यात्रीको यात्रा संगीतको

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २१, २०७५
|
|
२१ पटक हेरिएको
Shares
यात्रीको यात्रा संगीतको

सारांश

  • नवीन पौडेल अर्घाखाँचीको मालारानीमा जन्मेकी दीया यात्री संगीतकै लागि काठमाडौँ आइन् ।
  • उनको पहिलो गीत २०७० सालमा रेकर्ड भयो ।
  • हो, यो नेपाली सांगीतिक क्षेत्रको प्रसिद्ध नाम होइन तर उनको मेहनतले सही मूल्य पाएको खण्डमा कुनै पनि दिन सांगीतिक हस्तीहरुको नामको सूचीमा दीया यात्री भेटिनु ठूलो कुरो हुने छैन ।

नवीन पौडेल

अर्घाखाँचीको मालारानीमा जन्मेकी दीया यात्री संगीतकै लागि काठमाडौँ आइन् । उनको पहिलो गीत २०७० सालमा रेकर्ड भयो । हो, यो नेपाली सांगीतिक क्षेत्रको प्रसिद्ध नाम होइन तर उनको मेहनतले सही मूल्य पाएको खण्डमा कुनै पनि दिन सांगीतिक हस्तीहरुको नामको सूचीमा दीया यात्री भेटिनु ठूलो कुरो हुने छैन ।

दीया यात्रीको गायनको शोख अहिले होइन धेरै पहिलेदेखिको हो । उनी स्कूल पढ्दादेखि नै संगीतमा रुची राख्थिन् र सबैखाले सांगीतिक कार्यक्रममा भाग लिने गर्थिन् । भाग मात्र होइन उनको गायन धेरैले मन पराउँथे पनि । उनलाई गुरुहरुबाट सँधै स्याबासी मिल्थ्यो भने सहपाठी पनि उनको स्वरको खुलेरै तारिफ गर्थे ।

आठ कक्षामा त्यस्तै सांगीतिक कार्यक्रममा भाग लिँदा प्रथम स्थान हात पारेकी दीयालाई अझै याद छ । त्यो उनको एकमात्र होइन शृङ्खलाबद्ध सफलताको एउटा उदाहरण थियो । दीयाका लागि त्यो र त्यस्ता पुरस्कारहरु पुरस्कार मात्र नभएर हौसला पनि थियो । तर संगीतमा अथाह सम्भावना बोकेकी दीयालाई मालारानीको आकाश साँघुरो हुन थाल्यो । उनको प्रतिभा अझ फराकिलो ठाउँको खोजीमा भौतारिरहेको थियो । त्यस्तो अवस्थामा उनलाई आफ्ना आफन्ती कोही संगीतमा लागेको भए भन्ने लाग्थ्यो । जति सुनेँ पनि रेडियोबाट सुनेँ, कोही मेरा मान्छे पनि यसै क्षेत्रमा भैदिएको भए भन्ने लाग्थ्यो तर भनेर भएन ।

“मेरा लागि रेडियो नै मार्गदर्शक थियो, संगीत क्षेत्रमा लाग्नका लागि ।” सुरुवाती दिनहरु सम्झँदै उनले भनिन् । रेडियोका कार्यक्रम सुन्दासुन्दै उनी आफै पनि पत्तै नपाइकन गीत गनुगुनाउने गर्थिन् ।

बिहे भएको ३ वर्षपछि वि.सं. २०६७ सालमा उनी आफ्नो तीन जनाको परिवार सहित काठमाडौँ आइन् । उनको लागि भाग्यको कुरा थियो कि उनका श्रीमान पनि संगीत क्षेत्रमा नै थिए । दर्पणका त्यति बेलासम्म केही थान गीत रेकर्ड भइसकेका थिए । भलै ति गीतले बजार लिन सकेनन् तर दर्पणले संगीतलाई नजिकबाट हेरिसकेका थिए । जुन कुरा दीयाका लागि ठूलो थियो । उनलाई पहिलो गीत रेकर्डको मौका श्रीमानले नै जुुराइदिए । तर रेकर्डिङको काम देखेजस्तो सजिलो हुँदैन भन्ने उनलाई थाहा थिएन । पहिलो गीत रेकर्डिङ नै दाँतमा ढुङ्गा लागेसरह भयो उनका लागि । स्टुडियोबाट निस्केर आएपछि उनी धेरैबेर रोइन् ।

“मैले संगीत केही जानेको रहेनछु जस्तो लाग्यो । मेरो आधा भन्दा बढी आवाज त त्यहाँका सामग्रीले नै खाइदिन्थ्यो ।’ पहिलो गीत रेकर्डिङको सम्झनामा आफैप्रति व्यङ्ग्यको हाँसो हाँस्दै उनले भनिन् । “त्यो दिन कोठामा आएर म निकै बेर रोएँ, एक्लै । पछि आफैलाई सम्झाएँ कि यो भएको अनुभवको कमीले गर्दा हो, मेरो प्रतिभाको कमीले होइन” उनले भनिन् ।

पहिलो रेकर्डमै ठेस लागेपछि उनको मनमा पेच प¥यो । त्यसपछि मात्र उनको औपचारिक सांगीतिक यात्राको थालनी भयो । उनी लगत्तै संगीत कक्षा जान थालिन् । तीन वर्षसम्म लगातार संगीत सिकेपछि २०७० सालमा बल्ल उनको पहिलो गीत रेकर्ड भयो । यतिबेला उनको आवाज भित्तो र माइकले दबाउन सकेन । दीयाका सीमित नै भएपनि श्रोता बढे । त्यसपछि उनका अरु पनि एल्बमहरु निस्किए । अनि गति लिन थाल्यो संगीत यात्राले । दीयाले आफ्नो जिन्दगीका केही नमिठा घटनाहरु पनि यसै समय देखिन् ।

२०७१ सालमा उनी एक सडक दुर्घटनामा परिन्, जसको मूल्य उनको खुट्टा थियो । खुट्टाको चोटका कारण उनले लामो समय आराम गर्नुपर्ने भयो । खुट्टाको चोट निको भएर तङ्ग्रिन नपाउँदै भूकम्प गयो । त्यसले उनको यात्रा मन्द गरायो तर रोक्न सकेन । यतिबेला उनको ‘प्लेन चडी माइत जाऊँ’ बोलको तीज गीत बजारमा आएको थियो ।

संगीतलाई सारथि बनाउन उनले पनि निकै संघर्ष गरिन् । बाहिरबाट काठमाडौँ आएर खानका लागि गरिने संघर्ष त छँदैछ साथमा संगीतलाई डो¥याउनु सानो चुनौतिको कुरा थिएन् । उनले जसोतसो समय मिलाएर संगीत सिकिरहेकी थिइन् । डेरा पाउन नै समस्या हुने यहाँ एउटा संगीतकर्म गर्नेलाई त्यो समस्या दोब्बर हुन्छ । “पहिलो कुरा त कोठा पाउनै गाह्रो हुन्थ्यो । अनि पाइहाले पनि पानी बिजुलीको समस्या । ल त्यसमा पनि थोरै सम्झौता गरुँ न त भन्यो संगीत अप्रेमी सबैभन्दा ठूलो बाधा बनेर निस्कन्छन्”, केही वर्ष पछाडि फर्कँदै दीया भन्छिन् ।

“यो भन्दा पहिले बसेको कोठामा निकै गाह्रो थियो । दिउँसो सानो जब गर्थेँ । साँझ आएर खाना बनाएर खाँदा रात निकै ढल्किसकको हुन्थ्यो । राति दश÷एघार बजे रियाज गर्दा अरुलाई डिस्टर्व हुने नगरुँ भोलि गुरुलाई के सुनाउने ? मान्छेहरु झिँजो मान्छन्, हार्मोनियम तबला बजाउँदा । एकपटक त दिउँसै गाउँदा पनि महिला आएर झगडा गर्न थालिन्, सुत्न दिएनौ भनेर ।” अहिलेको कोठामा त्यस्तो छैन तर यसभन्दा अघि केही घरबेटीहरुसँग पनि झगडा भएको दीया बताउँछिन् ।

आफ्ना बुवा आमाको साथ उनीहरुका ११ वर्षे छोरा दर्शनले पनि दिएका छन् । सानै उमेरमा उनको २ गीत रेकर्ड भइसकेका छन् । उनी पनि आमाजस्तै विद्यालयका सबै सांगीतिक कार्यक्रममा भाग लिने गर्छन् । र, घरमा पुरस्कार पनि समयसमयमा भित्रिरहन्छ ।

दुई कोठाको उनीहरुको डेरा विविध सांगीतिक वाद्य सामग्रीले सजिएको छ । हार्मोनियम, सारंगी, मादल, तबला, गितार आदि आदि । अनन्तः लक्ष्य लिएर यात्री परिवारको सांगीतिक यात्रा निरन्तर चलिरहेछ ।

(https://www.genusinnovation.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?