नख्खु जेलभित्र कैदी मृत्यु प्रकरण : दुई लिटर पानी एक लाख ६० हजारमा बिक्री गर्ने सिरियल किलर छानबीनमा !
सारांश
- काठमाडौैं, ७ जेठ ।
- ललितपुरको नख्खु कारागारस्थित नयाँ ब्लकमा एक खतरनाक ‘सिरियल किलर’ सजाय काटिरहेका छन् ।
- १८ जनाभन्दा बढी व्यक्तिको शृंखलाबद्ध हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेका कुख्यात अपराधी अभिषेकराज सिंह जेल भित्रै ‘सामन्त’ शैलीमा बस्छन् ।
काठमाडौैं, ७ जेठ । ललितपुरको नख्खु कारागारस्थित नयाँ ब्लकमा एक खतरनाक ‘सिरियल किलर’ सजाय काटिरहेका छन् । १८ जनाभन्दा बढी व्यक्तिको शृंखलाबद्ध हत्या गरेको अभियोगमा जेल सजाय भोगिरहेका कुख्यात अपराधी अभिषेकराज सिंह जेल भित्रै ‘सामन्त’ शैलीमा बस्छन् ।
आफ्नो सुविधाका लागि अभिषेकले जेलभित्रै सात सहयोगी राखेका छन् । उनको छुट्टै मेस छ । सहयोगीले उनको कपडा धोइदिने, मासु काटिदिने, ३२ इन्चको टिभी सफा गरिदिने लगायत गर्छन् । तीमध्ये एक थिए, भक्तबहादुर सुनार । बर्दिया घर भएका सुनार जबर्जस्ती करणी र कर्तव्य ज्यान मुद्दामा १० वर्ष चार महिना कैद सजाय फैसला भई नख्खु कारागारमा पुगेका थिए । उनी अभिषेकका लागि ‘मासु काट्ने’ काम गर्थे, त्योबापत अभिषेकबाट भक्तले तलब पाउँथे । नेपाली सेनामा कार्यरत भक्त शारीरिक रुपमा निकै तन्दुरुस्त थिए ।
हरेक बिहान व्यायाम गर्थे । तर, गत वैशाख २० गते एकाबिहानै व्यायाम गरेर आएपछि उनलाई बान्ता भयो । उनको रक्तचाप ५०/४० तिर झर्यो । उनी बिरामी भएको खबरसँगै जेल प्रशासनले उपचारका लागि वीर अस्पताल पठायो । उपचारकै क्रममा उनलाई भेट्न एक व्यक्ति पुगे । उनी थिए, अभिषेकराज सिंहका जेल बाहिरका सहयोगी’ ध्रुवराज शर्मा । अभिषेकले भक्त सुनार बिरामी भएको र खर्च दिन भन्दै ध्रुवलाई खटाएका थिए । अभिषेककै आदेश अनुसार भक्तलाई ध्रुवले १५ सय रुपैयाँ दिए ।
‘अभिषेकले ध्रुव बिरामी छन् । वीर अस्पतालमा गएर खर्च दिनु भन्नुभयो । मैले १५ सय रुपैयाँ दिएँ,’ ध्रुवले भने, ‘त्यसपछि मलाई भक्तले एउटा चिठी दियो । त्यो चिठी मैले हेरिनँ । दुई जना अपरिचित मान्छे आएका थिए, उनीहरुले लगे ।’
वीर अस्पतालले भक्तलाई आइसियुमा राख्न भन्यो । तर, वीरमा आइसियु नभएपछि उनै ध्रुव आइसियु खोज्न हिँडे । तर, उनले आइसियु पाएनन् । यद्यपि अस्पतालकै सहयोगमा पाटन अस्पतालमा आइसियु भेटियो । उनलाई पाटन अस्पतालको आइसियुमा राखियो । आइसियुमा राखेको केही घन्टामै भक्तको मृत्यु भयो ।
‘२१ गते रातको २ बजे भक्तबहादुरको मृत्यु भयो,’ ध्रुवले भने, ‘म भक्तको मृत्यु भइसकेपछि अस्पताल पुगेँ । अस्पतालमा उसको नाकमा रुई कोचिएको थियो । हातमा नीलडाम थियो ।’ अस्पतालमा भाइलाई भेट्न बर्दियादेखि पुगेका भक्तका दाई, भान्जीलगायत आफन्तको रुवाबासी चल्यो ।

मृतक भक्त बहादुर सुनार
०००
भक्तका दाइ राम सुनारले चिठी खोलेर हेरे। चिठीमा गृहमन्त्री रामबहादुर थापालाई सम्बोधन गर्दै आफूलाई जेल प्रशासन र जेलका नाइकेले लगत उठाइदिन्छु भन्दै १५ लाख रुपैयाँ मागेको उल्लेख थियो । चिठीमा भक्तले आफूलाई नयाँ ब्लकका नाइकेले कुटपिट समेत गरेको उल्लेख गरिएको थियो ।
चिठी बोकेर भक्तका दाजु राम गृहमन्त्री थापालाई भेट्न पुगे । गृहमन्त्री थापाले छानबिन गर्न निर्देशन दिए । थापाको निर्देशनपश्चात् कारागार व्यवस्थापन विभागका निर्देशक कृष्णराज अधिकारीको नेतृत्वमा छानबिन समिति गठन भयो ।
निकै रहस्यमयी मानिएको भक्तबहादुर सुनारको मृत्यु प्रकरणमा सिरियल किलर भनिने अभिषेकराज सिंह जोडिएका छन् । भक्तबहादुरले गृहमन्त्रीलाई लेखेको भनिएको चिठी समेत सत्यतथ्य जाँचबुझका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाएको छ ।
‘हामी अनुसन्धानमै छौँ । कर्तव्य ज्यानको मुद्दा भएका कारण ललितपुर प्रहरीले कर्तव्य ज्यानअन्तर्गत नै अनुसन्धान थालेको छ,’ छानबिन समितिका संयोजक कृष्णराज अधिकारीले भने, ‘हामी तथ्यनजिक पुगेका छौँ । छिटै तथ्य बाहिर आउँछ ।’
विशेष स्रोतका अनुसार उक्त घटनामा सिरियल किलर भनिने अभिषेक सिंहको संलग्नता खुलेको छ । ‘उनको विगत हेर्दा पनि आफ्ना सहयोगीहरुको हत्या गरेको तथ्यहरु भेटिएको छ । जेलका नाइकेलाई समस्यामा पारेर उनी आफैँ नाइके बन्न चाहन्थे । सोही योजना मुताबिक उनले आफ्नो सहयोगीको हत्या गरी त्यसको दोष पत्रमार्फत जेलका नाइके (बुद्ध गुरुङ) र जेलरलाई लगाएको भन्ने स्रोतको दाबी छ ।
२०६९ असोज १३ गते अभिषेकले आफ्नै घरमा काम गर्र्नेे सार्कीमान तामाङको हत्या गरिदिएका थिए । ‘उसलाई मैले विश्वास गरेँ । धेरै कुरा चित्त नबुझेको स्थितिमा मैले उसलाई मार्नुपर्ने अवस्था आयो,’ अभिषेकले तत्कालीन अपराध महाशाखा प्रमुख विजयलाल कायस्थसँग भनेका थिए, ‘मैले सुन्धाराको न्यु आकाश गेस्ट हाउसको कोठा नम्बर १०२ मा ओभरडोज ड्रग्स दिएर मारेको हुँ । व्यक्तिगत रिसिइबी भन्ने केही पनि थिएन । ऊ मेरो आफ्नै घरमा खाना बनाउने काम गथ्र्यो ।’
त्यतिबेला आफूले गरेको अपराध सार्कीले थाहा पाएको र बाहिर भन्न सक्ने आशंकामा हत्या गरेको अभिषेकले स्विकारेका थिए ।
मास्टर माइन्ड अपराधी अभिषेकले जुन औषधिको प्रयोग गर्थे, त्यसले मृतकको पोस्टमार्टममा ‘अन आइडेन्टिफाइड कज’ अर्थात् कारण नखुलेको मृत्यु जनाउँथ्यो ।
तत्कालीन अपराध महाशाखाका एसएसपी विजयलाल कायस्थले त्यतिबेला मिडियामा अभिषेकबारे भनेका थिए, ‘ ‘यसले मान्छेलाई मार्नुअघि आफ्नो विश्वासमा लिएर खानामा औषधि मिलाएर खुवाउने गर्दछ । त्यसपछि त्यो व्यक्ति बिस्तारै बेहोस् हुन्छ । बेहोस भएपछि उसले त्यसलाई इन्जेक्ट गर्ने गर्छ ।’
प्रहरीले भक्तबहादुर सुनारको मृत्यु प्रकरणमा पनि विगतका घटनासँग जोडेर अनुसन्धान थालेको छ ।
प्रहरीले सहयोगी भनिने ध्रुवराज शर्मालाई पटकपटक बयान लिइसकेको छ । ‘मैले पटक–पटक प्रहरीमा बयान दिइसकेँ । डिएसपी ‘साप’ले अभिषेक सिंहसँग मेरो सम्बन्धबारे धेरै सोधपुछ गर्नुभएको छ,’ ध्रुवले भने, ‘मलाई उसको विगत थाहा पाएपछि अहिले डर लागिरहेको छ ।’
महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी तथा प्रवक्ता नरेन्द्र चन्दले उक्त घटनामा कर्तव्य ज्यान अन्तर्गत मुद्दा अघि बढेको बताए ।
विशेष स्रोतका अनुसार अभिषेकले नख्खु कारागारमा विभिन्न थरीका औषधि समेत मगाउने गरेका थिए । ‘मलाई यो औषधि चाहियो भनेर औषधिको नाम आफैँ लेखेर दिने गरेको थियो,’ नख्खु कारागार प्रशासनका एक अधिकारीले भने, ‘अनावश्यक औषधि माग्ने भएपछि कारागार प्रशासनले उसलाई निगरानीमा राखेकै हो ।’
यता नख्खु कारागार व्यवस्थापन कार्यालय प्रमुख टेकबहादुर केसी छानबिन समितिले सत्य पत्ता लगाउनेमा विश्वस्त छन् । ‘म यो घटनाको सत्य पत्ता लागोस् भन्ने पक्षमा छु । यी दलित भाइले न्याय पाउनुपर्छ,’ उनले भने, ‘गृह मन्त्रालयले छानबिन समिति बनाएर अत्यन्त राम्रो काम गरेको छ ।’
कारागार प्रशासनका अनुसार वैशाख २० गते कारागारबाट उपचारका लागि भक्त बहादुरलाई वीर अस्पताल पठाउँदा उनको शरीरमा पूर्ण रुपमा चेकजाँच गरिएको थियो ।
‘उहाँको शरीरमा कुनै कागजात भेटिएको थिएन । पूर्ण रुपमा चेकजाँच गरिएको थियो,’ नख्खु कारागारमा कार्यरत एक प्रहरी अधिकृतले भने, ‘तर, अस्पताल पुगेपछि उहाँको साथबाट गृहमन्त्रीलाई सम्बोधन गरिएको पत्र भेटियो । यो आफैँमा शंकास्पद छ ।’
मृतकका दाइ राम सुनारले उक्त पत्र ध्रुवराज शर्मा भनिने अभिषेक सिंहका सहयोगीमार्फत पाएका थिए ।
‘२१ गते बिहान म काममा जान लागेको थिएँ । मलाई फोन आयो । तपाईंको भाइ सिकिस्त हुनुहुन्छ, तुरुन्त भेट्न आउनुस् । म प्रहरी हुँ भन्नुभयो,’ मृतकका दाजु राम सुनारले भने, ‘१७ गते मैले जेलमै भेटेको भाइ कसरी बिरामी भयो भन्ने मलाई शंका लाग्यो । तर म बर्दियाबाट अस्पताल आइपुग्दा भाइको शव देखेँ । म सम्हालिन सकिनँ ।’
नख्खु कारागारमा संशय !
भक्त बहादुरको मृत्युपछि नख्खु जेलभित्र संशय फैलिएको छ । कैदीहरु एकअर्काप्रति आशंका गर्ने र त्रसित हुने गरेका छन् । ‘यो कारागार छात्रावास जस्तो थियो । तर, नयाँ ब्लकमा अभिषेकराज सिंह आएपछि तनाव भयो । एक दिन अभिषेकले हामीलाई समेत आफैँले बनाएको ‘मःमः’ खुवायो । मसहित २० जना २४ घन्टासम्म सुतेको सुत्यै भएछौँ,’ जबर्जस्ती करणी मुद्दामा जेल सजाय भोगिरहेका एक कैदीले भने, ‘अभिषेकको छुट्टै मेस छ । त्यो मेसदेखि हामीलाई डर छ ।’
नख्खु जेलबाट भर्खरै निस्किएका एक व्यक्तिले आफूले लामो समय अभिषेकसँगै बिताएको बताए । ‘उसले आफूलाई रुसमा केमिस्ट्री पढेर आएको दाबी गरेको थियो,’ ती व्यक्तिले भने, ‘अभिषेकले हामीलाई भन्थ्यो— विभिन्न औषधि मिसाएर लागू औषध बनाउन जानेको छु ।’
जेलभित्रै विभिन्न घटना घटाउने आशंकामा उनलाई अन्य जेलमा भने अन्य कैदीसँग राखिएको थिएन । तर, भैरहवा कारागारमा रहँदा उनले तत्कालिन नख्खु कारागारको नायब सुब्ब लक्ष्मी तिमल्सिनालाई आर्थिक प्रभावमा पारेर नख्खु सरुवा भएका थिए । मकवानपुरको भिमफेँदी कारागारबाट पनि लक्ष्मीले नै पावर लगाएर नख्खु कारागार पुर्याएका थिए ।
‘उसलाई यहाँ ल्याउने विषय आएपछि व्यापक विरोध आएको थियो,’ एक नाइकेले भने, ‘खै कताको शक्ति लगाएर हो ऊ नख्खु कारागारमा आयो । ऊ आइसकेपछि यहाँ त्रास फैलिएको छ ।’
नख्खु कारागारमा तीनवटा भेटघाट कक्ष छन् । १२ वटा टेलिफोन सेटको सुविधा पनि छन् । यहाँबाट निस्किएका पूर्वकैदीहरु नख्खु कारागार ‘छात्रावास’ सरह रहेको बताउँछन् । ‘यहाँ होस्टलजस्तो हुन्छ । बिरामी हुँदा असाध्यै ख्याल गरिन्छ । हरेक शुक्रबार समस्या सोध्न चौकिदार आउँछन्,’ जबर्जस्ती करणी अभियोगमा १८ महिना सजाय भोगेर नख्खु जेलबाट निस्किएका रोशन मास्के भन्छन्, ‘यहाँका चौकीदारले पैसा नहुनेलाई दिएर समेत पठाएका थिए ।’
झन्डै ६ वटा कारागार घुमेका चितवनका प्रदीप भट्ट पछिल्लो समय नख्खुबाट निस्किए । उनलाई सबै कारागारभन्दा नख्खु कारागार राम्रो लाग्यो । ‘यहाँ चौकीदार बन्नका लागि मान्छेले जति पनि पैसा खर्च गर्छन् । हरेक कारागारमा चौकिदार कसरी बन्ने भन्ने होड नै हुन्छ । अस्वस्थ प्रतिस्पर्धाले ठूलो दुर्घटना समेत भएका छन्,’ उनले भने, ‘यहाँका नाइके बुद्ध गुरुङले पैसा नहुने कैदीलाई दिएर पठाएको छ, तर मागेको छैन । भक्त सुनारसँग पैसा आउने कुनै बाटो नै छैन, कसरी पैसा मागियो होला ?’
भक्त बहादुरको हत्यापछि नख्खु जेलमा त्रास फैलिएको कारागार प्रमुख केसी स्विकार्छन् ।
‘कैदीहरुमा त्रास फैलिएको मैले पाएको छु । बाहिर सञ्चार माध्यममा आएका खबरले झनै कैदीहरु त्रसित छन्,’ केसीले भने, ‘यहाँको शान्त वातावरण नै खलबलिएको छ ।’
गृहमन्त्रीलाई लेखिएको चिठीमै बयान बाझियो !

गृहमन्त्री रामबहादुर थापालाई सम्बोधन गर्दै लेखिएको चिठी समेत शंकाको घेरामा परेको छ । मृतकका दाजु राम सुनारले आफूलाई अभिषेक सिंहका सहयोगी भनिने ध्रुव शर्माले चिठी दिएको बताएका छन् भने यता ध्रुवले वीर अस्पतालबाट अपरिचित व्यक्तिले चिठी लगेको बताएका छन् ।
‘मलाई अभिषेक दाइका सहयोगी ध्रुवले चिठी दिएका हुन्’ : मृतकका दाजु
मलाई ध्रुवे भाइले धेरैपटक फोन गरेको थियो । ध्रुवे भन्ने भाइ अभिषेक दाइको काम गर्ने केटा हो । मेरो भाइ भक्तले ध्रुवलाई भनेको रहेछ, मेरो दाइ आएपछि यो चिठी दिनू । मैले गृहमन्त्रीलाई चिठी लेखेको छु । होस भएका बेला नै उसले चिठी दिएको रहेछ । तपाईंको भाइले दिएको हो भन्दै ध्रुवले मलाई पाटन अस्पतालमा चिठी दिएको हो । प्रहरीले मेरो भाइको लास बुझ्न भन्यो, तर मैले मानिनँ । मैले पोस्टमार्टम गर्नुपर्ने माग राखेँ । प्रहरीसहित हामी शव लिएर शिक्षण अस्पताल गयौँ । सम्बन्धित व्यक्तिले प्रहरीको चिठी नल्याएसम्म पोस्टमार्टम नहुने रहेछ । भोलिपल्ट म गृहमन्त्रीकोमा पुगेँ र भाइले लेखेको चिठी भनेर दिएँ ।
‘अपरिचित मान्छेले चिठी लिएर गए’ : ध्रुवराज शर्मा
जेल परेपछि म आठ महिना अभिषेकसँग नख्खु जेलमा बसेँ । उसले हामीलाई काम दिएको थियो । भित्र उसको लुगा मिलाइदिने, ओछ्यान मिलाइदिने, टिभी सफा गरिदिने काम गर्थें । उसले ३२ इन्चको टिभी राखेको छ । ऊसँग बस्दा खानपानको सुविधा दिन्थ्यो । खर्च पनि दिन्थ्यो । उसले मेरो परिवारलाई समेत खर्च धानिदिएको थियो । मासिक १५ हजार तलब पाउँथेँ । मैले भित्रै कपडा धुने काम गर्थें त्यसबापत मलाई पैसा आउँथ्यो । बाहिर निस्किएपछि मलाई अभिषेकले नै काम दियो । मैले जग्गाको लालपुर्जा लिएर जेलभित्र पु¥याउने काम गर्थें । मैले पतञ्जलीको आइटमहरु लिएर अभिषेकलाई पुर्याउँन जान्थेँ ।
उसले फलानो ठाउँमा गएर जग्गा हेर, राम्रो छ भने भाउजुलाई लगेर देखाइदे भन्थ्यो । मैले दुईवटा जति काम पनि गरेँ । पछिल्लो समय मसँग पैसा थिएन । त्यो दिन बिहानै मलाई अभिषेक फोन गरेर भन्यो, ‘मेरो काम गर्ने मान्छे बिरामी छ । हिजो बेलुका ८ बजे वीर अस्पताल पुर्याएको छ । उसलाई सहयोग गर ।’ म गएँ, तर त्यहाँ भक्तलाई राख्न आइसियु खाली थिएन । वीरको बिरामी लिएर हामी पाटनमा गयौँ । पाटनमा ल्याउनुअघि भक्त बहादुरका दुईजना मान्छे आएका थिए । उनीहरुलाई म चिन्दिनँ । अभिषेकले मलाई भक्तसँग पैसा पठाइदिएका थिए । त्यो पैसा निकाल्ने क्रममा चिठी भेटियो । त्यो चिठी उनीहरुका आफन्तले लगे । उनीहरुलाई म चिन्दिनँ । पाटनमा लगेपछि डक्टरले भन्नुभयो, बाँच्ने चान्स कम छ । कारागार भित्रैबाट तीस हजार रुपैयाँ लगेर डिपोजिट भयो । आइसियुमा राखेपछि म निस्किएर आएँ । म घरमा गएँ र सुतिरहेको थिएँ । बिहान ६/७ पटक फोन आएको रहेछ । मलाई फेरि भित्रैबाट (अभिषेकले) मान्छे बितिसक्यो रे गएर बुझ् भने । म विहानै पाटन अस्पताल गएँ । उसको २ बजे नै मृत्यु भएछ । मैले फोनबाटै भक्तको मृत्युको खबर बर्दियाबाट आउँदै गरेका भक्तका दाइलाई सुनाइदिएँ । मैले पनि शव हेरेको थिइनँ । उसको दाइ र भान्जी पनि आउनुभयो । शव हेरेपछि त्यहाँ रुवाबासी चल्यो । शव नीलो भइसकेको थियो ।
मैले उसलाई वीर अस्पतालमै भेट्दा कुरा पनि भएको थियो । उसले मसँग कुराकानीका क्रममा ‘केही कुरा खान दिएको’ले आफूलाई यस्तो भएको बताएको थियो । उसले कसले खान दियो भन्ने कुरा भनेन । तर, चौकीदारले खान दिएको भनेर नाम पोलिदियो ।
को हुन् अभिषेकराज सिंह ?

अभिषेकराज सिंह
कसैले थाहा नपाउने गरी क्रूर शैलीमा हत्या गर्नु अभिषेकराज सिंहको परिचय नै बनेको थियो । बाँके जिल्ला नेपालगन्ज वडा नम्बर ३ घर भएका उनी जेल पर्नुअघि ललितपुर सैँबु– ३ भैँसेपाटीको रिलायबल कोलोनीमा डेरा गरी बस्थे । भारतमै आइए पढेको बताउने उनी महत्त्वाकाङ्क्षी, विलासी र आक्रामक स्वभाव भएका व्यक्ति हुन् ।
२०७० सालमा महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई पक्राउ गरेको हो । तत्कालीन एसएसपी तथा पूर्वएआइजी विजयलाल कायस्थका अनुसार उसले तन्त्रमन्त्र सिकेका थिए । जसले धार्मिक आवरणमा विभिन्न खाले अपराध समेत गरेका थिए ।
समीर घिमिरे, देव शर्मा, राज सिंह, देव गुरु, रञ्जित सिंह प्रकाश केसी र रहमान हलुवाई लगायतका उपनामले समेत उनी चिनिन्थे ।
यसरी गर्थे हत्या
पूर्व एआइजी विजयलाल कायस्थका अनुसार अभिषेकराजले विभिन्न ३० भन्दा बढी लागु औषधलाई धुलो पारी एकै ठाउँमा मिसाउने र त्यही धुलोलाई विभिन्न खाद्य र पेय पदार्थमा मिसाएर खान दिने गर्थे । त्यो खानेहरु असक्त हुने र त्यो बेला लागु औषधको थप डोज इन्जेक्सन दिएर हत्या गरिदिने अभिषेकको बानी नै थियो । प्रहरीले त्यतिबेला यिनको साथबाट हत्यामा प्रयोग भएका सिरिन्ज पक्राउ गरेको थियो ।
अभिषेकराज सिंहले आफ्नै प्रेमिकाको परिवारलाई औषधि भन्दै दुई लिटर पानी एक लाख ६० हजारमा बिक्री गरेका थिए । अभिषेकले फ्लाइटमा जाँदा बिजनेस क्लासको टिकट लिने गर्थे । बाहिर जाँदा फाइभस्टार होटलमा मात्रै बस्ने उनको बानी थियो ।
(सुदीप विश्वकर्माले दियाे पाेष्टमा लेखेका छन ।)
Abbot Nepal
जन्मेको मर्नको लागि। सिधा माटोमा मिलाइदिए हुन्छ यसलाई। नेपालमा जहाँ पनि राजनिति चलने भएर यस्तो अवस्थामा छ। नेपालमा देश हाँकने हरु एक बाउको सन्तान होइन कि जस्तो लाग्यो। गलत र सहि छुट्याउन न सकने मुलाहरू कसको के खान देश हाॕकन जानु?