मलाई नै मुख्यमन्त्रीको जिम्मेवारी आउँछ
सारांश
- वाम गठबन्धनको बहुमतपछि तपाईंलाई प्रदेश नं ४ को मुख्यमन्त्रीका रूपमा पनि हेरिएको छ, यसमा कत्तिको सम्भावना छ ?
- – म जनताबाट निर्वाचित भएको छु।
- एमालेको प्रदेश ४ को इन्चार्ज पनि भएकाले स्वाभाविक रूपमा मेरो दाबेदारी रहन्छ।
वाम गठबन्धनको बहुमतपछि तपाईंलाई प्रदेश नं ४ को मुख्यमन्त्रीका रूपमा पनि हेरिएको छ, यसमा कत्तिको सम्भावना छ ?
– म जनताबाट निर्वाचित भएको छु। एमालेको प्रदेश ४ को इन्चार्ज पनि भएकाले स्वाभाविक रूपमा मेरो दाबेदारी रहन्छ। मलाई नै पार्टीले यो जिम्मेवारी दिन्छ भन्ने विश्वास छ। साथीहरू पनि मप्रति सकारात्मक हुनुहुन्छ। म यसैका लागि केन्द्रीय राजनीति छाडेर प्रदेशमा आएको हुँ। पार्टीले यस विषयमा नियमसंगत किसिमले छिनोफानो गर्छ।
मुख्यमन्त्रीका लागि मतदातामाझ जानुभयो। प्रदेश विकासका लागि तपाईंका योजना केकस्ता छन् ?
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मलाई प्रशस्त अवसर थिए। तर प्रदेशमा भूमिका निर्वाह गर्नुपर्छ भनेर पार्टीको सल्लाहमै म आएको हुँ। मैले तनहुँ मात्र नभई प्रदेशभरको विकासका लागि योजना लिएर मतदातामाझ गएको थिएँ। यस क्षेत्रलाई आर्थिक हिसाबले विकास गर्न सकिने सम्भावना प्रशस्त छ।
पर्यटन र जलविद्युत्को स्रोत उपयोग गर्दै रोजगारीका अवसर बढाएर यस क्षेत्रको विकास गर्न सकिन्छ। यहाँका सम्भावनाको पहिचान गर्न सके यस क्षेत्रलाई नमूना बनाउन सकिन्छ। यातायातको सञ्जाल बलियो पारेर रोजगारीसँगै आर्थिक क्रियाकलाप बढाउनेतर्फ मेरो ध्यान केन्द्रित हुनेछ। यस क्षेत्रमा शतप्रतिशत साक्षरता अनि प्रमुख मार्गलाई कोरला नाकासम्म जोड्न सके आर्थिक हिसाबले यो प्रदेश निकै अघि बढ्न सक्छ।
जिल्लाको विकासका लागि नि ?
मेरो निर्वाचन क्षेत्रमा रहेका स्थानीय सडकको स्तरोन्नति गरेर बाह्रै महिना गाडी चल्ने बनाउनेतर्फ लाग्नेछु। शृंगपथको विस्तार, भीमकाली सडक तथा कृष्णमार्गको स्तरोन्नति गर्नेछु। समग्रमा आर्थिक स्रोतको परिचालन र रोजगारी सिर्जनामा मेरो ध्यान जानेछ। आवश्यकताको पहिचान गर्दै योजनाबद्ध विकासका काम अघि बढाइनेछ।
मलाई रामचन्द्र पाडेलको शुभकामना छ
कृष्णकुमार श्रेष्ठ ‘किसान’
प्रतिनिधिसभा सदस्य, तनहुँ क्षेत्र १
तपाईंले वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै पराजित गर्नुभयो, कस्तो अनुभव भइरहेको छ ?
उहाँलाई मैले काका भनेर सम्बोधन गर्छु । उहाँले मलाई राम्रोसँग काम गर्नुहोला भनेर शुभकामना दिनुभएको छ । यसबाट म असाध्यै खुसी छु । जुन विश्वास मलाई मतदाताले गरे, त्यो असाध्यै ठूलो जिम्मेवारी हो । तर अब जितेपछि म सबैको मान्छे हुँ । मलाई कसले भोट दियो वा दिएन भन्दा पनि म सबैको साझा भएर काम गर्ने गरी अघि बढेको छु । मैले देखिने गरी काम गर्नुपर्छ । त्यसमा म प्रतिबद्ध छु ।
अहिले के गर्दै हुनुहुन्छ ?
परिणाम आएलगत्तै केही दिन मतदातामाझ धन्यवाद प्रकट गर्न पुगेको थिएँ । काम विशेषले राजधानीमा आउँदा बिरामी परेकाले हाल म अस्पतालमै छु । हाल स्वास्थ्यलाभ भइरहेको छ । अब पुस ८ गतेबाट फेरि मतदातामाझ पुग्दै छु । त्यसलगत्तै पहिलो काम बाटोघाटोको स्तरोन्नति हुनेछ । प्रसिद्ध तीर्थस्थल छाब्दीमार्गको कालोपत्रे मेरो प्राथमिकतामा छ । बाँकी कुराका लागि अब सरकार बन्दै छ । त्यसपछि पाँचवर्षे गुरुयोजना बनाएर म मेरो क्षेत्रको विकासको प्राथमिकता तोक्नेछु । पर्यटन उद्योगको प्रवद्र्धन, युवा रोजगारी तथा घुमाउने घाटमा पुलको कामलाई छिटो पार्न मेरो भूमिका रहनेछ ।
तपाईंसँग जनताका अपेक्षा के छन् ?
सबैभन्दा धेरै माग बाटोको छ । कतिपय ठाउँमा ट्र्याक खोलिए पनि व्यवस्थित छैन । गाडी चल्ने अवस्था छैन । कलेस्तीदेखि मिर्लुङसम्म एउटासम्म पनि एम्बुलेन्स छैन । जनतालाई आपत्कालीन स्वास्थ्य सेवा उपलब्ध गराउन सकिएको छैन । युवा बेरोजगारीको समस्या ठूलो छ । यसका लागि सीटीईभीटीबाट प्राविधिक तथा सब ओभरसियरसम्बन्धी तालिम सञ्चालमा जोड दिनेछु । पर्यटन विकास गर्दै बेरोजगार युवालाई पर्यटनमा लगाउनुपर्ने आवश्यकता पनि छ । औद्योगिक क्षेत्र तनहुँमा स्थापना गर्नुपर्ने आवश्यकता छ । कृषिको आधुनिकीकरणको पनि माग आएको छ । समग्रमा विभिन्न माध्यमबाट १० हजारलाई रोजगारी दिलाउन मेरो प्रयास रहनेछ ।
किसान श्रेष्ठलाई भविष्यमा कुन पदमा देख्न सकिएला ?
यो मेरो व्यक्तिगतभन्दा पनि वाम गठबन्धनको कुरा हो । नेताले गर्ने निर्णय स्वीकार हुनेछ । म जनताले देखिने गरी काम गर्ने ठाउँमा जिम्मेवारीको पर्खाइमा छु । मलाई शीर्ष नेतृत्वले पनि सोहीअनुसार जिम्मेवारी दिने आश्वासन दिनुभएको छ ।
प्रतिक्रिया