प्रचण्डले ओलीलाई भने, ‘पार्टीभित्र मलाई परेको अप्ठ्यारोमा तपार्इंले साथ दिनुपर्छ’
सारांश
- काठमाडौं : वैशाख ९ का लागि तय गरिएको एमाले-माओवादी केन्द्रबीचको एकता औपचारिक रूपमा घोषणा हुने-नहुने मंगलबार बस्ने एकता संयोजन समितिको बैठकपछि टुंगो लाग्ने भएको छ।
- पार्टी एकतालगायत विषयमा छलफल गर्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भएको ‘वन टु वन’ वार्ताले मंगलबार बिहानका लागि एकता संयोजन समितिको बैठक तय गरेको छ।
- मंगलबारको वार्तापछि दुई शीर्ष नेता पूर्वनिर्धारित सयम वैशाख ९ मै दुई पार्टी एक गर्नेमा प्रतिबद्ध देखिएका छन्।
काठमाडौं : वैशाख ९ का लागि तय गरिएको एमाले-माओवादी केन्द्रबीचको एकता औपचारिक रूपमा घोषणा हुने-नहुने मंगलबार बस्ने एकता संयोजन समितिको बैठकपछि टुंगो लाग्ने भएको छ।
पार्टी एकतालगायत विषयमा छलफल गर्न एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार भएको ‘वन टु वन’ वार्ताले मंगलबार बिहानका लागि एकता संयोजन समितिको बैठक तय गरेको छ। मंगलबारको वार्तापछि दुई शीर्ष नेता पूर्वनिर्धारित सयम वैशाख ९ मै दुई पार्टी एक गर्नेमा प्रतिबद्ध देखिएका छन्। यसअघि तय भएका एकता संयोजन समितिका बैठक एमाले-माओवादी शीर्ष नेताको व्यस्तताले प्रभावित हुँदै आएका थिए।
प्रधानमन्त्रीको भारत भ्रमणअघि नै एकता गर्ने भन्दै गृहकार्य अघि बढाए पनि संगठन संरचना, चुनाव चिह्न र निर्देशक सिद्धान्तका विषयमा सहमति भएको छैन।
आइतबार अपराह्नका लागि निर्धारित एकता संयोजना समितिको बैठकमा सहभागी नभई सिन्धुपाल्चोकको सुकुटे पुगेका दाहाल सोमबार बिहान राजधानी फर्किएपछि दुई नेताबीच प्रधानमन्त्रीनिवास बालुवाटारमा वार्ता भएको हो।
दाहालले सोमबारको वार्तामा सम्मान र समानतासाथ पार्टी एकीकरण हुनुपर्ने र जनयुद्धलाई आत्मसात् गर्नुपर्नेमा जोड दिएका थिए।
दाहालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘माक्र्सवादी-माले एकता भएझंै एमाले-माओवादी एकता पनि समानता र सम्मानजनक रूपमा हुनुपर्छ। पार्टीभित्र मलाई परेको अप्ठ्यारोमा तपार्इंले साथ दिनुपर्छ।’
दाहालको जिज्ञासाप्रति आफ्नो सम्मान रहेको बताउँदै ओलीले भनेका थिए, ‘यसबारे एमालेका आधिकारिक निकायमा कुरा राख्नेछु। कम्युनिस्ट आन्दोलनका लागि लडेको ओली कम्युनिस्टबीचको एकताका लागि त्याग गर्न सक्छ।’
एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले नेताद्वय बीचको दुई घण्टा लामो छलफल सकारात्मक भएकै कारण मंगलबार एकता संयोजन समितिको बैठक तय भएको बताए।
माओवादी नेता नारायण दाहालले नेताद्वयबीच एकता प्रक्रिया छिटोभन्दा छिटो टुंगोमा पुर्याउन मंगलबार बिहान एकता संयोजन समितिको बैठक बस्ने र त्यहाँ खुला र खुलस्त वातावरणमा छलफल गर्ने सहमति भएको बताए।
उनले एक प्रश्नमा भने, ‘समानता र सम्मानजनक आधारमा एकता हुनै पर्छ, प्रतिशतका आधारमा ५१ र ४९ सम्म मानिँदैन। माओवादीकै बटमलाइनका रूपमा सम्मान र समानताको एकता हो।’
माओवादी सचिवालय सदस्य मणि थापाले एमाले र माओवादीबीच आवश्यक गृहकार्यका साथ छिटोभन्दा छिटो पार्टी एकता हुने बताए।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
प्रतिक्रिया