पठाओ र टुटल प्रतिबन्ध गर्ने गरी सरकारको आयो यस्तो सूचना
सारांश
- २८ फागुन, काठमाडौं ।
- सरकारले निजी लगायत विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई यात्रु नबोक्न चेतावदी दिएको छ ।
- यातायात व्यवस्था विभागले मंगलबार राती सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रुपमा प्रयोग नगर्न चेतावनी दिएको हो ।
२८ फागुन, काठमाडौं । सरकारले निजी लगायत विभिन्न प्रयोजनमा दर्ता भएका सवारीलाई यात्रु नबोक्न चेतावदी दिएको छ । यातायात व्यवस्था विभागले मंगलबार राती सूचना जारी गर्दै निजी प्रयोजनमा दर्ता भएका सवारीलाई सार्वजनिक सवारीको रुपमा प्रयोग नगर्न चेतावनी दिएको हो । कानूनको उल्लंघन गरी निजी प्रयोजनमा दर्ता भएका सवारीले व्यवसायिकरुपमा यात्रु बोकेमा प्रचलित कानून बमोजिम कारबाही गर्ने जानकारी दिएको छ ।
ट्याक्सी व्यवसायी तथा चालकले टुटल र पठाओलाई कानून विपरित सेवा प्रदान गर्न छुट दिइएको भन्दै मंगलबार साँझ विभाग घेराउ गरे पछि ट्याक्सी सञ्चालकहरुको दबावमा विभागले मंगलबार राती नै सूचना जारी गरेको हो ।
टुटल र पठाओ नाम उल्लेख नगरी जारी भएको सूचना कार्यान्वयन भएको खण्डमा निजी मोटरसाइकलमा भाडा लिएर यात्रु बोकिरहेका टुटल, पठाओ लगायत यात्रु बोक्नबाट प्रतिबन्धित हुनेछन् । विभागले कानून मिचेर सञ्चालनमा रहेका सवारीमाथि तत्कालै कारबाही थालिने स्पष्ट गरेको छ ।
उपत्यका ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजका केन्द्रिय सदस्य तथा लेखा समिति संयोजक विष्णु चौहान टुटल र पठाओमा नाममा निजी सवारीले भाडाका यात्रु बोकेकाले सरकारलाई कारवाहीका लागि दबाव दिइएको बताए ।
सरकारले टुटल पठाओ अवैधानिक भएको स्वीकार गरेको भन्दै कारवाही थालिहाल्नुपर्ने उनले माग गरे । निजी सवारी साधन विभिन्न बाहनामा भाडामा प्रयोग हुने क्रम बढ्दै गए भविष्यमा सार्वजनिक यातायात क्षेत्र थप अस्तव्यस्त र भद्रगोल हुने चौहानको दावी छ ।
प्रतिक्रिया