे सुन प्रकरण: नाइके छिरिङद्वारा आत्मसमर्पण
३३ किलाे सुन प्रकरण: नाइके छिरिङद्वारा आत्मसमर्पण
कपिलवस्तुमा २७ हजार ६ सय १७ मत बदर
चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई आईएमएफको आग्रह
चामल निर्यातमा लगाइएको प्रतिबन्ध हटाउन भारतलाई आईएमएफको आग्रह
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित
टी–२० विश्वकप छनोटः क्यानडाको लगातार तेस्रो जित, टेष्ट राष्ट्र आयरल्याण्ड पराजित