रुकुम(पश्चिम)का २ मतदान केन्द्र : पुनः मतदानमा कम मत खस्यो
सारांश
- रुकुम(पश्चिम)का २ मतदान केन्द्रमा शुक्रबार भएको पुनः मतदानमा आइतबारको तुलनामा कम मत खसेको छ ।
- बाँफिकोट गाउँपालिका ५ को रत्न आधारभुत विद्यालय काँडा मतदान स्थलको (क) मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्यका लागि भएको पुनः मतदानमा ५९.
- ०७ प्रतिशत अर्थात् ३ सय ९७ मत खसेको छ ।
रुकुम(पश्चिम)का २ मतदान केन्द्रमा शुक्रबार भएको पुनः मतदानमा आइतबारको तुलनामा कम मत खसेको छ । बाँफिकोट गाउँपालिका ५ को रत्न आधारभुत विद्यालय काँडा मतदान स्थलको (क) मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्यका लागि भएको पुनः मतदानमा ५९.०७ प्रतिशत अर्थात् ३ सय ९७ मत खसेको छ । आइतबार भएको मतदानमा उक्त केन्द्रमा ६३.८३ प्रतिशत् अर्थात् ४ सय २९ मत खसेको थियो ।
यस मतदान केन्द्रमा ३२ मत कम खस्यो । यसलाई आइतबारको तुलनामा त्यति कम मत मान्न नहुने मतदान अधिकृत तेजप्रसाद पौडेलले बताए । मतदानका लागि गाउँ आएकाहरु कार्य क्षेत्र तर्फ फर्किएकाले आईतबारको तुलनामा केहि कम मत खसेको हुन सक्ने उनले बताए । आइतबार २ सय ४६ ओटा मत खसेका बेला मतपेटिकामा एसिड खसालिएपछि मतदान स्थगित भएको थियो ।
त्यस्तै आठविसकोट नगरपालिका ११ को नेपाल राष्ट्रिय मावि गतसैना मतदान स्थलको (ख) मतदान केन्द्रमा भने ५० प्रतिशत पनि मत खसेन । ७ सय ५६ मतदाता रहेको उक्त मतदान केन्द्रमा जम्मा ४२.४६ प्रतिशत अर्थात ३ सय २१ मत खसेको हो । आइतबार भएको मतदानमा उक्त मतदान केन्द्रमा ६५.३४ प्रतिशत अर्थात् ४ सय ९४ मत खसेको थियो । पुनः मतदानमा १ सय ७३ मत कम खसेको हो ।
समानुपातिक सदस्यका लागि मतदातामा खासै उत्साह नदेखिएका कारण आइतबारको तुलनामा कम मत खसेको देखिएको मतदान अधिकृत कर्ण कुवँरले बताए । प्रत्यक्षमा जस्तो सामानुपातिकमा प्रतिस्पर्धा नहुने भएकाले पनि मतदातामा उत्साह कम देखिएको हुन सक्ने उनको भनाई छ । आईतबार ३ सय ३ मत खसेको अवस्थामा उक्त मतदान केन्द्रमा मतदान स्थगित भएको थियो ।
मतपत्रमा राखेर मतपेटिकामा एसिड खसालिदा मतपेटिकामा आगलागि भएपछि जिल्लाका २ मतदान केन्द्रमा मतदान स्थगित भएको थियो ।
शान्तिपूर्ण वातावरणमा मतदान
आइतबार मतदान स्थगित भएपछि यी दुई मतदान केन्द्रलाई सुरक्षाका दृष्टिकोणले संवेदनशिल मानिएको थियो । सोही अनुसार सुरक्षा व्यवस्था समेत मिलाईएको थियो । जसका कारण दुवै मतदान केन्द्रमा शान्तिपुर्ण वातावरणमा पुनःमतदान सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम(पश्चिम)ले जनाएको छ । आइतबार मतदाताले मतदान केन्द्रमा एसिड छिराउन सफल भएपछि मतदातालाई कडा चेकजाच गरेर मात्र मतदान केन्द्रमा छिराइएको थियो ।
मतपेटिका सदरमुकाम ल्याइदै
पुनः मतदान सम्पन्न भएसँगै जिल्लाका २ मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ओसार्ने काम पनि सुरु भएको छ । बाँफिकोट ५ बाट शुक्रबारै साँझसम्म मतपेटिका सदरमुकाम आइसक्ने र आठविसकोटबाट शनिबार दिउँसोसम्म मतपेटिका सदरमुकाम आइसक्ने जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी वंशिकुमार आचार्यले जानकारी दिए ।
प्रतिक्रिया