युएई विरुद्धको खेलमा नेपाल विजयी, एकदिवशीयमा ऐतिहासिक सफलता
सारांश
- नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ।
- नेपालले युएईसँगको तीन खेलको शृंखला २-१ ले जितेर एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शृंखला हात पारेको हो।
- शृंखलाअन्तर्गत पहिलो खेल हारेको नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको हो।
नेपालले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ऐतिहासिक सफलता हात पारेको छ। नेपालले युएईसँगको तीन खेलको शृंखला २-१ ले जितेर एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शृंखला हात पारेको हो।
शृंखलाअन्तर्गत पहिलो खेल हारेको नेपालले लगातार दोस्रो खेलमा जित हात पारेको हो। यसअघि गत वर्ष नेपालले एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाएको थियो। त्यसपछि नेपालले नेदरल्यान्ड्ससँग दुई खेलको शृंखला १-१ ले बराबरी खेलेको थियो। एसिया कप छनोट अन्तर्गत यूएईसँग भएको खेलमा नेपाली टोली पराजित भएको थियो।
हालसम्म नेपालले ६ वटा एकदिवशीय अन्तर्राष्ट्रिय खेल खेलेको छ। तेस्रो तथा निर्णायक खेलमा नेपालले सोमबार यूएईलाई ४ विकेटले पराजित गर्यो। यूएईले प्रस्तुत गरेको दुई सय ५५ रनको लक्ष्य नेपालले ४४ ओभर ४ बलमा ६ विकेट गुमाएर पुरा गर्यो। नेपालको जितमा कप्तान पारस खड्काले सतक बनाए। उनले एक सय १५ रन बनाए। पारस खड्का एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा सतक बनाउने पहिलो नेपाली क्रिकेटर बने।
पारसले यसअघि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा अर्धसतक पनि बनाएका थिए। पारसले एक सय ९ बलमा १५ चौका र एक छक्का प्रहार गरे। छैटौँ एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहेको नेपालका लागि यसअघि कुनैपनि ब्याट्सम्यानले सतकीय पाली खेल्न सकेका छैनन्।
पारसले यसअघि एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटकै एकै पालीमा ५१ रनसम्म जोडेका थिए। ए्कदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा रोहित कुमार पौडेल, ज्ञानेन्द्र मल्ल र सोमपाल कामीले पनि अर्धसतक बनाएका छन्।
तेस्रो खेलमा नेपालले १९ रन जोड्दा पहिलो विकेट गुमाएपनि दोस्रो विकेटका लागि ६२ रनको साझेदारी गरेको थियो। ज्ञानेन्द्र मल्ल ३१ र सन्दीप जोरा १९ रनमा आउट भए। दीपेन्द्र सिंह एरीले ६ र विनोद भन्डारीले ९ रनमात्र जोडे। नेपालले दोस्रो विकेटका लागि ६२, पाँचौँ विकेटका लागि ५४ र छैटौँ विकेटका लागि ३२ रनको साझेदारी गर्यो। पारस तेस्रो नम्बरमा ब्याटिङमा आएका थिए। अविजित रहँदै मध्यक्रमका आरिफ शेख २१ र सोमपाल कामीले २६ रन बनाए। सोमपालले छक्का प्रहार गर्दै विजयी रन पुरा गरेका थिए।
प्रतिक्रिया