बहस : प्रदेश ३ को राजधानी कहाँ ?

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
बहस : प्रदेश ३ को राजधानी कहाँ ?

सारांश

  • काठमाडौं : सरकारले प्रदेश राजधानी तोक्न नसक्दा बहस पेचिलो बन्दै गएको छ।
  • चिया पसलदेखि उच्च राजनीतिक नेतृत्व प्रदेश राजधानीको बहसमा जुटेका छन्।
  • नेताले आफ्नो राजनीतिक स्वार्थ केन्द्रमा राखेर विभिन्न सहरको नाम चर्चामा ल्याएका छन्।

काठमाडौं : सरकारले प्रदेश राजधानी तोक्न नसक्दा बहस पेचिलो बन्दै गएको छ। चिया पसलदेखि उच्च राजनीतिक नेतृत्व प्रदेश राजधानीको बहसमा जुटेका छन्। नेताले आफ्नो राजनीतिक स्वार्थ केन्द्रमा राखेर विभिन्न सहरको नाम चर्चामा ल्याएका छन्।

देशकै राजधानी समेटिएको प्रदेश ३ को राजधानी कहाँ ? प्रश्न अनुत्तरित छ। प्रदेश राजधानीको बहस पेचिलो बन्दै गर्दा सरकारले राजधानी तोक्ने गरी सम्भाव्यता अध्ययन सुरु गरेको छ। प्रदेश ३ को राजधानीका लागि अहिले काठमाडौं, भक्तपुर, बनेपा, ललितपुर, हेटौंडा चर्चामा छन्। प्रदेश ३ को राजधानी कहाँ ? फरकफरक विचार आएका छन्। प्रदेश राजधानीबारे अष्टलक्ष्मी शाक्य, रत्नप्रसाद ढकाल, महेश बस्नेत र डोरमणि पौडेलको विचार :

प्रदेश राजधानीमा विवाद नगरौँ : अष्टलक्ष्मी शाक्य

एमाले उपाध्यक्षसमेत रहेकी अष्टलक्ष्मी शाक्यको नाम प्रदेश नम्बर ३ को मुख्यमन्त्रीको रुपमा चर्चामा छ। काठमाडौं क्षेत्र नम्बर ८ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य शाक्य प्रदेश राजधानी सबैको चासो भए पनि विवाद गर्नु नहुने धारणा राख्छिन्।

‘राजधानी कहाँ राख्ने भन्ने चासो सबैको छ, हुनु पनि पर्छ। आ-आफ्नै माग पनि छन्’, शाक्य भन्छिन्, ‘प्रदेश ३ मा १३ जिल्ला छन्। सबै जिल्लालाई अनुकुल हुनेगरी केन्द्र तोक्नुपर्छ।’

सबैलाई अनुकुल हुनेगरी प्रदेश राजधानी तोक्न सकिने भए पनि काठमाडौं केन्द्रीय राजधानी भएकाले यहाँ राख्न नहुने शाक्यको तर्क छ। सुरुमा पूर्वाधार हेरेर अस्थायी राजधानी तोक्नुपर्ने र पछि प्रदेसभामा बहस गरेर राजधानी बनाउनुपर्ने उनको भनाइ छ।

‘प्रदेश राजधानीका लागि पूर्वाधार पनि हुनुपर्छ। अहिले अस्थायी तोक्न सकिएला तर, यसको पूर्ण निर्णयको अधिकार प्रदेश सभामा हुने भएकाले प्रदेश सभालाई निर्णय गर्न दिनुपर्छ ’, शाक्य भन्छिन्, ‘प्रदेश राजधानीका रुपमा चितवन, मकवानपुर, काभ्रे, बनेपा, भक्तपुर, ललितपुरको नाम चर्चामा सुन्छु। जति चर्चा भए पनि मलाई अहिले पूर्वाधारको हिसाबले भक्तपुर उपयुक्त लाग्छ। सरकारले पनि भक्तपुरलाई नै अस्थायी राजधानी बनाउने पहल थालेको छ।’

प्रदेश राजधानीका नाममा विवाद नगरी प्रशासनिक दृष्टिले उपयुक्त स्थानमा राख्नुपर्ने उनको भनाइ छ। ‘समानुपातिकको नतिजा सार्वजनिक भएपछि प्रदेशसभाको प्रक्रिया अगाडि बढ्छ। अन्य सहरलाई औद्योगिक, पर्यटकीयलगायत दृष्टिकोणबाट विकास गरेर भक्तपुरलाई तत्काल राजधानी तोक्नु राम्रो होला भन्ने लाग्छ। थप निर्णय त प्रदेशसभाले आफैँ गर्छ।’

उपत्यका ठीक छैन, काभ्रे उचित विकल्प : रत्न ढकाल

माओवादी केन्द्रका युवा नेता एवम् अखिल क्रान्तिकारीका पूर्व अध्यक्ष रत्नप्रसाद ढकाल प्रदेश ३ को राजधानी काभ्रेलाई बनाउनुपर्ने तर्क राख्छन्। काभ्रेपलान्चोक निर्वाचन क्षेत्र १ (क) का प्रदेशसभा सदस्य ढकाल देशको राजधानी भएकाले उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) मा प्रदेश ३ को राजधानी राख्नु उपयुक्त नहुने बताउँछन्। संघीयता भनेकै केन्द्रको सुविधा वितरण गर्ने संरचना भएकाले प्रदेश ३ को राजधानी काभ्रे हुनुपर्ने दाबी उनको छ।

‘काठमाडौं भक्तपुर, ललितपुर उपयुक्त हुनै सक्दैन। उपत्यका भनेको देशको राजधानी हो। सबैभन्दा उपयुक्त काभ्रे हो। राजधानीबाट नजिक भएर पनि पछाडि परेको छ, राजधानी तोकेर काभ्रेको विकास गर्न सकिन्छ’, ढकाल भन्छन्, ‘भौगोलिक हिसाबले पनि उपत्यकाबाहेक काभ्रे नै उपयुक्त छ। उपत्यकामै प्रदेश राजधानी बनाउनु भनेको एकात्मक प्रणालीलाई स्वीकार गर्नु हो। काभ्रे राजधानी हुँदा बीपी राजमार्गलाई प्रयोग गरेर उपत्यका नपसी प्रदेश राजधानीमा पुग्न सक्ने अवस्था छ, प्रदेश ३ का दुई तीन जिल्लाका लागि काभ्रे टाढा भए पनि अधिकांश जिल्लाका लागि उपयुक्त छ।’

नेता ढकाल व्यवस्थापकीय हिसाबले समेत काभ्रे सक्षम भएको दाबी गर्छन्। ‘राजधानीका लागि साधन स्रोत जुटाउन काभ्रे तयार छ। सरकारलाई प्रस्ताव पनि पठाएका छौँ’, ढकालले भने। काभ्रेमा राजधानी भए शैक्षिक तालिम केन्द्र र बनेपाको आईटी पार्कजस्ता क्षेत्रको उपयोग गर्न सकिने धारणा उनको छ।
भक्तपुरको विकल्प छैन : महेश बस्नेत

एमाले युवा नेता तथा भक्तपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत प्रदेश ३ को राजधानी भक्तपुर नै बनाउनुपर्ने अडानमा छन्। प्रदेश ३ को राजधानी भक्तपुरबाहेक अन्य क्षेत्र उपयुक्त नभएको उनको तर्क छ।

‘प्रदेश ३ को राजधानी भक्तपुर उपयुक्त छ। भक्तपुरबाहेक बाहिर जहाँ लगे पनि कोल्टे पर्छ। काभ्रे बनाउँदा हेटौंडालाई कोल्टेपर्छ, हेटौंडा बनाउँदा सिन्धुपाल्चोक, नुवाकोटलाई कोल्टेपर्छ’, बस्नेत भन्छन्, ‘राजधानी भनेको जनताको पहुँच सेवा र सुविधा पुग्ने ठाउँमा राख्नुपर्छ।’ बस्नेत हेटौंडालाई त्यहाँको विशेषतामा आधारित औद्योगिक सहर बनाउन सकिने धारणा राख्छन्।

बस्नेतले भक्तपुरलाई राजधानी बनाउँदा कार्यालय व्यवस्थापनको विकल्प समेत दिएका छन्। ‘भक्तपुर शिक्षा अफिसलाई मुख्यमन्त्रीको कार्यालय, कृषि विकास तालिम केन्द्र सानोठिमी मन्त्रालय, बोडेमा प्रदेशसभा, खरिपाटीको तालिम केन्द्र अन्य मन्त्रालय राख्न सकिन्छ’, पूर्वाधार व्यवस्थापनको विकल्प दिँदै बस्नेतले भने, ‘नगरकोट खानेपानी अफिसलाई गभर्नरको कार्यालय बनाएर व्यवस्थापन गर्न सकिन्छ।’

भक्तपुरमा अधिकांश क्षेत्र खाली भएकाले आधुनिक सहर बनाउन सकिने तर्क बस्नेतको छ। ‘सल्लाघारीमा ९९ सय रोपनी, जगातीमा दुई सय ५० रोपनी, गठ्ठाघरमा रहेको हवाई विभागको चार सय रोपनी जग्गालाई उपयोग गर्न सकिन्छ’, बस्नेत थप्छन्, ‘चाँगुनारायण र सूर्यविनायक नगरपालिकाको अधिकांश क्षेत्र खाली छ। यी सबै क्षेत्र समेटेर आधुनिक सहर बनाउन सकिन्छ।’

उपत्यका बाहिर लानुपर्छ : रोरमणि पौडेल

मवानपुर क्षेत्र नम्बर १ (ख) का प्रदेश सांसद सदस्य डोरमणि पौडेल भने प्रदेश ३ को राजधानी उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर) बाट बाहिर लानुपर्ने धारणा राख्छन्। ‘प्रदेश ३ को राजधानी काठमाडौं उपत्यका बाहिर हुनुपर्छ। एउटा विकासोन्मुख मान्छेको भनाइ विकेन्द्रिकरण हुनुपर्छ भन्ने हुन्छ। काठमाडौंको चाप घटाउन नसकिरहेको अवस्था छ। त्यो भीडभाडमाथि राजधानी बनाएर अर्को भीड थप्नु हुँदैन’, पौडेल भन्छन्, ‘काठमाडौं बाहिर सिन्धुपाल्चोक वा काभ्रेमा लगे पनि मलाई आपत्ति छैन। तर, जहाँ लगे पनि त्यहाँ प्रदेश राजधानी हुन न्यूनतम पूर्वाधार हुनुपर्छ।’

प्रदेश ३ को राजधानीका लागि उपयुक्त सहर हेटौंडा र चितवन हुनसक्ने पौडेलको भनाइ छ। तत्कालका लागि हेटौंडामा राजधानी बनाएर अगाडि बढ्न सक्ने थुप्रै आधार भएको उनले बताए। त्यो चित्त नबुझे प्रदेशसभाले दुईतिहाइबाट निर्णय गर्न सकिने उनको तर्क छ।

‘अस्थायी राजधानीका निम्ति हेटौंडालाई उपयोग गर्न सकिन्छ। त्यो नभए चितवन हुनसक्छ। त्यो पनि अन्य सहर भन्दा राम्रो छ। हेटौंडाको कुरा गर्नुहुन्छ भने यहाँ राम्रो र आधुनिक सहर बनाउन सकिने जमिन छ। आधुनिक सहर बनाउन सक्ने आधार छन्’, पौडेल भन्छन्, ‘हामीसँग धेरै राजमार्ग जोडिएका छन्, धरान–चतरा, कान्ति राजमार्ग मात्र होइन, काठमाडौंलाई जोड्ने मात्र चारवटा राजमार्ग छन्।’

प्रदेश ३ को रुपमा चर्चामा रहेको भक्तपुरबारे भने पौडेलले कडा टिप्पणी गरे। ‘भक्तपुर र काठमाडौं एउटै हो। भक्तपुर आफैंमा हेटौंडा उपमहानगरपालिकाको एउटा वडा जत्रो मात्र छ’, पौडेल भन्छन्, ‘त्यही वडा जत्रो क्षेत्रफलमा सिंगो जिल्ला छ। काठमाडौंसँग जोडिएकाले भक्तपुरलाई फरक ढंगले हेर्नै हुँदैन।’अन्नपूर्ण पोस्ट बाट

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Krishna Basnet

    म सि पा को बासिनदा हु काभरे रअनय जिलला भनदा भकतपुर उचित हुनछ

    Comment Author

    Anil Thapa

    Kavre

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?