राष्ट्रपति मनोनयन दर्ता आज: विद्यादेवी भण्डारी दोहोरिने निश्चित
सारांश
- काठमाडौं, २३ फागुन ।
- निर्वाचन आयोगको कार्यतालिका अनुसार आज राष्ट्रपतिको लागि उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम रहेको छ ।
- फागुन २९ मा हुने निर्वाचनका लागि बुधबार बिहान १० देखि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको हो ।
काठमाडौं, २३ फागुन । निर्वाचन आयोगको कार्यतालिका अनुसार आज राष्ट्रपतिको लागि उम्मेदवारी मनोनयन दर्ता कार्यक्रम रहेको छ । फागुन २९ मा हुने निर्वाचनका लागि बुधबार बिहान १० देखि दिउँसो २ बजेसम्म मनोनयनको समय तोकिएको हो ।
एमाले स्थायी कमिटीले विद्यादेवी भण्डारीलाई राष्ट्रपति उम्मेद्वार बनाउने भएपछि
दोहोरिने निश्चितप्रायः भैसकेको छ । बाम गठबन्धनको साझा उम्मेदवार र अन्य दलले पनि समर्थन गर्ने भएकाले भण्डारीको जित निश्चित देखिएको हो ।
त्यसैगरी नेपाली कांग्रेसले पनि आफ्नो उम्मेदवार उठाउने भएको छ । कांग्रेसले सर्वसम्मत हुन नदिन लक्ष्मी राईलाई उम्मेदवार बनाउने भएको हो ।
मतदाताको अन्तिम सूची मंगलबारै सार्वजनिक गरिएको छ । निर्वाचन आयोगका अनुसार भोलि अर्थात बिहीबार साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ ।
प्रतिनिधिसभा, राष्ट्रिय सभा र प्रदेशसभाका सदस्य गरी ८ सय ८० मतदाता रहेकामा ४ जनाको नाम मतदाता सूचीमा छैन । प्रतिनिधिसभा, राष्ट्रियसभा, प्रदेशसभाका सांसदहरुले राष्ट्रपतिलाई भोट दिन पाउनेछन् ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राई मतदाता हुन पाएनन् ।
सर्वोच्च अदालतको अन्तरिम आदेशले शपथ रोकिएका कारण मतदाता हुन नपाएका हुन् ।
त्यसैगरी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतले सजाय सुनाएपछि उनी फरार छन् । त्यसैगरी रेशम चाैधरी पनि थुनामा रहेकाले मतदान गर्न पाउने छैनन् ।
प्रतिक्रिया