बकर इद पर्व मनाइँदै, आज सार्वजनिक बिदा

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३, २०८१
|
|
२१ पटक हेरिएको
Shares
बकर इद पर्व मनाइँदै, आज सार्वजनिक बिदा

सारांश

  • काठमाडौं।
  • मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ।
  • इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ।

काठमाडौं। मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एक आपसमा अंकमाल गर्दै शुभकामना आदानप्रदान गर्ने गरिन्छ।

यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भिड लाग्ने गर्दछ। अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको मुस्लिम धर्मगुरुहरू बताउँछन्।

यस पर्वमा अल्लाहलाई खुसी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बलि) दिने गर्दछन्। कुर्बानीको मासु तीन भागमा बाँडी वितरण गरिन्छ। एक भाग गरिब एवं विपन्न परिवारलाई, एक भाग आफ्ना इष्टमित्रलाई र अर्को भाग आफूले खानुपर्ने धार्मिक मान्यता छ। हरेक मुस्लिमहरूका लागि जीवनमा एकपल्ट साउदी अरबको मक्कामा हज तीर्थयात्रा गर्न जरुरी मानिन्छ यसका लागि एउटा निश्चित समय तय गरिएको हुन्छ। आजबाट मक्कामा जाने हज तीर्थयात्राको यस वर्षका लागि औपचारिक समापन हुने गर्दछ।

इद पर्वको अवसरमा नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । ‘इस्लाम धर्मालम्बीहरूको पर्व बकर इद वि.सं २०८१ साल असार ३ गते आइबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टरार्ईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

मुस्लिम धर्मावलम्बीको पर्व बकर इदका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न दलका नेताहरूले शुभकामना व्यक्त गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?