लगानीकर्ताले गुमाए सातामा १६ अर्ब

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
३८ पटक हेरिएको
Shares
लगानीकर्ताले गुमाए सातामा १६ अर्ब

सारांश

  • गत साता लगानीकर्ताले रु.
  • १६ अर्ब ९४ करोड गुमाएका छन् ।
  • पाँच कारोबार दिनमध्ये चार कारोबार दिनका लागि खुलेको बजार पहिलो दिन घटेको थियो भने अन्य तीन दिन बढेको थियो ।

गत साता लगानीकर्ताले रु. १६ अर्ब ९४ करोड गुमाएका छन् । पाँच कारोबार दिनमध्ये चार कारोबार दिनका लागि खुलेको बजार पहिलो दिन घटेको थियो भने अन्य तीन दिन बढेको थियो । पहिलो दिन साढे तीन अंक बढेको परिसूचक त्यसपछिका दिन भने ओरालो लागेको थियो । नेप्से परिसूचक गत साता १४ दशमलव ६३ अंक घटेको छ । तिहारपछि खुलेको बजारले गत साता सकारात्मक दिशा दिन सकेन । केही लगानीकर्ताले ‘पर्ख र हेर’ रणनीति अपनाएको देखिन्छ । पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक हुने समय भएकाले सूचीकृत कम्पनीहरूले नाफामूलक विवरण प्रकाशित गर्ने पर्खाइमा लगानीकर्ता रहेका छन् ।

बजारमा सेयर आपूर्ति बढ्दा नेप्से उकालो लाग्न नसकेको एक ब्रोकरले बताए । साथै, देशमा भइरहेको निर्वाचनको तयारीले पनि लगानीकर्ताले ‘पर्ख र हेर’को रणनीति अपनाएको उनको भनाइ छ । गत साता १ सय ७१ कम्पनीको १५ हजार ४ सय ६९ पटकको कारोबारमा रु. १ अर्ब ७० करोड ६० लाख ३८ हजारबराबरको ४६ लाख ३२ हजार ५ सय ६९ कित्ता सेयर खरिद–बिक्री भएको छ । सूचीकृत कम्पनीहरूले घोषणा गरेको लाभांशले पनि बजार उकालो नलाग्दा केही लगानीकर्ता अन्योलमा रहेका छन् ।

अघिल्लो साता १ सय ७३ कम्पनीका १५ हजार ६ सय ५२ पटकको कारोबारबाट २ अर्ब १७ करोड ८२ लाख ३९ हजार रुपैयाँबराबरको ४८ लाख १२ हजार ३ सय ८० कित्ता सेयर खरिद–बिक्री भएको थियो । अघिल्लो साताको अन्तिम कारोबार दिन १ हजार ५ सय ६८ दशमलव ३५ बिन्दुमा बन्द भएको बजार गत साताको बुधबार १ हजार ५ सय ५३ दशमलव ७२ बिन्दुमा बन्द भएको छ । परिसूचक पहिलो दिनको तुलनामा १८ दशमलव २ अंक घटेको छ । ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३ दशमलव ९८ अंक बढेर ३ सय २७ दशमलव शून्य २ बिन्दुमा पुगेको छ ।

गत साता कारोबारमा आएको ट्रेडिङ, होटेल र ‘अन्य’ समूहको परिसूचकबाहेक अरू सबै समूहको परिसूचक घटेको छ । कारोबारमा आएको होटेल समूहको परिसूचक ३ दशमलव ७८ अंक, ‘अन्य’ समूहको परिसूचक ३४ दशमलव ७० अंक र ट्रेडिङ समूहको शून्य दशमलव १६ अंक बढेको छ । बैंकिङ समूहको परिसूचक २३ दशमलव ६३ अंक जलविद्युत् समूहको ५१ दशमलव ८४ अंक, विकास बैंक समूहको ३४ दशमलव ३१ अंक घटेको छ । त्यसैगरी, उत्पादनमूलक समूहको २० दशमलव ८८ अंक, बिमा समूहको ६५ दशमलव शून्य २ अंक र वित्त समूहको ११ दशमलव ४४ अंक घटेको छ ।

गत साता कारोबार रकम र कारोबार संख्याका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड अगाडि रहेको छ भने सेयर संख्याका आधारमा एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड–१ अगाडि रहेको छ । सो साता नेपाल दूरसञ्चारको ५ सय ७३ पटकको कारोबारमा रु. १९ करोड ५५ लाख २९ हजारबराबरको सेयर खरिद–बिक्री भएको छ । सो साता एनएमबी सुलभ इन्भेष्टमेन्टको ७ लाख १८ हजार इकाइ कारोबार भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?