महिला, बालबालिका तथा जेष्ठ नारिकमन्त्री आचार्यको सयदिन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०८०
|
|
२० पटक हेरिएको
Shares
महिला, बालबालिका तथा जेष्ठ नारिकमन्त्री आचार्यको सयदिन

सारांश

  • काठमाडौँ ।
  • बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले एक सयदिनको अवधिमा गर्वभती तथा सुत्केरी महिलाको हवाई उद्धारसँगै हराएका बालबालिकालाई अभिभावकसँग पुनःमिलाउन गराउन मन्त्रालय सफल भएको बताएका छन् ।
  • उनले पद बहाली गरेको आज एक सयदिन पूरा भएको छ ।

काठमाडौँ । बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले एक सयदिनको अवधिमा गर्वभती तथा सुत्केरी महिलाको हवाई उद्धारसँगै हराएका बालबालिकालाई अभिभावकसँग पुनःमिलाउन गराउन मन्त्रालय सफल भएको बताएका छन् ।

उनले पद बहाली गरेको आज एक सयदिन पूरा भएको छ । सय दिनको अवधिमा आफूले गरेका नीतिगत तथा व्यवहारिक कामबारे जानकारी दिँदै उनले भने, “नेपालका दुर्गम क्षेत्रमा ४२ जना ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाको हवाइ उद्धार गरिएको छ भने बेवारिसे अवस्थामा रहेका ३० जना सडक बालिबालिकाको उद्धार गरिएको छ ।”

मन्त्री आचार्यका अनुसार हराएका एक हजार सात सय ४९ जना बालबालिकामध्ये एक हजार छ सय ९४ जना बालबालिका फेला पारी परिवारमा पुनःमिलन गराएको छ । बेवारीसेरुपमा फेला परेका ९२ जना बालबालिकामध्ये ५६ जनालाई परिवारमा पुनर्मिलन गराइएको छ । विभिन्न कारणले जोखिममा परेका चार सय ३० जना बालबालिकालाई उद्धार गरिएको उनले जानकारी दिए ।

मन्त्री आचार्यले जिल्ला समन्वय समितिको कार्यालयका अधिकृतलाई मन्त्रालयको प्रत्येक जिल्लामा सम्पर्क बिन्दुको रुपमा तोक्ने निर्णय गरेर जिल्लासँगको मन्त्रालयको सम्बन्धसमेत जोडेको बताए । उनका अनुसार सातै प्रदेशमा वृद्धा स्याहार–सुसारसम्वन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । यस अवधिमा ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभवलाई उपयोग गर्न अन्तरपुस्ता सीप हस्तान्तरणसम्बन्धी कार्यशाला कोशी प्रदेशको धनकुटा, बागमती प्रदेशको काठमाडौँ र कर्णाली प्रदेशको सुर्खेतमा सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।

बाल संरक्षण तथा बालबालिकासम्बन्धी एकीकृत डिजिटल तथ्याङ्क व्यवस्थापन प्रणालीको स्थापना र सञ्चालनको लागि सफ्टवयरको निर्माण गरी सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ । त्यस्तै महिलाको आर्थिक सशक्तिकरणको लागि उद्यमशिलता विकास प्रशिक्षण कार्यक्रम सुनसरी, सिराहा, म्याग्दी र सुर्खेतमा सञ्चालन गरिएको सय दिनको प्रगति विवरणमा उल्लेख छ ।

यस्तै विराटनगर र कैलालीमा मानवबेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभियान कार्यक्रम सञ्चालन गरिएको र पोखरा, नुवाकोट र रौतहट जिल्ला कारागारमा जेल सजाय भोगिरहेका महिला तथा किशोरीलाई जेल जीवन तथा जेल जीवनपश्चातको जीवन परिवर्तनको लागि सामाजिक सचेतनासहितको सकारात्मक सोच कार्यक्रम सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सो अवधिमा ज्येष्ठ नागरिक नीति, २०८० को मस्यौदा तर्जुमा, मानवबेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ को संशोधन मस्यौदा, मानवबेचबिखन विरुद्धको राष्ट्रिय नीति तथा कार्ययोजनाको मस्यौदा र अपाङ्गता हेरचाहसम्बन्धी आधारभुत तालिम सञ्चालन स्रोत पुस्तिका, २०८० तयार गरेको प्रगति विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?