यसरी हुँदैछ पाँच नम्बर प्रदेशमा राष्ट्रियसभाको चुनाव
सारांश
- दाङ, २३ माघ ।
- पाँच नम्बर प्रदेशको भोलि माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दाङमा तयारी पूरा भएको छ ।
- जिल्ला सदरमुकाम घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनका सबै तयारी भएको प्रमुख निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।
दाङ, २३ माघ । पाँच नम्बर प्रदेशको भोलि माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दाङमा तयारी पूरा भएको छ । जिल्ला सदरमुकाम घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा हुने निर्वाचनका सबै तयारी भएको प्रमुख निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।
प्रदेशबाट जम्मा ८ जना राष्ट्रियसभा सदस्य निर्वाचित हुनुपर्नेमा ३ जना निर्विरोध भइसकेका छन् । चर्चित लोकगायिका कोमल वली, अनिता देवकोटा र मीना बुढामगर निर्विरोध निर्वाचित भइसकेकाले ५ जनाका लागि मात्रै निर्वाचन हुँदैछ । ५ जनाका लागि ८ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । निर्विरोध निर्वाचित भएकाहरुमा एमालेका कोमल वली र मीना बुढा तथा नेपाली कांग्रेसकी अनिता देवकोटा हुन् ।
चुनावी मैदानमा रहेका उम्मेदवारहरुमा अन्य समूहबाट खिमलाल भट्टराई (एमाले), चन्द्रबहादुर खड्का (माओवादी केन्द्र), दुर्गाप्रसाद उपाध्याय (नेपाली कांग्रेस), रश्मिराज नेपाली (राष्ट्रिय जनमोर्चा) छन् । त्यस्तै, अल्पसंख्यक वा अपांगबाट राजकुमार कुँवर (माओवादी केन्द्र) र लुटबहादुर खत्री (नेपाली कांग्रेस)को उम्मेदवारी रहेको छ । दलितबाट मैकुलाल बाल्मिकी (कांग्रेस) र रामलखन चमार (एमाले)को उम्मेदवारी छ ।
पाँच नम्बर प्रदेशमा जम्मा ३०५ मतदाता छन् । ८७ जना प्रदेशसभा सदस्य र २ सय १८ जना स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष छन् ।
प्रतिक्रिया