थाहा पाउनुहोस्, यसरी बित्नेछन् नेपालमा मोदीका साढे २९ घण्टा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २८, २०७५
|
|
१६ पटक हेरिएको
Shares
थाहा पाउनुहोस्, यसरी बित्नेछन् नेपालमा मोदीका साढे २९ घण्टा

सारांश

  • काठमाडौं, २८ बैशाख ।
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकीय भ्रमणका लागि शुक्रवार (आज) नेपाल आउँदै छन् ।
  • उनले यो भ्रमणका क्रममा नेपालमा साढे २९ घन्टा बिताउनेछन् ।

काठमाडौं, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको राजकीय भ्रमणका लागि शुक्रवार (आज) नेपाल आउँदै छन् । उनले यो भ्रमणका क्रममा नेपालमा साढे २९ घन्टा बिताउनेछन् ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमण शुक्रबार (आज) बिहान सवा १० बजे जनकपुरबाट सुरु भई शनिबार दिउँसो ३ः५० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली उडेपछि समाप्त हुनेछ । जनकपुर विमानस्थलमा मोदीलाई रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गर्ने कार्यक्रम छ । विमानस्थलबाट मोदी जानकी मन्दिर जानेछन् । त्यहाँ उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्ने कार्यक्रम छ ।

नेपाल र भारतका दुबै प्रधानमन्त्रीले जानकी मन्दिरको दर्शन र पूजा गरेपछि मोदी जनकपुरको बाह्रबिघा मैदानमा जानेछन् । बाह्रबिघा मैदानमा मोदीलाई जनकपुर उपमहानगरपालिकाले अभिनन्दन गर्नेछ । त्यसपछि उनी भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा काठमाडौंतर्फ उड्नेछन् गर्नेछन् । भारतीय प्रधानमन्त्री मोदीलाई त्रिभुवन विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले शुक्रबार साढे १ बजे स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि मोदी होटल ह्यात रिजेन्सी जानेछन् । होटलमा परराष्ट्रमन्त्री ज्ञवालीले मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

बेलुकी सवा ४ बजे मोदीलाई सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाले गार्ड अफ अनरले सम्मान गर्ने छ । सैनिक मञ्चमा उनलाई प्रधानमन्त्री ओलीले पनि स्वागत गर्नेछन् । सैनिक मञ्चबाट मोदी उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यालय पुगी शिष्टाचार भेट गर्नेछन् । त्यसपछि शीतल निवास गएर मोदीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्नेछन् ।

राष्ट्रपति कार्यालयबाट मोदी बत्तीसपुतलीस्थित होटल द्वारिकाजमा जानेछन् । शुक्रबार साँझ ६ः२० बजे होटल द्वारिकाजमा मोदी र ओलीबीच एक्लाएक्लै वार्ता हुनेछ । त्यसपछि नेपाल–भारत द्विपक्षीय वार्ता हुने कार्यक्रम छ । वार्तापछि दुबै देशका प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । होटल द्वारिकाजमै मोदीले नेपालका पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गर्नेछन् । त्यसपछि होटल द्वारिकाजबाटै मोदी र ओलीले संयुक्त रुपमा अरुण तेस्रो विद्युत परियोजनाको शिलान्यास गर्नेछन् र संयुक्त विज्ञप्ति जारी हुनेछ । प्रधानमन्त्री ओलीले होटल द्वारिकाजमै भारतीय समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन् । रात्रिभोजमा सहभागी भई मोदी राति ९ बजे होटल ह्यात जानेछन् ।

भारतीय प्रधानमन्त्री मोदी शनिबार बिहान ६ः२० बजे भारतीय वायु सेनाको विशेष हेलिकप्टरमा मुक्तिनाथका लागि उड्ने कार्यक्रम छ । मुक्तिनाथको दर्शन र पूजापछि उनी जोमसोम हुँदै बिहान १०ः२० बजे काठमाडौं आइपुग्ने कार्यक्रम छ । काठमाडौं आएपछि उनले पशुपतिनाथको दर्शन र पूजा गर्नेछन् । यसपछि भारतीय राजदूत मन्जिभ सिंह पुरीले आयोजना गर्ने दिवाभोजमा सहभागी हुनेछन् । त्यहाँबाट उनी राष्ट्रिय सभागृहमा जानेछन् । सभागृहमा काठमाडौं महानगरपालिकाले मोदीलाई अभिनन्दन गर्ने कार्यक्रम छ । त्यसपछि भारतीय प्रधानमन्त्री मोदी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगी दिउँसो ३ः५० बजे उनी नयाँ दिल्लीतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

परराष्ट्र मन्त्रालयका अनुसार मोदीको भ्रमणका बेला जलमार्ग, रेलमार्ग र कृषि क्षेत्रमा सम्झौता गर्ने भनिए पनि बिहीबार साँझसम्म ती विषयको टुंगो लागिसकेको छैन । मोदीले नेपालका लागि विशेष सरप्राइज प्याकेज घोषणा गर्ने सम्भावना रहेको पनि बताइएको छ । तर नयाँ सम्झौता हुने सम्भावना भने कम रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?