प्रहरी इन्काउन्टरमा मारिए गुण्डा नाइके मनोज पुन र आले
सारांश
- काठमाडौं, ९ फागुन – गुन्डा नाइके मानिएका मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्।
- आज बिहान साढे ३ बजे रुपन्देही देवदह ४ भवानीपुरमामा प्रहरीको इन्काउन्टरमा उनी मारिएका हुन्।
- रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार पुनसँगै रहेका मुख्य सहयोगी सोमबहादुर आले पनि मारिएका छन् ।
काठमाडौं, ९ फागुन – गुन्डा नाइके मानिएका मनोज पुन प्रहरी इन्काउन्टरमा मारिएका छन्। आज बिहान साढे ३ बजे रुपन्देही देवदह ४ भवानीपुरमामा प्रहरीको इन्काउन्टरमा उनी मारिएका हुन्।
रुपन्देही प्रहरी प्रमुख श्याम ज्ञवालीका अनुसार पुनसँगै रहेका मुख्य सहयोगी सोमबहादुर आले पनि मारिएका छन् ।
भवानीपुरमा इन्काउन्टरमा परी गम्भीर घाइते भएका पुन र आलेको बिहान साढे ४ बजे लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीसँग जम्काभेट हुँदा आक्रमण गरी भाग्न खोज्ने क्रममा उनी मारिएको प्रहरी प्रमुख ज्ञवालीले जानकारी दिए । दुबै जनाको शव लुम्बिनी अञ्चल अस्पतालमा राखिएको छ। पुनले रुपन्देहीको देवदेह क्षेत्रमा गिटीबालुवा र काठको तस्करी गर्दै आएका थिए ।
रुपन्देही प्रहरी र सिआइबीको संयुक्त टोलीको कारबाहीमा उनी मारिएका हुन्। पुन युवा संघ रुपन्देहीका तत्कालीन जिल्ला अध्यक्ष दुर्गा तिवारी र संघका नेता तथा युवा व्यवसायी बलु पौडेलका हत्याका मुख्य फरार अभियुक्त हुन् ।
निर्माण व्यवसायी संघका अध्यक्ष सरद गौचनको हत्यामा समेत संलग्न मनोज पुनले थुप्रै व्यवसायीसंग ज्यानमार्ने धम्की दिदै करोडौ रकम उठाएका थिए ।
को हुन् पुन ?
रुपन्देही देवदह, खैरेनीका २९ वर्षीय पुनको आपराधिक यात्रा ०६२/६३ को परिवर्तनपछि शुरु भएको हो । उनलाई नजिकबाट नियालिरहेका रुपन्देहीका एक प्रहरी अधिकारीका अनुसार उनले ०६४ सालपछि जिल्लामा हुने ठेक्कापट्टा क्षेत्रमा हस्तक्षेप गर्न थालेका थिए ।
युवाको समूह बनाएर उनी जिल्लामा हुने ढुंगा, गिटी, बालुवालगायत ठेक्कापट्टामा आफ्नो भाग खोज्न थाले । र, विस्तारै ठेक्कापट्टामा व्यवसायीहरुसँग साझेदारीसमेत गर्न थाले ।
त्यसैक्रममा उनको लालच यति बढ्यो कि उनी अन्य व्यवसायीसँग कमिशन समेत माग्न थाले । र, आफूले भने अनुरुपको कमिसन नपाए अपहरण, धम्की र गोली आतंक मच्चाउन थाले ।
माओवादीको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को बिगबिगी रहेका बेला उनी राजनीतिक शरण लिन त्यतै प्रवेश गरेका थिए । वाईसीएलको आवरणमा उनलाई गुण्डागर्दीलाई बढाउन अझ सहज भयो ।
पछि उनी एमाले निकट युथ फोर्सतिर लागे । त्यसबेला पुन युथ फोर्सको रुपन्देही निर्वाचन क्षेत्र नम्बर १ को कोषाध्यक्षसमेत बने । युथ फोर्सको आडमा उनको गुण्डाराज अझ झांगियो ।
विभिन्न राजनीतिक दलमा लाग्नुको उनको मुख्य उद्देश्य भनेको कमिसन असुली र राजनीतिक संरक्षण नै हुने गरेको त्यहाँका एक व्यवसायी बताउँछन् । युथ फोर्समा रहँदा पनि पुनले फिरौती असुली र गुण्डागर्दी गर्ने क्रम जारी राखेपछि उनलाई निस्कासन गरिएको थियो ।
त्यसका लागि दुर्गा तिवारीले मुख्य भूमिका निर्वाह गरेको पुनको बुझाइ रहेको बताइन्छ । जसको प्रतिशोध स्वरुप दुर्गा तिवारीको पुनले हत्या गरेको प्रहरीको ठम्याइ छ ।
म्याग्दी पुर्ख्यौली घर भएका पुनका बुवा अवकास प्राप्त भारतीय सेना हुन् । उनका एक जना दाजु र दुई दिदीबहिनी छन् । देवदहको खैरेनी चोक छेउ उनको एकतले घर छ ।
उनकी दिदी माया बेलायतमा बस्छिन् भने बहिनी ममता देवदह मेडिकल कलेजमा नर्सिङ विषय अध्ययन गर्दैछिन् । मनोजको एक जना छोरीसमेत छिन् । स्थानीय केरवानी माविबाट एसएलसीसम्म अध्ययन गरेका छन्, पुनले ।
भारतीय अन्डरवर्ल्डसँग कनेक्सन
गुण्डा नाइके पुनको भारतीय आपराधिक सञ्जालसँग समेत ‘कनेक्सन’ रहेको खुलेको थियो ।
तिवारी हत्यापछि प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका पुनले त्यसयता नै भारतीय आपराधिक सञ्जालसँग सम्बन्ध विस्तार गरेका थिए । र, भारतमा लुकीछिपी बस्ने क्रममा बनेको सम्बन्ध हो त्यो ।
त्यसक्रममा दिल्लीको सुल्तानपुरीका गुण्डा नाइके जोगा भनिने जोगिन्दर सिंहसँग उनले सम्बन्ध मजबुत बनाएका थिए । जोगाले निश्चित रकम लिएर नेपालमा हतियार बिक्री गर्दै आएको स्रोतको भनाइ छ ।
‘जोगासँग पुनको निकटको सम्बन्ध हो । त्यो समूहले उसलाई ‘हाई–प्रोटेक्सन’ दिएर राखेको चाहीँ होइन,’ अनुसन्धानमा संलग्न एक अधिकारीले अनलाइनखबरलाई भने, ‘तर, ऊ जोगा समूहसँग ‘किप इन टच’मा थियो ।’
जोगा मुम्बई अन्डरवर्ल्डका डन सन्तोष सेट्टी समूहका विश्वास पात्र हुन् । र, सेट्टी कहिले दाउद इब्राहिम (डी–कम्पनी) त कहिले छोटा राजन समूहसँग निकट रहँदै अहिले आफ्नै ग्याङ तयार पारेर आपराधिक क्रियाकलापमा संलग्न छन् ।
पुन पछिल्लो समय डी–कम्पनीसँग नजिक पुगेको शंका थियो । तथापि, उक्त सम्बन्धको जरो खोतल्न प्रहरी असफल देखिएको छ । र, पुन इन्काउन्टरमा मारिएसँगै त्यो पनि रहस्यकै गर्भमा सीमित भएको छ ।
दिल्लीबाट हतियार ओसारपसारमा संलग्न जोगा भनिने जोगिन्दर सिंह र सन्तोष सेट्टी समूहमार्फत् मनोज पुनले मुम्बई अन्डरवर्ल्डसँग सम्बन्ध बनाएको प्रहरी अधिकारीहरु बताउँछन् ।
केही प्रहरी अधिकारी भन्छन्, ‘पुनले राम्रो सम्बन्ध बनाएको जोगिन्दर सिंह मुम्बईका डन सन्तोष सेट्टीबाट परिचालित छन् । र, सेट्टीको डीकम्पनीसँग सम्बन्ध छ । उनी दाउद इब्राहिमसँग निकट छन् । त्यसैले पुनको पनि डी–कम्पनीसँग सम्बन्ध हुन सक्ने बताइन्थ्यो ।’
तिवारी हत्या अगावै भारतमा बस्थे पुन
तिवारीको हत्या भएको करिब २२ दिनपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोली पुनलाई खोज्दै भारतको गोवासम्म पुगेको थियो । भारतीय प्रहरीको सहयोगमा पुनको मोबाइल लोकेसन ट्रेस गर्दै टोली त्यहाँसम्म पुगेको हो ।
गोवाको मर्दिम भन्ने स्थानमा उनी भाडामा बस्दै आएका थिए । प्रहरी स्रोतका अनुसार तिवारीको हत्या हुनु दुई वर्ष अघिदेखि पुन त्यहीँ बस्थे । र, दुई पटक डेरा सरेर तेस्रोमा पुगेका थिए ।
जब प्रहरी गोवा पुगेर पुनको डेरामा ‘रेड’ हान्यो, तब पत्ता लाग्यो उनी दिल्ली पुगिसकेका रहेछन् । भारतीय प्रहरीले ट्रेस गरेको कल डिटेलअनुसार पुनको मोबाइल ४/५ दिनसम्म दिल्लीमा ‘अन’ देखिएको थियो । त्यसपछि उनी ‘आउट अफ रिच’ भएका थिए । र, प्रहरी टोली खाली हात फर्किनु परेको थियो ।
त्यसयता सीआईबीको विभिन्न टोली पुनको खोजीमा भारतमै थियो ।
Resham Bhadur Simkhada
Ramro galti garnelai xut hunuhudaina mirtu dinaipr6
Unique Paudel
सत्य खबर हो भने राम्रो लाग्यो। नचाइने काम गर्ने पृथिवी को भारलाइ पठाउनु नै राम्रो।
Bhavishwor Pandey
Punko pani amabuba pariwar holan dukha abassya laga x taraunalegareka kam le gardan police lai salam.
सरन लामा
Gunda jati marnunai prxa
Shambhu Shah
राम्राे काम यस्ता कलंक लाई ठीकै हाे