निर्मला हत्याकाण्ड : जो कोही भएपनि नछोड्ने सरकारको प्रतिबद्धता
सारांश
- काठमाडौँ ।
- कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई पक्राउ गरी कार्वाही गर्न देशभर प्रदर्शन भइरहेको बेला हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरिएको छ ।
- पन्त हत्याबारे सरकारले गम्भीरतापूर्वक लिई अनुसन्धान गरिरहेको र यस आपराधिक घटनामा जो कोही संलग्न भए पनि कानूनी दायरामा ल्याई कारवाही गर्न तयार रहेको गृहमन्त्री थापाले बताएका छन् ।
काठमाडौँ । कन्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारालाई पक्राउ गरी कार्वाही गर्न देशभर प्रदर्शन भइरहेको बेला हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरिएको छ ।
पन्त हत्याबारे सरकारले गम्भीरतापूर्वक लिई अनुसन्धान गरिरहेको र यस आपराधिक घटनामा जो कोही संलग्न भए पनि कानूनी दायरामा ल्याई कारवाही गर्न तयार रहेको गृहमन्त्री थापाले बताएका छन् ।
हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा छानबिन गरी प्रतिवेदन पेश गर्न गृह मन्त्रालयबाट सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा गठन भएको उच्चस्तरीय छानबिन समितिले गृहमन्त्रीलाई प्रारम्भिक प्रतिवेदन पेश गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव रामकृष्ण सुवेदीले प्रतिवेदनले औँल्याएका अन्य व्यक्तिलाई पनि छानबिनको दायरामा ल्याई अनुसन्धानको काम अघि बढाउन निर्देशन भएको बताए ।
मन्त्रालयले अपराधी पत्ता लगाई कारवाही गर्ने विषयमा सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न आग्रहसमेत गरेको छ । प्रतिवेदन बुझेपछि गृहमन्त्रालयले निर्मला हत्याको समयमा रहेका प्रहरीलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।
हत्यापछि गर्नुपर्ने अनुसन्धान कार्य जिम्मेवारपूर्वक गर्न नसकेका केही सुरक्षाकर्मीसमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने भएकाले निलम्बन गरी छानबिन भइरहेका प्रहरी उपरीक्षक डिल्लीराज बिष्टका अतिरिक्त त्यस काममा खटिएका प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर सेठी र अंगुर जिसी, प्रहरी निरीक्षक जगदीश भट्ट र एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक रामसिंह धामी समेतलाई निलम्बन गरिसकेको छ ।
प्रतिक्रिया