बिपी राजमार्ग : अस्थायी ‘ट्रयाक’ खुल्यो, शनिबारदेखि सवारी आवतजावत

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन २४, २०८२
|
|
५३ पटक हेरिएको
Shares
बिपी राजमार्ग : अस्थायी ‘ट्रयाक’ खुल्यो, शनिबारदेखि सवारी आवतजावत

सारांश

  • काभ्रेपलाञ्चोक।
  • गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्गमा ‘ट्रयाक’ खुलेको छ।
  • भोलि शनिबार बिहानैदेखि सवारीसाधान सञ्चालनमा ल्याउने गरी रातको समयमा कामलाई निरन्तराता दिइएपछि राजमार्ग पूर्णरूपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।
काभ्रेपलाञ्चोक। गत साताको बाढीले क्षतिग्रस्त बिपी राजमार्गको विभिन्न खण्डमा अस्थायी सडक बनाउने कार्यलाई तीव्रता दिइएसँगै १९ स्थानमा ‘डाइभर्सन’ बनाएर अवरुद्ध राजमार्गमा ‘ट्रयाक’ खुलेको छ।
भोलि शनिबार बिहानैदेखि सवारीसाधान सञ्चालनमा ल्याउने गरी रातको समयमा कामलाई निरन्तराता दिइएपछि राजमार्ग पूर्णरूपमा खुलाउन सम्भव भएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। शुक्रबार बिहानसम्म राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ स्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको चिउरीबाससम्म ‘ट्रयाक’ खोली सकिएको र बाँकी दिउँसो मङ्गलटारको माम्तीमा ट्रयाक खोलेपछि अवरुद्ध राजमार्गमा सवारी खुलाइन सहज भएको हो।
कार्यालयले उक्त राजमार्गको काभ्रेपलाञ्चोक खण्डमा १६ र सिन्धुली खण्डमा तीन स्थानमा डाइभर्सन निर्माण सम्पन्न गरी शुक्रबार अपराह्नमा ट्रयाक खुलाएको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले राजमार्गको चौकीडाँडा, कटुन्जे-घुमाउने, चारसयबेँशी, गिम्दीबेँशी, नार्के, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेँशी, तथा पिप्लेको चार स्थान, माम्तीको दुई स्थानमा डाइभर्सन निर्माण सम्पन्न भएको बताए। उनका अनुसार ट्रयाक खुलाइए पूर्णरूपमा यातायात सञ्चालन भने शनिबार बिहानदेखि गरिनेछ।
राजमार्गको काभ्रेपलाञ्चोकको सडकखण्डमा खोला फर्काएर ‘डाइभर्सन’ निर्माण भएको हो । “ट्रयाक खोलीसकेका छौँ, खुलेको सडकको अवस्था हेरेर केही गाडीद्वारा परीक्षण गर्दैछौँँ, शनिबार बिहानदेखि पूर्णरूपमा राजमार्ग सञ्चालनमा ल्याइनेछ”, योगेशले भने। रोशी खोलाको बाढीले रोशी क्षेत्रमा करिब चार किलोमिटर सडक कटान गरेको थियो। मङ्गलबारदेखि औपचारिक रूपमा डाइभर्सन निर्माण थालिएको हो।
योगेशले बिहीबार दिउँसोदेखि रातको समयमा करिब दुई दर्जन मेसिनद्वारा अस्थायी सडक निर्माण गरिररहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै ट्रयाक खोलीसेपछि बनेको सडकका घुम्ती र साँघुरा स्थानमा थप मर्मत गर्नुपर्ने देखिन्छ, आजसमम्म नभए राति भए पनि अस्थायी रूपमा बनाइएको सबै सडक क्लिएर गरी सक्नेछौं।”
बाढीपहिरोले राजमार्गको १७ स्थानमा क्षति पुर्याएको थियो । सोही क्षेत्रमा गतसालको बाढीपहिरोले सडक क्षतिग्रस्त बनाएपछि डाइभर्सन बनाएर अस्थायी रुपमा सडक सञ्चालन हुँदै आएको थियो । बिहीबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले क्षतिग्रस्त उक्त राजमार्गको विभिन्न खण्डको अवलोकन गरी छिटोभन्दा छिटो राजमार्ग सञ्चालन गर्नेगरी बनाइरहेको ‘डाइभर्सन’ निर्माण कार्यलाई तीव्र बनाउन सडक विभागका अधिकारीलाई निर्देशन दिएका थिए। घिसिङले रातको समयमा काम गरेर भए पनि शुक्रबार बेलुकासम्ममा यातायात सञ्चालन हुने गरी कामलाई तीव्रता दिन भनेका थिए।
पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत हुने गर्छन् । कार्यालयले क्षतिग्रस्त राजमार्ग स्थायी निर्माणका लागि चार खण्डमा ठेक्काको प्रक्रियामा अघि बढाइरहेको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?