प्रधानन्यायधीश जोशी कि मिश्र, कहिले बस्छ संवैधानिक परिषद् बैठक ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
१७ पटक हेरिएको
Shares
प्रधानन्यायधीश जोशी कि मिश्र, कहिले बस्छ संवैधानिक परिषद् बैठक ?

सारांश

  • काठमाडौं, १७ वैशाख ।
  • सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त भएको डेढ महिना बढी बितिसकेको छ ।
  • तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले उमेर विवादका कारण चैत १ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए ।

काठमाडौं, १७ वैशाख । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश पद रिक्त भएको डेढ महिना बढी बितिसकेको छ । तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले उमेर विवादका कारण चैत १ गतेदेखि लागू हुने गरी पदबाट राजीनामा दिएका थिए । त्यसयता वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी निभाउँदै आएका छन् ।

चैत १३ गते बसेको न्यायपरिषद् बैठकले वरिष्ठतममध्ये कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी र न्यायाधीद्वय ओमप्रकाश मिश्र र चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्मा पठाइसकेको छ । तर, अहिलेसम्म संवैधानिक परिषद्को बैठक बस्न नसकेकाले प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस हुन सकेको छैन ।

संवैधानिक परिषद्ले नाम सिफारिस गरेपछि प्रतिनिधिसभाको संसदीय सुनुवाइ समितिले सुनुवाइ गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने प्रावधान छ । तर, एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता तथा प्रधानमन्त्री केपी ओलीको व्यस्तताका कारण संवैधानिक परिषद्को बैठक कहिले बस्ने टुंगो लागेको छैन ।

वरिष्ठताका आधारमा जोशी प्रधानन्यायाधीशका दाबेदार भए पनि उनले केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई उनकै निवासमा भेटेको समाचार बाहिरिएपछि जोशीको सम्भावना निकै कम रहेको स्रोतले बताएको छ । उनको कार्यकाल आगामी मंसिरमा सकिँदैछ । सोही कारण प्रधानमन्त्री ओलीले न्यायाधीश मिश्र र राणामध्ये एकजनाको नाम सिफारिस गर्न सक्ने स्रोतले बतायो । यदि प्रचण्डले दबाब दिएमा मात्र जोशीको प्रधानन्यायाधीशमा सम्भावना रहेको बुझिएको छ । तर, यसअघि दुवै प्रहरी संगठनमा प्रचण्डले भनेकै व्यक्ति आईजीपी नियुक्ति भएकाले प्रधानमन्त्रीको स्वविवेकमा भर पर्ने बताइएको छ ।

पूर्वप्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीलाई न्यायपरिषद्का सचिवले उनको अवकाश साउनमै भएको जानकारी फागुन ३० गते दिएका थिए । लगत्तै चैत १ गते पराजुलीले पदबाट राजीनामा दिएका थिए । उनको अवकाश कुन मितिबाट लागू हुने भन्ने विवाद चाहिँ कायमै छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?