प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारका आकांक्षी धेरै हुँदा छान्न सकस

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन २२, २०७४
|
|
१८ पटक हेरिएको
Shares
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि  उम्मेदवारका आकांक्षी धेरै हुँदा छान्न सकस

सारांश

  • नेपालगन्ज- आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलले धमाधम उम्मेदवारहरूको नाम सिफारिस गर्न थालेका छन् ।
  • नेता–कार्यकर्तालाई खुसी पार्न मापदण्ड नबनाएरै जिल्ला तहबाट ठूलो संख्यामा आकांक्षीको नाम सिफारिस गरिएपछि केन्द्रलाई उम्मेदवार छान्न असहज हुने भएको छ ।
  • प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभातर्फ छ निर्वाचन क्षेत्र रहेको कपिलबस्तुमा एमालेले उम्मेदवारको नाम सिफारिस गरेको छ ।

नेपालगन्ज- आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलले धमाधम उम्मेदवारहरूको नाम सिफारिस गर्न थालेका छन् । नेता–कार्यकर्तालाई खुसी पार्न मापदण्ड नबनाएरै जिल्ला तहबाट ठूलो संख्यामा आकांक्षीको नाम सिफारिस गरिएपछि केन्द्रलाई उम्मेदवार छान्न असहज हुने भएको छ ।
प्रतिनिधिसभातर्फ तीन र प्रदेशसभातर्फ छ निर्वाचन क्षेत्र रहेको कपिलबस्तुमा एमालेले उम्मेदवारको नाम सिफारिस गरेको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा चारजनाको नाम सिफारिस गरिएको एमाले जिल्ला अध्यक्ष झविलाल पोखरेलले बताए । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा बृजेशकुमार गुप्ताको नाम सर्वसम्मत सिफारिस गरिएको छ । त्यस्तै प्रतिनिधिसभातर्फको ३ नम्बर निर्वाचन क्षेत्रमा पाँचजनाको नाम सिफारिस गरिएको छ । कपिलवस्तुको प्रदेश सभातर्फको निर्वाचन क्षेत्र नम्बर १ मा एक महिलासहित पाँच जनाको नाम सिफारिस गरिएको छ । त्यस्तै प्रदेश सभाको निर्वाचन क्षेत्र नम्बर २ मा पाँच जनाको नाम केन्द्रमा पठाइएको एमालेले जनायो । प्रदेशसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्बर ३ मा दीर्घनारायण पाण्डेको एकल नाम सर्वसम्मत सिफारिस गरिएको छ । त्यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ५ मा तीनजनाको  नाम प्रदेश सांसदका लागि सिफारिस भएको छ । निर्वाचन क्षेत्र नम्बर ६ मा मिर्जा अर्रसद बेगको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख एलपी बेल्वासेले बताए ।
बाजुरामा माओवादीले दुवै निर्वाचनका लागि २८ जनाको नाम सिफारिस गरेको छ । बैठकले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी २८ जनाको नाम सिफारिस गरेको हो । सिफारिसमध्ये प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आपूर्ति राज्यमन्त्री कर्णबहादुर विकको नाम सर्वसम्मत गरिएको छ भने प्रत्यक्षतर्फको समानुपातिकतर्फ सातजनाको नाम सिफारिस गरिएको पार्टी कार्यालय सचिव सुरेश विकले बताए । प्रदेश निर्वाचन क्षेत्र नम्बर १ को प्रत्यक्षमा दुई जनाको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ आठजनाको नाम केन्द्रमा पठाइएको छ । प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा प्रत्यक्षतर्फ पनि दुईजनाकै नाम सिफारिस गरिएको छ ।  समानुपातिकतर्फ भने नौं जनालाई छानिएको छ ।
एमालेले प्रदेश र संघको निर्वाचनका लागि ४६ जना उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरेको छ । प्रतिनिधिसभा र प्रदेश सभाको प्रत्यक्ष र समानुपातिकतर्फ गरी ४६ जनाको नाम सिफारिस गरेको हो ।
मुगुमा एमालेले प्रदेशसभामा प्रत्यक्षतर्फ दुईजना, प्रतिनिधिसभामा एकजना गरी तीनजना र समानुपातिकतर्फ पनि तीनजना गरी छ जनाको नाम छनौट गरेको छ ।
कांग्रेसले पनि प्रतिनिधिसभाका लागि हस्तबहादुर मल्लको नाममात्र सिफारिस गरेको छ भने प्रदेशसभाका लागि पनि एक नम्बर क्षेत्रमा तिलकबहादुर मल्ल र दुई नम्बर क्षेत्रमा खडकबहादुर शाहीको नाम सिफारिस गरेको छ । समानुपातिक निर्वाचनतर्फ प्रतिनिधिसभाको निर्वाचनका लागि दुईजना तथा प्रदेशसभाका लागि एकजनाको नाम सिफारिस गरेको कांग्रेसले बताएको छ । माओवादी केन्द्रले प्रतिनिधिसभाका लागि मंगलबहादुर शाहीको नाम र  प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट सन्तोषकुमार मल्ल, क्षेत्र नम्बर २ का बाट राजु कार्कीलाई उम्मेदवार बनाएको छ  ।
बझाङमा कांग्रेसले प्रदेश र प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर १ र २ बाट खुला र समानुपातिक गरी ५४ जनाको नाम केन्द्रमा पठाएको छ । एमालेले पनि खुलामा १ नम्बर क्षेत्रबाट तीनजना र दुई नम्बर क्षेत्रबाट तीनजना र प्रतिनिधिसभाका लागि दुईजनाको नाम पठाएको छ । एमालेले भने समानुपातिको नाम छनोट गरेको छैन । माओवादी केन्द्रले खुला र समानुपातिक गरी ११ जनाको नाम केन्द्रमा पठाएको बताएको छ ।
जाजरकोटमा एमालेले मतदान प्रक्रियाबाट उम्मेदवारको नाम छनोट गरेको छ । संघीय संसदका लागि  केन्द्रीय सदस्य भैरबसुन्दर श्रेष्ठ र  पूर्वसांसद गोविन्दविक्रम शाहको नाम टुंग्याइएको छ । प्रदेशसभा अन्तरगत  क्षेत्र नम्बर १ बाट एक महिलासहित तीनजनाको नाम सिफारिस गरिएको छ । क्षेत्र नम्बर २ बाट पनि तीनजनाको नाम सिफारिस गरिएको बताइएको छ । कांग्रेसबाट प्रतिनिधिसभाका लागि वर्तमान सांसद राजीवविक्रम शाह, प्रदेशसभाका लागि  क्षेत्र नम्बर १ बाट वेदराज सिंह र दुईबाट पूर्वसांसद तथा पार्टी सभापति  दीपकजंग शाहको नाम टुंगिएको छ । माओवादी केन्द्रबाट  प्रतिनिधिसभाका लागि पूर्वगृहमन्त्री तथा सांसद शक्तिबहादुर बस्नेत, प्रदेशसभाका लागि क्षेत्र नम्बर १ बाट गणेशप्रसाद सिंह र क्षेत्र नम्बर २ बाट नरबहादुर कार्कीको नाम सिफारिस गरिएको छ ।
दार्चुलामा एमालेले केन्द्रीय सदस्य तथा सांसद गणेशसिंह ठगुन्नालाई प्रतिनिधिसभाका लागि सर्वसम्मत सिफारिस गरेको छ । समानुमातिकतर्फ पाँचजनाको नाम सिफारिस गरेको छ । प्रदेशसभा क्षेत्र नं. १ बाट  प्रत्यक्षतर्फ तीनजनाको नाम उम्मेदवारीका लागि सिफारिस गरिएको छ भने समानुपातिकतर्फ छ जनाको नाम सिफारिस गरिएको प्रचार विभाग प्रमुख खडकसिंह वडालले बताए  । त्यस्तै २ नम्बर क्षेत्रबाट प्रत्यक्षका लागि वीरबहादुर ठगुन्नालाई सर्वसम्मत चयन गरिएको छ भने समानुपातिकमा दुई जनाको नाम सिफारिस गरिएको एमाले दार्चुलाले जनाएको छ ।
बैतडीमा एमालेले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि सातजना उम्मेदवारको नाम सिफारिस गरेको छ ।
रोल्पामा कांग्रेसले संघको प्रत्यक्षतर्फ सिँचाइ राज्यमन्त्री तथा जिल्ला सभापति अमरसिंह पुनको नाम सिफारिस गरेको हो । प्रतिनिधिसभा सदस्यका लागि समानुपातिकतर्पm नौं जनाको नाम सिफारिस गरेको छ । यस्तै प्रदेशसभातर्फ प्रत्यक्षमा क्षेत्र नम्बर १ मा जिल्ला सचिव शेरबहादुर महरा र क्षेत्र नम्बर २ मा कोषाध्यक्ष खट्कबहादुर खत्री, खगेन्द्रप्रकाश हमाल, दीपक श्रेष्ठको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ निर्वाचन क्षेत्र नम्बर १ बाट आठजनाको नाम सिफारिस भएको छ । क्षेत्र नं. २ बाट सातजनाको नाम सिफारिस गरेको हो ।  एमालेले प्रत्यक्षतर्फ पोलिटब्युरो सदस्य तथा सचेतक गोकुलप्रसाद घर्ती र समानुपातिकतर्फ कुमार दसौदीको नाम सिफारिस गरेको छ । प्रदेशसभामा प्रत्यक्षतर्फ  क्षेत्र नम्बर १ मा पर्शुराम घर्ती र २ मा जिल्ला अध्यक्ष हरिप्रसाद घर्तीको नाम सिफारिस गरिएको छ । समानुपातिकतर्फ १६ जनाको नाम पठाएको बताइएको छ ।     माओवादी केन्द्रले संघमा प्रत्यक्षतर्फ पूर्व अर्थमन्त्री वर्षमान पुनमगरलाई चुनावी मैदानमा भिडाउने भएको छ । यसैगरी प्रदेशका लागि क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका सचिवालय सदस्य जोखबहादुर महरा र कुलप्रसाद केसीको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २ बाट केन्द्रीय सचिवालय सदस्य दीपेन्द्रकुमार पुनमगर भिड्ने भएका छन् । यस्तै समानुपातिकतर्फ प्रतिनिधिसभाका लागि दुईजना र प्रदेशका लागि क्षेत्र नं. १ र २  बाट सात÷सात जनाको नाम सिफारिस गरिएको छ ।
गुल्मीमा एमालेले दुवै क्षेत्रबाट सर्वसम्मत उम्मेदवारको नाम सिफारिस गरेको छ । एमाले गुल्मीको बैठकले पार्टीका दुई केन्द्रीय सचिव प्रदीप ज्ञवाली र गोकर्ण बिष्टलाई सिफारिस गरेको हो । ज्ञवाली गुल्मी क्षेत्र नम्बर १ बाट र बिष्ट क्षेत्र नम्बर २ बाट सिफारिस भएका हुन् । जिल्लाबाट ४ वटा प्रदेशसभामा विभाजन भएको छ । यस्तै प्रदेशसभातर्फ २ नम्बर क्षेत्रबाट पूर्वसांसद कमल श्रेष्ठ सर्वसम्मत सिफारिस भएका छन् । अन्य तीनवटा प्रदेशका क्षेत्रबाट धेरै आकांक्षीहरु भएसँगै नाम सर्वसम्मत बनाउने तयारी भइरहेको एमाले गुल्मीले जनाएको छ ।
कांग्रेसले दुवै निर्वाचनका लागि ९३ जनाको नाम केन्द्रमा पठाएको छ  । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि क्षेत्र नम्बर १ बाट प्रत्यक्ष र समानुपातिक गरी ३४ जना र क्षेत्र नम्बर २ बाट १८ जनाको नाम केन्द्रमा सिफारिस गरिएको जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । प्रदेशसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ २२ जना र समानुपातितर्फ १९ जनाको नाम केन्द्रमा पठाइएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको लागि गरी प्रत्यक्ष र समानुपातिक गरी कुल ९३ जनाको नाम केन्द्रमा पठाइएको कांग्रेसले जनाएको छ ।

राजदूत उपाध्याय उम्मेदवार सिफारिस  
कांग्रेस क्षेत्रीय समिति कपिलबस्तुले पूर्वमन्त्री तथा भारतका लागि राजदूत दीपकुमार उपाध्यायको नाम प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरेको छ । क्षेत्र नम्बर १ ले उनको नाम सिफारिस  गरी जिल्लामा पठाएको हो । उनीसँगै सांसद अतहर कमाल र पूर्वराज्यमन्त्री कमलेशकुमार शर्माको नाम पनि सिफारिस गरी पठाइएको छ ।

समानुपातिकमा रस्साकस्सी
डिबी बुढा
जुम्ला- प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार बन्न जुम्लाका राजनैतिक दल आन्तरिक गृहकार्यमा जुटेका छन् ।  उनीहरूले उम्मेदवार छनौट प्रक्रियाबारे छलफल, वैठक गर्दै आएका हुन् । अहिलेसम्मको गृहकार्यमा जिल्लास्थित सबै राजनैतिक दलमा प्रत्यक्ष भन्दा समानुपातिक उम्मेदवार बन्नमा रस्साकस्सी देखिएको पाइएको छ । समानुपातिकमा नेताको चित्त वुझाउन सके सांसद हुने सपनाले अधिकांश नेता कार्यकताले समानुपातिक उम्मेदवारमा दाबी गर्ने गरेका छन । २०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवार भएर प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिनवन्धु श्रेष्ठ समानुपातिकतर्फ सिफारिस भएका हुन । नेपाली काग्रेसमा क्षेत्र नम्वर १ मा प्रदेश सभाको लागि राजुसिंह कठायतको नाम टुंगो लागेकोमा समानुपातिकतर्फ चारजनाको नाम पठाइएको छ ।
कांग्रेसले क्षेत्र नम्बर एकका लागि समानुपातिकतर्फ गौरीनन्द आचार्य, दिपक शाही, नारायण शाही, भक्तबहादुर रोकाय लगायतको नाम  सिफारिस गरेको छ । क्षेत्र नम्बर दुई लागि प्रत्यक्षमा जयहरि आचार्य, भिमनिधि हमाल, दिपबहादुर शाही, लंकबहादुर शाही, परेलाल घर्ती, नवजंग हमालको नाम सिफारिस गरिएको कांग्रेस नेता गौरीनन्द आचार्यले जानकारी दिए । उनका अनुसार समानुपातिक चक्रबहादुर शाही, धनबहादुर बस्नेत, सम्पुर्ण शाही, हरिकृष्ण हमाल, नवराज शर्मा, कर्म कन्य हमाल र पुर्ण प्रसाद आचार्यलगायत सात जनाको नाम सिफारिस गरिएको छ । संघ निर्वाचनको लागि क्षेत्र नम्बर २ बाट लाल हमाल प्रत्यक्षका उम्मेदवारका रुपमा नाम सिफारिस भएकोमा समानुपातिकमा लक्ष्मी प्रसाद आचार्य छन् । यस्तै क्षेत्र नम्बर एकका लागि  देवेन्द्र शाही र कर्ण शाही प्रत्यक्षतर्फ भाग लिने भएका हुन् । समानुपातिकमा दिनबन्धु श्रेष्ठ र खड्क सेजुवालको नाम सिफारिस गरिएको छ ।
जुम्लामा अस्तित्वमा रहेका सवै दलमा प्रायः समानुपातिकमा सिफारिस हुन पाउनुपर्ने माग बढ्दो छ । प्रत्यक्षमा लड्दा पराजित हुने र समानुपातिकमा नजिकैको नेतासँग वार्गेानिङका आधारमा सांसद हुन सकिने गरी समानुपातिकमा वढि मोह जाग्ने गरेको छ । नेकपा एमालले क्षेत्र नम्वर दुई वाट प्रदेश सभाका प्रत्यक्षतर्फका लागि जिल्ला विकास समितिका पूर्व सभापति तिर्थ बूढाको नाम सिफारिस गरेको छ । उनी नेकपा एमाले जुम्लाको अध्यक्ष पनि हुन् । समानुपातिकतर्फ भने जानकी खत्री र आदीप्रसाद न्यौपानेको नाम सिफारिस गरेको नेकपा एमाले जुम्लाका सचिव आदीप्रसाद न्यौपानेले जानकारी दिए । यस्तै प्रतिनिधीसभामा प्रत्यक्षतर्फ गोर्ख सार्की र धिरेन्द्रराज गिरीको नाम सिफारीस गरेको छ । समानुपातिकतर्फ कालीबहादुर रोकाया, गंगा महत, शान्ता शाहीको नाम परेको छ । उम्मेदवार बन्न आकांक्षी धेरै देखिएकाले सबैको नाम केन्द्रीय कार्यालयले टुंग्याउने गरी सिफारिस गरिएको नेकपा एमाले जुम्लाले जनाएको छ ।
यस्तै प्रदेश सभाको लागि क्षेत्र नम्वर २ को प्रत्यक्ष र समानुपातिक उम्मेदवार छनोट गर्न नसकेको जनाइएको छ । आकाक्षी धेरै भएकोले मिलाउनको छलफल अघि बढेको सचिव न्यौपानले जनाए । यता नेकपा माओवादी केन्द्रले प्रदेशसभाको लागि क्षेत्र नम्वर दुईमा पूर्णप्रसाद धिताल बाहेक अघि बढ्न सकेको छैन । प्रचण्डले आमसभामै टिकट दिएपछि धिताल पक्का भए पनि समानुपातिक उम्मेदवारको टुंगो लगाएको छैन । क्षेत्र नम्वर दुईमा वीरबहादुर कँुवर र नरेश भण्डारीको दाबी रहेकोमा अहिलेसम्म टुंगो लागेको छैन । प्रतिनिधिसभाका लागि गजेन्द्रबहादुर महतको चर्चा छ ।नगरिक न्युज बाट साभार गरिए को

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?