प्रहरीकै मिलेमतोमा पर्साबाट भारत तस्करी गरिन्छ डिजेल र पेट्रोल
सारांश
- पर्साको ग्रामिण क्षेत्रका नाका हुँदै व्यापक मात्रामा डिजल र पेट्रोल भारततर्फ तस्करी भइरहेको छ ।
- नेपाली बजारमा भारतीय बजारमा भन्दा सस्तोमा डिजल पेट्रोल पाउन थालेपछि डिजल र पेट्रोल भारततर्फ तस्करी भएको हो ।
- तस्करीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत मिलेमतो रहने गरको स्थानीय बासिन्दाले बताए ।
पर्साको ग्रामिण क्षेत्रका नाका हुँदै व्यापक मात्रामा डिजल र पेट्रोल भारततर्फ तस्करी भइरहेको छ । नेपाली बजारमा भारतीय बजारमा भन्दा सस्तोमा डिजल पेट्रोल पाउन थालेपछि डिजल र पेट्रोल भारततर्फ तस्करी भएको हो । तस्करीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको समेत मिलेमतो रहने गरको स्थानीय बासिन्दाले बताए । पर्साको भिश्वा, जानकीटोला, बुडगाई, टिहुकी, पाण्डेपुर, पिपडारी, सबैठवा, बलुवा, अमरपट्टी, धोरे, प्रसौनीभाठा नाका हुँदै भारतीय सीमावर्ती बजारमा डिजल पेट्रोलको तस्करी भइरहेको छ । पर्साको ग्रामिण क्षेत्रमा रहेका आयल स्टोर्सहरुले डिजल पेट्रोल सकिएको भन्दै सर्वसाधरणलाई डिजल पेट्रोल नदिने तर तस्करहरुलाई भने ग्यालेन का ग्यालेन उपलब्ध गराइरहेको स्थानीइ बासिन्दाको गुनासो छ ।
आफू पटक– पटक जाँदा पनि लंगडी स्थित समानी आयल स्टोर्समा पेट्रोल नपाएको गुनासो जयमंगलापुरका दिपेन्द्र गिरीले गरे । ‘ म पटक पटक गएँ, तेल छैन भनेर फिर्ता पठाए । ’ उनले भने ‘ तर टिहुकी र बुडगाँईबाट दैनिक एकहजार लिटर भन्दा बढी तेल भारततर्फ तस्करी भइरहेको छ । दिउँसै पनि ओसारिरहेको कुराले पम्प, प्रहरी र तस्करको मिलेमतोमा तस्करी भएको बुझिन्छ । ’
समानी आयल लंगडी, पोखरीयाको इस्लाम आयल स्टोर्सले डिजल पेट्रोल नभएको भन्दै सर्वसाधरणहरुलाई त्यसै फर्काउने गरेका छन् । स्थानीय प्रहरी चौकी, सशस्त्र प्रहरी बोर्डर आउटका सशस्त्र प्रहरीहरुको मिलेमतोमा रातमा मात्र नभएर दिनमै समेत पेट्रोल डिजलको तस्करी हुने गरेको छ । नेपालमा ९७ रुपैयाँमा पाइने पेट्रोल भारतीय शहरहरुमा ७२ रुपैयाँ भारु अर्थात नेपाली १ सय १२ रुपैयाँमा बिक्रि भइरहेको छ । लिटरमा १५ रुपैयाँ बच्ने भएका कारण तस्करहरुले साइकल र मोटरसाइकलमा एकै व्यक्तिले दुई तीन वटा जर्किनमा भरेर लैजाने गरेका छन् ।
प्रतिक्रिया