भारत र चीन जानुअघि सञ्चारकर्मीहरुसँग के भने प्रचण्डले ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १९, २०७५
|
|
२६ पटक हेरिएको
Shares
भारत र चीन जानुअघि सञ्चारकर्मीहरुसँग के भने प्रचण्डले ?

सारांश

  • काठमाडौं, १९ भदौ ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीन भ्रमण गर्ने गइरहेको बताएका छन् ।
  • आज अपरान्ह आफ्नै निवास खुमलटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकोले सो का लागि थप वातावरण निर्माण गर्न भ्रमण गर्न लागिएको बताए ।

काठमाडौं, १९ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्डले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरुसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीन भ्रमण गर्ने गइरहेको बताएका छन् । आज अपरान्ह आफ्नै निवास खुमलटारमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले नेपालको विकासमा छिमेकी देशहरुको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकोले सो का लागि थप वातावरण निर्माण गर्न भ्रमण गर्न लागिएको बताए ।

“दुबै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट नेपाली समाजको रुपान्तरण गर्ने दिशामा मेरो भ्रमण केन्द्रीत रहनेछ”, अध्यक्ष प्रचण्डले भने, “अध्यक्षका नाताले दुबै देशबाट निम्तो आएपछि भ्रमणको कार्यतालिका बनेको हो । मैले छिमेकी देशहरुसँग विगतमा भएको सहमति कार्यान्वयन र सरकारलाई सहयोग गर्ने विषयमा छलफल गर्नेछु ।”

भदौभित्रै पार्टी एकता
अध्यक्ष प्रचण्डले पार्टी एकताको ऐतिहासिक महान् अभिभारा यही भदौसम्म पूरा हुने बताएका छन् । तल्लो तहदेखि माथिसम्म एकताका लागि गठन भएको कार्यदलहरुले प्रतिवेदन बुझाइसकेको बताउँदै अध्यक्ष प्रचण्डले पार्टीको स्थायी समिति र सचिवालयको बैठकले यसको अन्तिम टुंगो लगाउने बताए । “तल्लो कमिटीमा कुनै समस्या भएर एकीकरणमा ढिलाई भएको होइन”, अध्यक्ष प्रचण्डको भनाई थियो, “एकताका लागि गठित कार्यदलहरुले प्रतिवेदन दिएका छन् । ठूलो पार्टी भएको अवस्थामा देखिने सामान्य असन्तुष्टिहरुको समेत व्यवस्थापन गर्ने गरी यसको टुंगो यही महिनाभित्र लगाइने छ ।” अध्यक्ष प्रचण्डले पार्टी एकतापछि पार्टीले नयाँ गति लिने पनि बताए ।

सरकारको काम कारबाहीबारे गम्भीर समीक्षा शुरु
सरकारको भूमिकाबारे सञ्चारकर्मीहरुले व्यक्त गरेका समीक्षात्मक विचारमाथि टिप्पणी गर्दै अध्यक्ष प्रचण्डले जनताको तहमा देखिएको असन्तुष्टिलाई समयमा नै हल गर्नुपर्नेमा जोड दिए । “जनताको तहमा छाएको निराशा र असन्तुष्टिबारे हामी दुबै अध्यक्ष गम्भीर छौं ।” अध्यक्षले भने, “हाम्रो बीचमा यो विषयमा गम्भीर छलफल शुरु भएको छ । आम जनताले सरकारबाट राखेको अपेक्षा पूरा गर्न सरकारको भूमिका र संचरनाका बारेमा के कसरी जाने भन्ने विषयमा गम्भीर ढंगले छलफल भइरहेको छ । हाम्रो मुख्य जोड जनतामा छाएको असन्तुष्टि हल गर्दै हामीले लिएको बाटोतर्फ देशलाई अघि बढाउने हुने छ ।” अध्यक्ष प्रचण्डले समीक्षाबाट प्राप्त निष्कर्षलाई पार्टीभित्र समेत छलफल गरी सरकारको प्रभावकारिता बढाउने दिशामा गम्भीर र ठोस कदम चालिने बताए ।

नयाँ संरचनाको अभ्यास नपुग्दा समस्या
पछिल्ला दिनमा स्थानीय तहदेखि केन्द्रीय सरकारको भूमिकाबारे प्रश्न उठिरहेको विषयमा राखिएको जिज्ञासाका बारेमा अध्यक्ष प्रचण्डले समग्र राजनीतिक परिवर्तनपछिको अवस्थाको अहिले नै संश्लेषण गर्न नसकिने बताए । देशमा विगतको संरचना नरहेको र नयाँ संघीय, समानुपातिक र समावेशी राज्य संरचनाको निर्माण भएको परिवेशमा यसले पूर्ण कार्यान्वयनमा आउन समय लाग्ने उनको जिकिर थियो ।

अध्यक्ष प्रचण्डले हरेक परिवर्तनपछि पुराना शक्ति र नयाँ चाहने शक्तिबीच जहिल्यै पनि संघर्ष चर्किने बताउँदै स्थानीय तहहरुमा केही समस्या देखिए पनि कैयन् सकारात्मक पक्ष समेत रहेको बताए । “कैयन् ठाउँमा केही समस्या देखिएका होलान तर नयाँ संरचनाको अभ्यासका क्रममा यो स्वभाविक हो । योसँगै विकासको लहर समेत जागेको कुरा पनि बिर्सिनुहुँदैन । स्थानीय तहमा अहिले हाम्रा लागि केही गरौं भन्ने भावनाको विकास भएको छ । यसको परिणाम दीर्घकालमा देखिन्छ”, उनको भनाई थियो ।

अध्यक्ष प्रचण्डले संघीयता र समावेशी चरित्रको राज्यसत्ताको स्वामित्व र अपनत्वबोध गर्ने विषयमा सबै पक्षको समान बुझाई र अनुभूति नरहेको कारणले समेत कतिपय अवस्थामा समस्या आउने कुरामा समेत जोड दिए ।

सरकार र संरचनाबारे पूरै नकारात्मक चित्रण गर्ने समय आइनपुगेकोमा अध्यक्षले विशेष जोड दिए । “अहिले विश्लेषणसम्म ठीकै छ, तर यो कुरै बेठीक भनेर संश्लेषण नै गर्ने अवस्थामा हामी पुगेको छैनौं ।” अध्यक्षले भने, “हिजो संघीयता, समानुपातिक समावेशी लगायतका विषय सैद्धान्तिक बहसमा थिए र त्यही अनुरुपको संविधान बन्यो, तर अब यसबारे व्यवहारमा वास्तविक बहस शुरु भएको छ । यसैले अहिले नै संघीयता बेठीक या धर्म निरपेक्षता बेठीक भनेर ठोकुवा गर्ने बेला भएको छैन ।”

सामाजिक मूल्यमा ह्रास–ठूलो चिन्ताको विषय
अध्यक्ष प्रचण्डले नेपाली समाजका कतिपय साँस्कृतिक, व्यवहारिक तथा नैतिक मूल्यमा देखिएको विचलनप्रति चिन्ता व्यक्त गरे । पछिल्लो दिनमा महिलामाथि बढिरहेको हिंसातर्फ संकेत गर्दै अध्यक्ष प्रचण्डले समाजको नैतिक मूल्य विचलन भएको त हैन भन्ने प्रश्न समेत उठाए । अध्यक्ष प्रचण्डले भने, “हाम्रो समाजमा किन यस्तो प्रवृत्ति फैलियो, किन समाज हिंसात्मक भयो र विचलन हुँदैछ भन्ने विषयमा सबैले सोच्नु जरुरी छ । सरकार या नेता विचलन भए त अरु खोजौला तर समाज नै विचलन भएर स्खलित भए त्यो माथि उठाउन निकै गा¥हो पर्छ । यो कुरामा मिडियाले समेत गम्भीरतापूर्वक सोच्न जरुरी छ ।”

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    Buddhipd Rai

    नेपालको दुवै छिमेकी राष्ट्र चीन र भारसंग सन्तुलित सम्बन्ध विकसित गर्नकै लागि चीन र भारतको भ्रमणमा जान लागेका हूं भनी पुष्पकमल दाहालजीले पत्रकारहरु समक्ष वयान गरेछन्?!!!!
    त्यसो हो भने नेपाल र हिन्दू-स्थान/INDIA बिचको खुल्ला सिमानालाई सार्वभौम राष्ट्र नेपाल स्थापित गर्नको लागि नेपाल र भारत बिचमा Passport system/राहदानी प्रणाली लागु गर्नको लागि पुष्पकमल दाहालजी भारत जान लागेका हुन् भनी आशा राखौं कि की कि????

    Comment Author

    Pradeep Ghimire

    malaie banaiedeu bhanna jaaneta ho ni. ma seba gari haalchu ni parbhu.

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?