मुशर्रफ शक्तिशाली शासकदेखि मृत्युदण्डको नजिक
सारांश
- इस्लामावाद ।
- पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक परवेज मुशर्रफलाई मंगलबार पाकिस्तानको विशेष अदालतले फाँसीको सजाय सुनाएको छ ।
- मुशर्रफलाई देशद्रोहको अभियोगमा दोषी ठहर गरिएको हो ।
इस्लामावाद । पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक परवेज मुशर्रफलाई मंगलबार पाकिस्तानको विशेष अदालतले फाँसीको सजाय सुनाएको छ । मुशर्रफलाई देशद्रोहको अभियोगमा दोषी ठहर गरिएको हो । मुशर्रफलाई सजाय सुनाउने इजलासको बेञ्चमा ३ जना न्यायाधीश थिए । यसको नेतृत्व पेसावर हाइकोर्टका मुख्य न्यायाधीश वकाक अहमद सेठले गरेका थिए । उनीसँग बेञ्चमा सिंध हाइकोर्टका न्यायाधीश नजर अकबर र लाहोर हाइकोर्टका न्यायाधीश शाहिद करिम थिए । फैसला २–१ को बहुमतले आएको हो । यस विषयमा फैसलाको विस्तृत विवरणको प्रतिलिपि फैसला सुनाइएको ४८ घण्टामा जारी हुनेछ । अर्थात् विस्तृत विवरण बिहीबार जारी हुनेछ । यो हाइ ट्रिजन केस सन् २००७ को घटनाक्रमका कारण सुरु भएको हो । त्यस वर्ष ३ नोभेम्बरमा मुशर्रफले पाकिस्तानमा इमरजेन्सी (संकटकाल) लगाएका थिए । उनीविरुद्ध यो मुद्दा २०१३ मा दर्ता भएको हो । मुशर्रफविरुद्ध यो मुद्दा दर्ता हुँदा पाकिस्तानमा नवाज शरीफ प्रधानमन्त्री थिए । नवाज उनै प्रधानमन्त्री हुन् जसलाई सेनाको बलमा पदबाट हटाएर सन् १९९९ मा परवेज मुशर्रफले देशमा सैनिक शासन लागु गरेका थिए ।
मुशर्रफ भारतको दिल्लीमा जन्मिएका हुन् । ११ अगष्ट १९४३ मा पुरानो दिल्लीको एक हवेलीमा मुशर्रफ जन्मिएका हुन् । मध्यमवर्ग, पढेलेखेको परिवार । पिता सैयद मुशर्रफुद्दीन अलिगढ मुस्लिम युनिभर्सिटीमा पढेका थिए । विदेश विभागको कार्यालयमा जागिर गर्थे । आमा जरीन पनि पढेलेखेकी थिइन् । त्यो जमानामा पनि उनले लखनउ विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा एम ए गरेकी थिइन् । मुशर्रफले स्वयंले धेरै पहिले गरेको खुलासाअनुसार भारत पाकिस्तान विभाजनपछि भारतबाट मुसनमानहरूलाई लिएर जुन अन्तिम ट्रेन पाकिस्तान गएको थियो उनीहरूको परिवार त्यही ट्रेनमा पाकिस्तान गएको थियो ।
पाकिस्तानी सेनामा मुशर्रफ सन् १९६१ मा प्रवेश गरेका हुन् । सन् १९६५ को भारत पाकिस्तान युद्धका बेला मुशर्रफ सेकेण्ड लेफ्टिनेण्ट थिए । युद्धमा बहादुरी देखाएका कारण उनले मेडल पनि पाएका थिए । १९७१ को युद्धमा उनी कमाण्डो बटालियनमा कम्पनी कमाण्डर थिए । मे १९८८ मा पाकिस्तानमा पूर्व सैनिक प्रमुख जनरल जिया उल हक राष्ट्रपति थिए । त्यतिबेला पाकिस्तानको गिलगित प्रान्तमा विद्रोह भयो । यसलाई नियन्त्रणमा लिने जिम्मेवारी मुशर्रफलाई दिइयो । त्यतिबेला मुशर्रफ स्पेशन सर्भिसेज ग्रुपमा थिए । त्यतिबेला गिलगितमा शिया मुसलमानको बहुमत थियो । मुशर्रफ र उनका साथीहरूले शियाको बहुमतलाई अन्त्य गर्न डेमोग्राफीसँग खेलवाड गरे । रणनीतिअनुसार पञ्जावी र पख्नुनहरूलाई गिलगिलमा बसाउने काम सुरु गरे । यस्तै रणनीति पाकिस्तानले बलुचिस्तानमा पनि अपनाएको थियो ।
सन् १९९८ मा तत्कालीन प्रधानमन्त्री नवाज शरीफले निकै हिसाबकिताब गरेर मुशर्रफलाई सेना प्रमुख बनाए । तर, यिनै मुशर्रफले नवाज शरीफलाई मुर्ख बनाएर, उनलाई श्रीनगरमा झहराउने सपना देखाएर कारगिलको युद्धमा धकेले । कारगिल युद्धमा भारतसँग जित्न नसकेपछि देशमा नवाजको स्थिति निकै खराब भयो । उनलाई मुशर्रफबाट खतरा महसुस हुन लागेको थियो । भनिन्छ, नवाज सही समय हेरेर मुशर्रफलाई पदबाट हटाउने तयारीमा थिए तर नवाजभन्दा पहिल्यै मुशर्रफले नै नवाजलाई प्रधानमन्त्रीबाट अपदस्थ गरे । त्यो दिन थियो १२ अक्टोबर १९९९ । मध्यरातमा मुशर्रफ देशलाई सम्बोधन गर्न टिभीमा प्रकट भए । सेनाको वर्दी, आँखामा रिम वाला उनको सिग्नेचर स्टाइल चश्मा । मुशर्रफले पूरै पाकिस्तानलाई बताए, ‘अब नवाज उनीहरूका प्रधानमन्त्री रहेनन् । नवाजलाई जेलमा हालियो । उनीविरुद्ध भ्रष्टाचार र मनी लण्ड्रिङ केस सुरु गर्ने कुरा भयो ।’ तर, नवाजको साउदी अरबसँग राम्रो सम्बन्ध थियो । भनिन्छ, साउदी र अमेरिकाको दबाबमा मुशर्रफले नवाजलाई रिहा गरेका हुन् । खतरामा रहेको मुशर्रफको सत्ताले सेप्टेम्बर २००१ मा सञ्जीवनी बुटी पायो । जतिबेला अमेरिकाको वल्र्ड ट्रेड सेण्टर र पेण्टागनमा आक्रमण भयो । यसको जवाफमा अमेरिकाले अफगानिस्तानमा धावा बोल्यो । अफगानिस्तानमा पार पाउन अमेरिकालाई पाकिस्तानको साथ चाहिन्थ्यो । यो मुशर्रफको लागि निकै फाइदाजनक कुरा साबित भयो । अमेरिकालाई सहयोग गरेपछि पाकिस्तानको अर्थतन्त्र सुधार हुँदै गयो । नागरिकको पनि मर्थन पाउन थाले । स्वयंलाई लोकतान्त्रिक वैधता दिनको लागि मुशर्रफले निर्वाचन पनि गराए । तर बिना विपक्षको निर्वाचनमा उनले सहजै जिते र आफूलाई राष्ट्रपति घोषित गरे ।
केही समयसमम्म सबथोक ठिक चलिरहेको थियो तर अचानक हालत बिग्रिन थाल्यो । २००७ को मार्च महिनामा मुशर्रफले पाकिस्तानका प्रधानन्यायाधीश इफ्तिकर चौधरीलाई बर्खास्त गरे । इफ्तिकरको यसे विरोधमा वकिलहरूले अभियान चलाए । विरोध उग्र हुँदै गयो । दुवै पक्षबीच आफ्नो शक्ति उपयोग गर्नेसम्मको स्थिति आयो । विपक्षी दलले पनि मौका देखे र इफ्तिकरको समर्थन गरे । कराँचीको ठूलो हिंसा भयो । त्यसपछि लाल मस्जिदमा सेनाले हमला गर्यो । यसको बदला लिनका लागि आतंकवादी र कट्टरपन्थी संगठनले पनि हमला गराए । मुशर्रफको जमिन हल्लियो । अत्याधिक दबाबमा आएपछि मुशर्रफले ‘नेशनल रिकन्सिलेसल अर्डिनेन्स’ (राष्ट्रिय सम्झौता अध्यादेश) जारी गरे । यो बेनजीर भुट्टो र नवाज शरीफजस्ता व्यक्तिहरूका लागि जीवनदान थियो । यो अध्यादेशमा मुशर्रफले यो आश्वासन दिएका थिए कि यदि उनीहरू पाकिस्तान फर्किए भने उनीहरूलाई कुनै नोक्सान पु¥याइने छैन । यसैको सहारामा बेनजीर र नवाज पाकिस्तान फर्किए । मुशर्रफसँग टक्कर लिनको लागि उनीहरू दुवैले हात मिलाए ।
मुशर्रफलाई २००८ को फेब्रुअरमिा चुनाव घोषणा गर्नुप¥यो । त्यतिबेला अहिलेका प्रधानमन्त्री इमरान खानको पार्टी तहरीक–ए–इंसाफ पनि चुनावी दौडमा थियो । इमरानले चुनावको बहिष्कार गरिरहेका थिए । उनले मुशर्रफ हुँदासम्म निष्पक्ष चुनाव हुन सक्दैन भनिरहेका थिए । तर बेनजीर भने चुनाव बहिष्कारले मुशर्रफलाई फाइदा हुने तर्क गर्थिन् । उनी चुनावको पक्षमा डटेकी थिइन् । मुशर्रफ निकै खराब स्थितिमा आएका थिए । उनीमाथि सेना प्रमुखको कुर्सी खाली गर्न पनि दबाब थियो । यो दबाब र विपक्षसँग टक्कर लिन नवाजले ३ नोभेम्बर २००७ मा देशभर इमरजेन्सी लगाइदिए । यही इमरजेन्सी त्यो मुद्दा हो जसमा अहिले मुशर्रफलाई दोषी ठहर गरेर फाँसीको सजाय सुनाइएको छ ।
सत्ता गएपछि अप्रिल २००९ मा मुशर्रफ पाकिस्तानबाट निस्किए । पहिले लण्डनमा बसे त्यसपछि दुबइ सरे । मार्च २०१३ मा उनी पाकिस्तान फर्किएका थिए जतिबेला नवाज शरीफ पुनः प्रधानमन्त्री भइसकेका थिए । पाकिस्तान फर्किनासाथ उनलाई नजरबन्द गरियो । नवाज शरीफले १९९९ मा आफूसँग मुशर्रफले के गरेका थिए भन्ने बिर्सिएका थिएनन् । उनले मुशर्रफविरुद्ध मुद्दा चलाउन ढिलाइ गरेनन् । मुशर्रफलाई चुनाव लड्न अयोग्य घोषित गरियो । उनीविरुद्ध दर्जनभन्दा धेरै मुद्दामा सुनुवाइ चलिरहेको थियो ।
न्यूयोर्क टाइम्सको एक रिपोर्टमा उल्लेख भएअनुसार मुशर्रफ जब सत्तामा थिए त्यतिबेला इस्लामाबादमा एउटा चुट्किला चर्चामा थियो । ‘मुशर्रफ र अल्लाहमा के फरक छ ?’ यो प्रश्न सोधेपछि चुट्किला सुनाउनेने आफैं जवाफ दिन्थे ‘अल्लाहलाई लाग्दैन कि उनी मुशर्रफ हुन् ।’ यो चुट्किलामा मुशर्रफको अति आत्मविश्वास झल्किन्छ । यही ओभर कन्फिडेन्स उनलाई भारी पर्यो । हुन त पाकिस्तानमा जो–जो शासक पतन भए, सबैको बर्बादीमा अति आत्मविश्वास एउटा कमन कुरा थियो ।
प्रतिक्रिया