यसकारण भए प्रधानमन्त्रीसंग कञ्चनपुरबासी रुष्ट !
सारांश
- काठमाडाै, २३ भदाै ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिलाई लिएर कञ्चनपुरबासी रुष्ट बनेका छन्।
- नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ नामक कार्यक्रममा प्रधानमन्त्री ओलीको अभिव्यक्तिले कञ्चनपुरबासीको अपमान भएको भन्दै असन्तुष्टि देखिएको हो।
काठमाडाै, २३ भदाै । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा टेलिभिजन अन्तर्वार्तामा दिएको अभिव्यक्तिलाई लिएर कञ्चनपुरबासी रुष्ट बनेका छन्। नेपाल टेलिभिजनको ‘जनतासँग प्रधानमन्त्री’ नामक कार्यक्रममा प्रधानमन्त्री ओलीको अभिव्यक्तिले कञ्चनपुरबासीको अपमान भएको भन्दै असन्तुष्टि देखिएको हो।
शुक्रबार राष्ट्रिय मानव अधिकार आयोगले गरेको एक कार्यक्रममा उनीहरुले प्रधानमन्त्री ओलीको आलोचना समेत गरेका छन्। बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटनामा प्रहरीको भूमिकाप्रति क्षुब्द रहेका कञ्चनपुरबासी प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि थप आक्रोशित बनेका हुन्। टेलिभिजन कार्यक्रमको अन्तर्वार्तामा ओलीले निर्मला पन्तको शव कञ्चनपुरका मेयरको घरमा लगिएको, नयाँ छानविन समितिलाई काम गर्न नदिइएको, अनुसन्धान रिपोर्ट आफूले भनेजस्तै आउनुपर्ने भनेर जिद्दी भइरहेको, टिकापुर जस्तै घटना घटाउने अभिव्यक्ति दिइएको, सुदूरपश्चिमेलीको चाड गौरामा समेत आन्दोलनको कुरा गरिएको सन्दर्भ उठाएका थिए।
प्रधानमन्त्री ओलीको यो भनाईलाई लिएर कञ्चनपुरबासी रुष्ट बनेका हुन्।कार्यक्रममा महिला अधिकारकर्मी शारदा चन्दले प्रधानमन्त्रीले निर्मला पन्तको शव मेयरको घरमा लगेको भनेर झुठो बोलेको भन्दै महिला हिंसाका घटनाप्रति राज्य गम्भीर नरहेको आरोप लगाइन्। यस्तै, पत्रकार खेम भण्डारीले सार्वजनिक सञ्चारमाध्यमबाट प्रधानमन्त्री ओलीले कञ्चनपुरबासीको अपमान गरेको भन्दै प्रधानमन्त्रीलाई गलत रिपोर्टिङ गर्नेहरुमाथि कारवाही गर्न माग गरे।
कार्यक्रममा विभिन्न सरोकारवालाहरुले निर्मला हत्याको विषमा कञ्चनपुर प्रहरीले गरेको अनुसन्धान गलत भएको धारणा व्यक्त गरेका थिए। उनीहरुले प्रधानमन्त्री ओलीको अभिव्यक्तीले पीडितलाई थप पिडा दिएको बताए।
प्रहरीको जवाफदेहिता अभियान सुरु
राष्ट्रिय मानव अधिकार आयोगद्वारा नेपाल प्रहरीको जवाफदेहिता विषयक राष्ट्रिय अभियान शुक्रबारदेखि महेन्द्रनगरबाट शुरु भएको छ।
गत श्रावण १० गते कञ्चनपुरमा १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याले उत्पन्न परिस्थितिप्रति नेपाल मानव अधिकार आयोगले चासो दिँदै ‘महिला हिंसा न्युनीकरण, मानव अधिकारको सुरक्षा एवं संरक्षण’ भन्ने नाराका साथ नेपाल प्रहरीको जवाफदेहिता अभियान शुरु गरेको हो। निर्मला पन्तको हत्याको विषयमा कञ्चनपुर प्रहरीले गरेको अनुसन्धान शुरुवाती अवस्था देखिनै प्रकृयासंगत नभएको निश्कर्ष निकाल्दै राष्ट्रिय मानव अधिकार आयोगले उक्त अभियानको शुरुवात गरेको आयोगका सदस्य मोहना अन्सारीले बताइन्।
आयोगको आयोजना तथा नेपाल प्रहरीको सहकार्यमा शुरु भएको अभियान ७ वटै प्रदेश र काठमाडौं गरी ८ ठाउँमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ। आयोगका सदस्य मोहना अन्सारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश नं ७ का आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाह, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मी, प्रदेश सभा सदस्य प्रकाशबहादुर शाह लगायत विभिन्न उच्च अधिकारीहरुको उपस्थिती रहेको थियो।
केही नालायक अफिसरका कारण प्रहरी संगठन लज्जित छः महानिरीक्षक खनाल
कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक शर्वेन्द्र खनालले केही नालायक प्रहरी अधिकारीहरुको कमजोरीका कारण आफु लगायत सम्पूर्ण प्रहरी संगठन लज्जित भएको बताए।
कार्यक्रममा कञ्चनपुरका नागरिक अगुवाहरुले निर्मला पन्तको हत्या र बलात्कारको घटनामा प्रहरीले बद्नियतपूर्ण ढंगले काम गरेको भन्दै गरेको आलोचनाप्रति महानिरीक्षक खनालले ‘दोषी जो कोही भए पनि कुनै हालतमा नछोडिने’ प्रतिवद्धता जनाए। पन्त हत्याको विषयमा सत्य तथ्य छानविन गर्न आफुले कडा निर्देशन दिइसकेको बताउँदै महानिरीक्षक खनालले प्रहरी जनताको सुरक्षा र रक्षाको लागि भएको हुँदा सम्पुर्ण सरोकारवाला निकायहरुको रचनात्मक सहयोगबाट अपराध न्युनिकरण सम्भव हुने दाबी गरे।
महानिरीक्षक खनालले निर्मला पन्तका आफन्तसँग भेटघाट गरेर अपराधीलाई जस्तोसुकै परिस्थतिमा पनि नछोड्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
(नेपाल खबर बाट)
प्रतिक्रिया