राष्ट्रकवि घिमिरेदेखि मह जोडी, रबि, सन्दीप लामिछानेसम्मको मुख बंगाइदिएपछि…
सारांश
- काठमाडौं, २१ जेठ ।
- तपाइँ नेपाल आर्ट काउन्सिल पुग्नुस्, राष्ट्रकवि माधव घिमिरेदेखि मदनकृष्ण, हरिवंश लगायतका कलाकार, रबि र सन्दीप लामिछानेसम्मलाई एकठाउँ राखिएको छ ।
- त्यैपनि मुख बंगाइदिएर राखिएको छ ।
काठमाडौं, २१ जेठ । तपाइँ नेपाल आर्ट काउन्सिल पुग्नुस्, राष्ट्रकवि माधव घिमिरेदेखि मदनकृष्ण, हरिवंश लगायतका कलाकार, रबि र सन्दीप लामिछानेसम्मलाई एकठाउँ राखिएको छ । त्यैपनि मुख बंगाइदिएर राखिएको छ ।
नेपाली समाजमा चिनिएका क्यारिकेचर प्रदर्शनीमा राखिएका चित्रमा यस्तो देखिएको हो । ३४ जना कार्टुनिस्टले तयार पारेका करिब ४ दर्जन क्यारिकेचरमा अभि सुवेदी, तुलसी दिवसदेखिका क्यारिकेचर प्रदर्शनीमा राखिएको छ । कार्यशाला, प्रतियोगिता, प्रदर्शनी तथा गोष्ठीसहित गरिएको उक्त प्रदर्शनीमा २३ जेठसम्म चल्ने छ ।

आइतबारदेखि सुरु भएको उक्त प्रदर्शनीको उद्घाटन नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले एक समारोहका बीच गर्दै कार्टुनले समाजमा प्रभाव पार्ने बताइन् । ‘समाजलाई सचेत रुपमा प्रभाव पार्ने कार्टुनले विकृति विसंगतिलाई समेत तिखो गरी प्रहार गरेको हुन्छ’ उनले भनिन्, ‘प्रदर्शनीमा राजनीतिज्ञको क्यारिकेचर नराखी सामाजिक व्यक्तित्वका राखिनु निकै सराहनीय काम हो ।’
कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका प्राज्ञपरिषद् सदस्य नारदमणि हार्तम्छालीले समाजलाई झक्झकाउने कला भनेकै कार्टुन भएको दाबी गरे । उनका अनुसार कार्टुनमार्फत कलाकारले समाजलाई प्रस्तुत गर्ने र तिनका खराबीलाई चिर्ने काम गरेको हुन्छ ।
त्यस्तै कलाकार जीवन राजोपाध्यायले गत वर्षभन्दा राम्रा क्यारिकेचर प्रदर्शनीमा आएको बताए । नेपाली कार्टुनमा क्यारिकेचरको औचित्य बढ्दै गएको नेपाल कार्टुनिस्ट क्लबका अध्यक्ष अविन श्रेष्ठले बताए । उनले भने, ‘क्यारिकेचर अभिनयमा मात्रै नभइ रेखा र रङमार्फत पनि अभिव्यक्त हुन्छ । यो प्रदर्शनीको उद्देश्य पनि रङ र रेखाद्धारा समाजका प्रबुद्ध व्यक्तिको चरित्रलाई हास्य रुपमा प्रस्तुत गर्नु हो ।’
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल कार्टुनिस्ट क्लवको सहकार्यमा भएको प्रदर्शनी पत्रकार भैरव रिसाल, युवराज घिमिरे, निर शाह, वसुन्धरा भुसाल, नयन राज पाण्डे, दुर्गालाल श्रेष्ठ, भुवन केसी, दीपाश्री निरौला, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजेश हमाल, अमृत गुरुङ, शशी शाह, दुर्गा बराल, किरण मानन्धर, महावीर पुन, रवि लामिछाने लगायतका क्यारिकेचर प्रदर्शनीमा राखिएको छ ।

प्रदर्शनीमा मनुजबाबु मिश्र, अशोकमान सिंह, जीवन राजोपाध्याय, अविन श्रेष्ठ, गंगाधर सारु, वासु क्षितिज, देवेन पाण्डे, देवेन्द्र थुम्केली, केशव राज खनाल, योगेश खपांगी, रवि मिश्र, आरके थापा, उमेशचन्द्र अधिकारी, कृष्णगोपाल श्रेष्ठ, सागर शाह, भानु भटट्राई, रविन्द्र मानन्धर पल्पसा मानन्ध्र, अर्पिता शाक्य लगायतका कलाकारले बनाएका क्यारिकेचर राखिएको छ ।
प्रतियोगितात्मक उक्त प्रदर्शनीमा अभिनास मल्लले प्रथम भई १५ हजार नगद प्राप्त गरेका छन् । त्यस्तै सुरज शाक्यले १२ हजारसहित द्वितीय तथा १० हजारसहित रमिला महर्जनले तृतीय पुरस्कार प्राप्त गरेका छन् ।
प्रतिक्रिया