नेकपा संसदीय दलको बैठकमा सांसदका गुनासै गुनासा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १७, २०७६
|
|
२६ पटक हेरिएको
Shares
नेकपा संसदीय दलको बैठकमा सांसदका गुनासै गुनासा

सारांश

  • काठमाडौं ।
  • सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले सरकारका काम कारबाही प्रभावकारी हुन नसकेको भन्दै नेतृत्वसमक्ष गुनासो गरेका छन् ।
  • सोमबार नेकपा संसदीय दलको बैठकमा सांसदहरूले अन्तरक्रिया गर्ने वातावरण नभएको, समानुपातिकरूपमा आगामी आर्थिक वर्षको बजेट विनियोजन नभएको लगायतका विषयमा नेतृत्वको ध्यानाकर्षणसमेत गराए ।

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले सरकारका काम कारबाही प्रभावकारी हुन नसकेको भन्दै नेतृत्वसमक्ष गुनासो गरेका छन् । सोमबार नेकपा संसदीय दलको बैठकमा सांसदहरूले अन्तरक्रिया गर्ने वातावरण नभएको, समानुपातिकरूपमा आगामी आर्थिक वर्षको बजेट विनियोजन नभएको लगायतका विषयमा नेतृत्वको ध्यानाकर्षणसमेत गराए ।यसअघिका संसदीय दलका बैठकमा नेतृत्व तहले पार्टीको धारणा र नीतिबारे सांसदलाई जानकारी गराउने र सोहीअनुसारको भूमिकाका लागि निर्देशन दिने गरेको भए पनि सोमबार सांसदहरूलाई खुला छलफलका लागि समय दिइएको थियो । पार्टीभित्रै सरकारका काम कारबाहीलाई लिएर असन्तुष्टि बढ्दै गएको समयमा सांसदहरूका धारणा सुन्न बैठक आयोजना गरिएको बताइएको छ ।

पार्टी एकताको बाँकी काम पूरा नहुँदा देशव्यापीरूपमा नेता तथा कार्यकर्ता बेरोजगार भएका, स्थानीय तहमा अनियमितता बढेको भए पनि त्यसलाई नियन्त्रण गर्नेतर्फ पहल नभएको भन्दै सांसदहरूले गुनासो गरेका थिए । सरकार ठीक बाटोमा हिँडेको छ भन्ने जनतालाई जानकारी दिनसमेत पार्टीभित्र सघन छलफल हुनुपर्ने भए पनि त्यस्तो नभएको भन्दै सांसदहरूले त्यसलाई सच्याएर जानुपर्नेमा जोड दिए ।बैठकमा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री देश र जनताका लागि दैनिक १८ घण्टा खटेजस्तै तमाम पार्टी कार्यकर्तालाई समेत खटाउने गरी जिम्मेवारी दिनुपर्नेमा जोड दिइन् । बैठकमा नेकपाका नेताहरू भीमबहादुर रावल, जनार्दन शर्मा, धर्मशिला चापागाईं, घनश्याम भुसाल, पदम गिरी, झपट रावल, नीरु पाल, लालबहादुर थापा, गणेश पहाडीलगायत २९ जनाले आफ्ना धारणा राखेका थिए ।

सकारात्मक कामको प्रचार गुर्नहोस् स् प्रधानमन्त्री

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारका सकारात्मक कामहरूको प्रचारप्रसार गर्न निर्देशन दिएका छन् । बैठकमा ओलीले सांसदहरूलाई सरकार जनअपेक्षाअनुसार नै अगाडि बढिरहेको भए पनि जनताका बीचमा पुग्न नसकेको भन्दै प्रभावकारीरूपमा प्रचार गर्न निर्देशन दिएका हुन् ।इतिहासले वर्तमान सरकार र नेकपालाई ऐतिहासिक र महŒवपूर्ण जिम्मेवारी दिएको भन्दै उनले उक्त जिम्मेवारी पूरा गरेरै छाड्ने स्पष्ट पारे । प्रधानमन्त्रीले सांसदहरूलाई स्पष्ट दृष्टिकोणका साथ सदनमा प्रस्तुत हुन आग्रह गर्दै विगतमा केही कमीकमजोरी भएका भए त्यसलाई आगामी दिनमा सुधार गरेर जाने विश्वास दिलाए ।

सरकार आफ्नो गतिमा स्पष्ट रहेको र थोरै समयमा गर्नुपर्ने जति काम अगाडि बढाइएको जानकारी दिँदै उनले विरोधका लागि विरोध गर्ने प्रवृत्तिले गलत मात्रै देख्ने भएकाले त्यसप्रति सचेत हुन आग्रह गरे । विकास निर्माणको कामसमेत प्रभावकारीरूपमा अगाडि बढेको भन्दै प्रधानमन्त्रीले भौतिक पूर्वाधार, सडक निर्माणमा उल्लेख्य प्रगति भएको दाबी गरे । आगामी वर्ष झन् नयाँनयाँ उपलब्धि देखिने उनको भनाइ थियो ।उनले सरकारले आवश्यकताका आधारमा केही विधेयक प्रस्तुत गरेकाले विषयवस्तुमा रहेर छलफल गर्न र सच्याउने ठाउँ भएको अवस्थामा त्यसलाई सच्याइने भएकाले सोहीअनुसार प्रस्तुत हुन सांसदहरूलाई निर्देशन दिए । संसदीय दल, सांसद र शीर्ष नेतृत्वबीच अन्तरक्रिया गर्ने तथा पछिल्ला दिनमा सरकार, संसद्मा र संसद्बाहिर उठेका विषयवस्तुमा प्रस्ट पार्ने ध्येयका साथ प्रतिनिधि र राष्ट्रियसभामा रहेका नेकपाका सांसदहरूसँग अन्तरक्रियात्मक छलफल आयोजना गरिएको संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले जानकारी दिए ।

असारभित्रै एकताको काम सकिन्छः दाहाल

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताको काम असारभित्र सकिने बताएका छन् । पार्टी एकताको समयमा तीन महिनाभित्रै टुंग्याउने भनिए पनि विभिन्न कारणले ढिलाइ भएको भन्दै उनले असारभित्रमा सबै काम सम्पन्न गर्ने बताए ।उनले पार्टी एकताको कामलाई टुंगो लगाएर पार्टीलाई नयाँ गति दिने र जनताका बीचमा जाने गरी नीति कार्यक्रम तथा योजनासमेत तय गरिने बताए । उनले पार्टीका सबै नेता तथा कार्यकर्ता एउटै डुंगामा सवार भएको बताउँदै डुब्दा सबै डुब्ने र पार लाग्दा सबै पारि पुग्ने बताए । संसदीय दलको अर्को बैठक असार २१ गते पुनः बस्ने प्रमुख सचेतक गुरुङले जानकारी दिए । सो बैठकमा बाँकी सांसदहरूले आफ्ना धारणा राख्ने जनाइएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?