नियमित विद्युत् आपूर्तिपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव
सारांश
- काठमाडौँ।
- नियमित रुपमा विद्युत् उपलब्ध भएपछि मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको पाइएको छ।
- राष्ट्रिय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्याङ्कअनुसार कूल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ४० प्रतिशतले वृद्धि हुने देखिएको छ।
काठमाडौँ। नियमित रुपमा विद्युत् उपलब्ध भएपछि मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको राष्ट्रिय लेखा तथ्याङ्कअनुसार कूल मूल्य अभिवृद्धि अघिल्लो आर्थिक वर्षको तुलनामा १२ दशमलव ४० प्रतिशतले वृद्धि हुने देखिएको छ।
नेपाल विद्युत् प्राधिकरणले २०७५ वैशाखदेखि औद्योगिक क्षेत्रमा समेत विद्युत्भार कटौतीको अन्त्य गरेको थियो। यस्तै २०७३ कात्तिकदेखि राजधानी काठमाडौँलगायतका प्रमुख शहरी क्षेत्रमा समेत विद्युत्भार कटौतीको अन्त्य गरेको थियो। नियमित विद्युत् प्रवाहका कारण औद्योगिक क्षेत्रमा सकारात्मक मात्रै होइन रणनीतिक प्रभाव परेको उक्त लेखा तथ्याङ्कले उल्लेख गरेको छ।
मुलुकको कूल ग्रार्हस्थ उतपादनमा विद्युत्, ग्यास र पानीको योगदान एक दशमलव २५ प्रतिशत हुनपुगेको छ। चालू आर्थिक वर्षमा विद्युत् उत्पादन गत वर्षको तुलनामा वृद्धि भएका कारण पनि सकारात्मक प्रभाव परेको पाइएको हो।
चालू आर्थिक वर्षमा वाग्मती जलविद्युत् आयोजना सञ्चालनमा आएको छ। सो आयोजनाको क्षमता २२ मेगावाट रहेको छ। गत फागुन तथा चैत महिनामा वर्षाका कारण आन्तरिक उत्पादनमा वृद्धि तथा आयातमा कटौती भएको सो क्षेत्रको वृद्धि दर बढी भएको हो।
सरकारको सकारात्मक पहल तथा ऊर्जा क्षेत्रलाई दिइएको प्राथमकितामा राखेका कारण अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको हो। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निर्माणमा रहेका आयोजनालाई शीघ्र सञ्चालनमा ल्याउन गरेको सहजीकरण तथा नेपाल विद्युत् प्राधिकरणले तदारुकताले पनि अर्थतन्त्रलाई बढावा दिएको हो।
प्राधिकरणले गत चैतमा १७८.८ गिगावाट घण्टा विद्युत् उत्पादन गरेको विभागको तथ्याङ्कमा समावेश छ। त्यसमा आन्तरिक रुपमा मात्रै १२९.९ गिगावाट घण्टा खरीद गरेको छ । आर्थिक वर्ष २०७४/७५ को तुलनामा उक्त मात्रा २५.४ प्रतिशत बढी हो। आव २०७४/७५ मा कूल ५२१.४ गिगावाट घण्टा विद्युत् उत्पादन भएको थियो।
प्राधिकरणका अनुसार यही वैशाख १७ गते मङ्गलबारदेखि लामो समयदेखि समस्यामा परेको माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाको पहिलो यूनिट सञ्चालनमा आउने छ। हाल सो आयोजनाको परीक्षण भइरहेको छ। यस्तै केही समयभित्रै कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट १४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिनेछ।
यस्तै चालू आवको गत चैतसम्म मदम्यू खोला १३ मेगावाट, रुदी खोला ए ८.८ मेगावाट, माई साना क्यास्केड ८ मेगावाट राष्ट्रिय प्रसारणमा जोडिउको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार सो अवधिमा सुपर माई हाइड्रोपावर ७.८ मेगावाट, मोलुङखोला ७ मेगावाट, ठेउलेखोला १.५ मेगावाट, विष्णुप्रिया सोलामार फार्मबाट ०.९६ मेगावाट, सोबुवा खोला दुई मेगावाट र लेगुवा खोला ०.०४ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ। मन्त्रालयका अनुसार गत चैतसम्म कूल ७०.१६ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएका छन्।
नियमित विद्युत् आपूर्तिसँगै उद्योग क्षेत्रको पनि कूल ग्राहस्थ उत्पादनमा ५.५९ प्रतिशत योगदान पुगेको छ। आर्थिक वर्ष २०७४/७५ को तुलनामा चालू आवमा कूल मूल्य अभिवृद्धि ५.७८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ। ऊर्जाको नियमति उपलब्धता, अनुकूल औद्योगिक वातावरण आदि कारणले उद्योगको क्षमतामा विस्तार भएको हो।
विभागको प्रतिवेदन अनुसार निर्माण क्षेत्रले समेत कूल गहस्थ उत्पादनमा ८.९४ प्रतिशत योगदान दिने अवस्था देखिएको छ। चालू आर्थिक वर्षमा मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललगायतका ठूला आयोजनाको निर्माण कार्यले पनि निर्माण क्षेत्रले सकारात्मक प्रभाव पारेको हो।
पर्यटकको आवागमनमा भएको वृद्धि तथा होटल तथा रेष्टुरेन्टमा भएको लगानीका कारण पनि कूल ग्रार्हस्थ उत्पादनमा यस क्षेत्रले २.०५ प्रतिशत योगदान दिने देखिएको विभागको भनाइ छ। रासस
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया