पानी उद्योगमा मानव मलमुत्रमा पाइने ‘ कोलिफर्म’ जिवाणु !
सारांश
- अस्बिन खड्का, १९ साउन।
- प्रदेश १ को सामाजिक विकास मन्त्रालयले १४ वटा पानी उद्योगलाई कारवाही प्रक्रिया अघि बढाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरलाई निर्देशन दिएको छ।
- खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालय को टोलीले २० वटा पानी उद्योगहरूको अनुगमन गरेको थियो।
अस्बिन खड्का, १९ साउन। प्रदेश १ को सामाजिक विकास मन्त्रालयले १४ वटा पानी उद्योगलाई कारवाही प्रक्रिया अघि बढाउन खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरलाई निर्देशन दिएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र प्रदेश नम्बर एकको सामाजिक विकास मन्त्रालय को टोलीले २० वटा पानी उद्योगहरूको अनुगमन गरेको थियो। टोलीले उद्योगबाट पानी परीक्षणकालागि नमूना संकलन गरेका थियो। नमूना संकलन गरिएका उद्योगहरूको पानी परीक्षण गर्दा ११ वटा उद्योगले उत्पादन गरेको पानीमा मानव मलमुत्रमा पाइने ‘ कोलिफर्म’ जिवाणु भेटिएको हो।
अन्य तीन उद्योगले उत्पादन गरेको पानीमा अम्लियपन को मात्र कम छ भने ६ वटा उद्योगले उत्पादन गरेको पानी सामान्य पाइएको थियो। नमूना परीक्षण गर्दा गंगाजल उद्योग विराटनगर–५, पूजा फुड एण्ड वेभरेज इन्ड्रस्टिज विराटनगर ६, हाइमल वाटर इन्ड्रस्टीज विराटनगर १०, गोमारानी पानी उद्योग विराटनगर ४, सुभजल उद्योग बुढीगंगा १, तिरूपती जल उद्योग विराटनगर २, माउण्टेन वाटर इन्ड्रस्टिज विराटनगर ११, श्रीजल उद्योग विराटनगर १३, जोनसन जल उद्योग विराटनगर १४, दिव्यश्री जल उद्योग विराटनगर १२, शितल जल उद्योग विराटनगर ८ ले उत्पादन गरेको पानीमा मलमुत्रमा पाइने कोलिफर्म जिवाणु भेटिएको हो।
अनुगमनका क्रममा विराटनगर १२ मा रहेको भूमि जल उद्योग, विराटनगर ९ मा रहेको मंगलम जल उद्योग, एस एस एस पानी उद्योगले उत्पादन गरेको पानीमा अम्लियपन कम पार्इएको थियो। अनुगमन टोलीले न्यूनतम मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका हाइमल वाटर इन्ड्रष्टिज, गोमा रानी जल उद्योग र पूजा फुड एण्ड वेभरेज इन्ड्रष्टिज, एसएसएस जल उद्योग र भूमि जल उद्योगमा शीलबन्दी गरेको थियो। अनुगमनका क्रममा मानव स्वास्थ्यलाई गम्भीर प्रभाव पार्ने जिवाणु भेटिएका उद्योगलाई प्रचलित कानुन अनुसार कारवाही गर्न खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई निर्देशन दिइसकेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले जानकारी दिए । सामाजिक विकास मन्त्रालयका उपसचिव गोपी घिमिरेको नेतृत्वमा अनुगमन गरिएको थियो।क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले १४ वटा उद्योगलाई कारवाही गरिने बताए ।
प्रतिक्रिया