बोक्सी भन्दै किशोरीलाई नारी दिवसकै दिन कुटे

Shikharkhabar Shikharkhabar
|
शनिबार, फाल्गुन २६, २०७४
|
|
२० पटक हेरिएको
Shares
बोक्सी भन्दै किशोरीलाई नारी दिवसकै दिन कुटे

सारांश

  • काठमाडौं, २६ फागुन- म राधा चौधरी, १८ वर्षकी भएँ ।
  • कैलाली जिल्ला, घोडाघडी नगरपालिका, वडा ५, देउकलियामा मेरो घर छ ।
  • घरको नाममा छाप्रो छ, त्यत्ति हो हाम्रो सम्पत्ति ।

काठमाडौं, २६ फागुन- म राधा चौधरी, १८ वर्षकी भएँ । कैलाली जिल्ला, घोडाघडी नगरपालिका, वडा ५, देउकलियामा मेरो घर छ । घरको नाममा छाप्रो छ, त्यत्ति हो हाम्रो सम्पत्ति । सिजनमा बुबा अरूको खेत जोत्न जानुहुन्छ, अरू वेला इन्डिया गएर दुई–चार हजार लिएर आउनुहुन्छ । यसैगरी हाम्रो गुजारा चलेको छ । आजको नयाँ पत्रिका दैनिकमा तेजराज भट्टले खबर लेखेका छन् ।

मेरो दाइ पनि छ, तर सुस्त मनस्थिति भएकाले बुबालाई ‘सपोर्ट’ गर्न सक्दैन । बहिनी पनि बिरामीजस्ती छ, भाइ सानो छ । त्यसैले बाआमालाई धेरै दुःख छ । तैपनि मलाई पढाउन खोज्नुभएको छ । गाउँकै राष्ट्रिय उमाविमा कक्षा ११ मा पढ्छु । राजनीतिशास्त्रकी विद्यार्थी हुँ ।

बिहीबार नारी दिवस, स्कुल छुट्टी थियो । त्यसैले बिहान गोठमा गएकी थिएँ । दुईवटा बल्ल (गोरु) छन्, गोबर फालेर ७ बजेतिर घर फर्कन थालेकी थिएँ, तीन–चारजना केटी हुत्तिदै आएँ ।

ती केटीहरू पनि हाम्रै स्कुलमा पढ्छन् । चिच्याउँदै आएको देखेर अनौठो लाग्यो । यिनीहरूलाई के भएछ भन्ने लाग्यो । तर, नजिक आउनासाथ मलाई झम्टिहाले । तँ बोक्सी भनेर भकुर्न थाले, लछारपछार गर्न थाले । मैले केही बुझ्नै सकिनँ । उनीहरूले घिसार्न थाले ।

कतिले कपालमा समातेर ताने, अरूले लात्ताले हान्दै मलाई रामबहादुर चौधरीको घरमा लगे । रामबहादुर हाम्रो गाउँको झाँक्री हो । उसले आफूलाई शिवभक्त भन्छ । शिवरात्रिको दिनदेखि उसको घरमा पूजा लागेको छ । उसले हिजोसम्म ५४ हजार रुपैयाँ जम्मा गरेको रहेछ ।

मान्छे जो आउँछन्, भेटी दिन्छन् । तर, भेटी दिने मान्छे कम आउन थालेपछि उसले फेरि मान्छे जम्मा गर्ने जुक्ति निकालेको होला । गाउँमा बोक्सी छन्, ठीक पार्छु भनेको रहेछ । त्यसैले मलाई समातेर त्यहाँ लगे ।

रामबहादुरको आँगनमा पुग्दा मान्छे वरिपरि थिए, पछि झन् धेरै थपिए । ती सबैको अगाडि रामबहादुर झाँक्रीले मलाई कुटपिट गर्न थाले । रामबहादुरबाट धामी विद्या सिकिरहेको भन्ने पार्वती भन्ने महिला ममाथि जाइलागिन् ।

उनीहरूले नागजस्तै हाउभाउ बनाएर वरिपरि घुम्दै मलाई मुक्का हानिरहेका थिए, लात्ती बर्साइरहेका थिए । त्यसमाथि ‘तँ बोक्सी होस्, तैँले दुनियाँका बच्चा खाइस्, कसैका बाआमा खाइस्’ भन्दै मेरो हुर्मत लिइरहेका थिए ।

म बोक्सी होइन, मैले केही पाप गरेको छैन, म स्कुलकी विद्यार्थी हुँ, गरिबकी छोरी हुँ, मलाई बचाउनुहोस् भनेर समाजसामु गुहार मागिरहेकी थिएँ, तर उनीहरू कोही पनि बोलेनन् । बरु ममाथि हरेक झापड बर्संदा उनीहरूले ताली पिटेर खुसीले हुटिङ गरिरहेका थिए ।

केहीबेर पिट्न छाडेर घाममा पल्टाउँथे, अब बोक्सी बक्ने वेला भयो भन्थे । मैले पानी माग्दा फेरि भकुर्न थाल्थे । मेरो पेटमा, छातीमा लात्तैलात्ताले हान्दा रमिते भने ताली पिटिरहेका थिए ।

यसरी बिहान ७ बजेदेखि दिउँसो १ बजेसम्म मलाई यसैगरी कुटियो । ७ घन्टासम्म म कहिले मुर्छा परेँ, कहिले ब्युतिएँ । मुर्छा परेका वेला थाहा भएन, ब्युँतिएको वेला उनीहरूले कुटिरहेका हुन्थे ।

१ बजेतिर गाउँका दुई–तीनजना दाइहरू आउनुभयो । उहाँहरूले यसरी बालिकालाई कुटपिट नगर भनेर बोल्नुभयो । झाँक्रीले तिमीहरूलाई पनि यही त्रिशूलले मारिदिन्छु भनेर थर्काउन थाल्यो । त्यहाँ वादविवाद भयो । त्यही मौकामा मेरो भाइले मलाई घर लिएर आयो ।

घरमा आएपछि म फेरि मुर्छा परेछु, मलाई एम्बुलेन्समा राखेर अस्पताल ल्याइएछ, फेरि होस आयो । त्यही वेला जाहेरी दिन भनेर प्रहरी चौकीमा लगियो । एकैछिनमा झाँक्री रामबहादुरलाई पनि त्यहीँ ल्याइयो । तर, ऊ डराएको थिएन ।

म शिवभक्त हुँ, मैले जे पनि गर्न सक्छु भनेपछि उसलाई प्रहरीले खुट्टामा ढोग्न थाले । तर, जाहेरी लिन मानेनन् । बरु, त्यही झाँक्रीले त्यहीँ यसलाई केही पनि भएको छैन, झारफुक गरेर भर्खरै जस्ताको तस्तै हुन्छे भन्दै मन्त्र पढ्न थाल्यो । प्रहरीकै अगाडि मलाई चामल खान लगाइयो । तर, मलाई असह्य भइरहेको थियो ।

त्यही वेला सेतो स्कारपियो गाडीमा मेयरसा’प (मतताप्रसाद) चौधरी आउनुभयो । उहाँ पहिले हाम्रो स्कुलमा पढाउनुहुन्थ्यो, अस्ति भर्खर चुनाव पनि जित्नुभएको हो ।

त्यसैले उहाँ आएपछि मेरो पक्षमा बोल्नुहुन्छ, प्रहरीले जाहेरी पनि लिन्छ र ममाथि कुटपिट गर्नेलाई कारबाही पनि हुन्छ भन्ने आशा पलाएको थियो । तर, तिमीलाई के भयो भनेर एक शब्द पनि बोल्नुभएन । एकछिन रमिता हेरेर फेरि गाडी चढ्नुभयो, धुलो उडाउँदै उहाँको गाडी गयो ।

मलाई निकै पीडा भएपछि आफन्तहरूले सुखड अस्पताल लग्नुभयो । पछि प्रहरीले झाँक्रीलाई छाडेछ । बिहान उनीहरू आएर मिलापत्र गर्न कुरो गरे । औषधिमा लागेको ३७ सय रुपैयाँ दिएर चुप लाग भनेर हामीलाई धम्की दिँदै थिए ।

तर, मेरा आफन्तले मान्नुभएन । ऋण गरेर पैसा तिर्न खोज्दा पनि होहल्ला गर्दै थिए । तर, मेरा आफन्तले मलाई क्षेत्रीय अस्पताल धनगढी लिएर आउनुभएको छ । यहाँ उपचार भइरहेको छ, मैले केही खान सकेकी छैन, पानी पिउन, थुक निल्न पनि भएको छैन ।

शरीर पूरै थिलथिलो भएको छ । खासगरी संवेदनशील अंगहरूमा लात्तीले हानेकाले पीडा धेरै छ, भित्र के–के भएको छ थाहा छैन । तर, दोषीमाथि कारबाही होस्, जाहेरी नलिने प्रहरीलाई पनि कारबाही होस् र यस्तो अत्याचार कुनै पनि दिदीबहिनीमाथि नहोस्, मेरो कामना यही छ ।

मेयरकै रोहवरमा छाडिए आरोपी, थप दबाबपछि पक्राउ
किशोरीलाई कुटपिट गर्ने रामबहादुरलाई बिहीबार नै इलाका प्रहरी कार्यालय सुख्खडले पक्राउ गरेको थियो ।

तर, घोडाघोडी नगरपालिकाका प्रमुख ममताप्रसाद चौधरी, वडाध्यक्ष प्रेम रोकायालगायतको रोहवरमा तत्कालै छोडिएको प्रहरी नायब निरीक्षक दिनेश विष्टले बताए ।

शुक्रबार किशोरीका बुबाले किटानी जाहेरी दिएपछि पुनः पक्राउ गरिएको छ । ‘रामबहादुरलाई पक्राउ गरिएको छ, बोक्सी भन्दै कुटपिट घटनाको अनुसन्धान थालिएको छ,’ कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले भने ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Maya Limboo

    aafu justo x aaru lai testo van cha chaor yo dunya ma ka huncha ra buche yo gulat ho yo manes lai chado ker bi hos

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?