बामदेवको आक्रोश ! छ त पार्टी नै फुटाउने संभावना ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष ४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
बामदेवको आक्रोश ! छ त  पार्टी नै फुटाउने संभावना ?

सारांश

  • काठमाडौं।
  • दुई कम्युनिष्ट पार्टीबीच गठबन्धन गरेर चुनाव लड्दासमेत पराजित भएपछि तत्कालीन नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम जसरी पनि सांसद हुने योजनामा लागे।
  •   बामदेवलाई सांसद बनाउन काठमाडौं निर्वाचन क्षेत्रबाट निर्वाचित भएका सांसद रामबीर मानन्धले राजीनामा नै दिएका थिए।

काठमाडौं। दुई कम्युनिष्ट पार्टीबीच गठबन्धन गरेर चुनाव लड्दासमेत पराजित भएपछि तत्कालीन नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम जसरी पनि सांसद हुने योजनामा लागे।  बामदेवलाई सांसद बनाउन काठमाडौं निर्वाचन क्षेत्रबाट निर्वाचित भएका सांसद रामबीर मानन्धले राजीनामा नै दिएका थिए। तर चौतर्फी आलोचनापछि मानन्धरको राजीनामा स्वीकृत भएन र बामदेव गौतमको सांसद बन्ने रहरमाथि ब्रेक लाग्यो। एमालेको नवौं महाधिवेशनमा केपी ओलीलाई अध्यक्ष बनाउन बामदेव गौतमले ठूलो भूमिका खेलेका थिए। त्यो बेला बामदेवले जसलाई समर्थन गर्थे त्यही व्यक्ति अध्यक्ष हुने पक्का थियो। बामदेवले केपी ओलीलाई समर्थन गरेर ओली अध्यक्ष पनि भए। नवौं महाधिवेशनदेखि निरन्तर ओलीलाई साथ दिँदै आएका बामदेव पछिल्लो समय भने ओली देखि रुष्ट छन्। ओलीकै कारण आफू सांसद बन्न नसकेको बामदेवले बुझेका छन्।

एमाले र माओवादी केन्द्रबीच चुनावी तालमेल भएर चुनाव लड्दासमेत आफू पराजित भएपछि बामदेवले अन्र्तघातका कारण चुनाव हार्नु परेको बताउँदै आएका छन्। अहिले एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर बनेको नेकपाका अर्का अध्यक्ष प्रचण्ड बामदेवलाई सांसद बनाउन सकारात्मक भएपनि ओलीकै कारण प्रचण्ड ब्याक भएका छन्। यो कुरा बामदेवले बुझेका छन् र अहिले ओलीको चर्को आलोचकसमेत बनेका छन्। नेकपाको जारी स्थायी कमिटी बैठकसमेत गौतमले फरक दस्तावेज पेश गरेका छन्। उनले एक व्यक्ति एक पदको अवधारणा अघि सारेका छन्। यो उनले ओलीप्रति नै लक्षित गरेका छन्। अहिले ओली पार्टी अध्यक्षसहित प्रधानमन्त्रीसमेत छन्। गौतमको प्रस्तावप्रति कटाक्ष गर्दै ओलीले संविधानमा व्यवस्था भए दुवै जना प्रधानमन्त्री पनि बन्थ्यौं भन्ने व्यंग्य गरेका छन् भने गौतमले दुई तिहाइको सरकारले संविधान संशोधन गरे भइहाल्यो नी भन्ने जवाफ दिएका छन्।

त्यसो त बामदेव गौतम हठी र आफूलाई लागेको कुरा गर्न सक्ने नेता पनि हुन्। यिनै बामदेवले तत्कालीन एमालेलाई विभाजित गरी नेकपा माले गठन गरेका थिए। महाकाली सन्धिका बेला पार्टीले लिएको नीति गलत भन्दै उनले पार्टी नै विभाजन गरेका थिए। साहना प्रधान र सिपी मैनालीलाई अघि सारेर बामदेवले एमाले विभाजन गराएका थिए।  तर अहिले परिस्थिति फरक छ। गौतम उमेर पनि ७० पुगेका छन्। अर्को कुरा के हो भन गौतमको अहिले पार्टी नेतृत्वप्रति कुनै सैद्धान्तिक विमति भन्दा पनि आफू सांसद बन्न नपाएको झोंकमा मात्रै नेतृत्वको आलोचना गरेका हुन्। अहिले नेकपाभित्र गौतमको कुनै शक्तिशाली गुट छैन बरु उनी आफैं माधव नेपालको गुटमा समावेश भएका छन्। यस्तो अवस्थामा बामदेवले पार्टी नै फुटाउने संभावना भने देखिँदैन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?