प्रचण्ड पूर्वलडाकु लेनिन बिष्टसँग किन त्रसित ?
सारांश
- नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वलडाकू लेनिन विष्टसँग त्रसित भएको संकेत दिएका छन् ।
- समाजवादी पार्टीका केही कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने क्रममा उनले यस्तो संकेत दिएका हुन् ।
- उनले भने, ‘शान्ति प्रक्रिया भाँड्नका लागि केही व्यक्तिलाई प्रायोजित हिसाबले परिचालन गरिएको छ ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वलडाकू लेनिन विष्टसँग त्रसित भएको संकेत दिएका छन् । समाजवादी पार्टीका केही कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने क्रममा उनले यस्तो संकेत दिएका हुन् । उनले भने, ‘शान्ति प्रक्रिया भाँड्नका लागि केही व्यक्तिलाई प्रायोजित हिसाबले परिचालन गरिएको छ ।’
उनको संकेत नेपालको संक्रमणकालिन न्यायका विषयमा संयुक्त राष्ट्र संघसहित पश्चिमा मुलुकले उठाएको प्रश्न र पूर्वलडाकू लेनिन विष्टले हालै युरोपमा गरेका विभिन्न भेटघाटतिर लक्षित थियो ।
केही दिन अघि युरोपको लामो बसाई र भेटघाट सकेर नेपाल फर्किएका विष्टले बाल सैन्यको प्रयोग गरी त्यसको प्रभावबारे राज्यले ध्यान नदिएको भन्दै पश्चिमा मुलुकका सम्बन्धित निकाय र व्यक्तिलाई भेटेको प्रतिक्रिया दिएका थिए ।
नेपालको शान्ति प्रक्रिया संसारकै सफल मध्येको एक भएको बताउँदै यसलाई भाँड्ने चलखेल हुनु घातक रहेको पनि प्रचण्डले बताए । गम्भिर मुद्रामा उनले भने,‘एकथरी मानिस यहि शान्ति प्रक्रिया भाँड्नका लागि युरोपदेखि संसारभर घुमाएर हिँडेका छन् ।’
नेकपा भित्र प्रचण्ड खेमाले विष्टलाई शान्ति प्रक्रियाविरुद्ध प्रायोजित रूपमा हिँडाइएको बताउँदै आएका छन् । विष्टलाई युरोप भ्रमणअघि थाइल्यान्ड जान रोकिएको थियो ।
प्रचण्डले थपेका छन्, ‘हामीले शान्तिप्रक्रियाको असाध्यै संवेदनशील पक्षलाई बडो सफलताको साथ, संसारको सबभन्दा राम्रो स्टोरीको रुपमा स्थापित गरिनै सकेका छौं । र, यो सफल भएको एकथरीलाई मन परेको छैन । त्यसकारण खाटो बसिसकेकोलाई कोपरेर, चिथोरेर, अनेक गरेर घाउ बनाउन पाएर त्यहाँ क्यान्सर बनाउन पाए हुन्थ्यो भनेर एकथरी मान्छे लागिराखेका छन् ।’
प्रतिक्रिया