वाम एकता : गर कि मर

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ २३, २०७४
|
१
|
६१ पटक हेरिएको
Shares
वाम एकता : गर कि मर

सारांश

  • उदय जीएम एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकअर्कालाई लगाएका आक्षेप र गरेका कटाक्षहरु सुन्दा लाग्थ्यो, यिनीहरु एकअर्काका मुखै हेर्न नसक्ने स्थितिमा छन् ।
  • बोली बाराबार र पानी बाराबारको अवस्थामा रहेका यी दुई पार्टीका दुई शीर्ष नेता रातारात प्रेमीप्रेमिका जस्ता देखिए ।
  • भ्यालेन्टाइन डेमा आउने मोडलहरुका पोज बिर्साउने तस्वीरहरु भाइरल भए यी दुई शीर्ष नेताका ।

उदय जीएम

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकअर्कालाई लगाएका आक्षेप र गरेका कटाक्षहरु सुन्दा लाग्थ्यो, यिनीहरु एकअर्काका मुखै हेर्न नसक्ने स्थितिमा छन् । बोली बाराबार र पानी बाराबारको अवस्थामा रहेका यी दुई पार्टीका दुई शीर्ष नेता रातारात प्रेमीप्रेमिका जस्ता देखिए । भ्यालेन्टाइन डेमा आउने मोडलहरुका पोज बिर्साउने तस्वीरहरु भाइरल भए यी दुई शीर्ष नेताका । सर्वसाधारणदेखि ठूलाठूला राजनीतिक विश्लेषकहरु र अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरुलाई नै चकित बनाउने गरी यी दुई नेताले चुनावी तालमेलमात्रै होइन पार्टी एकता गर्नेसम्मको घोषणा गर्न भ्याए । यी दुई बूढाहरुले हुँदाहुँदा यो पनि घोषणा गर्न भ्याए कि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई सिटमा विजय हासिल गर्छ ।

परिणाम नगदै हातमा छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ वामगठबन्धनले दुईतिहाई सिटमा विजय हासिल गरिसकेको छ । प्रत्यक्ष र समानुपातिकतर्फ जोड्दा दुईतिहाई पुग्न झिनो संख्या मात्रै कम हुन्छ । दुईतिहाई नपुगे पनि वाम गठबन्धनले लगाउँदै आएको नारा “स्थायी सरकार”का लागि इन्द्रेका बाउ चन्द्रेले पनि रोक्न सक्ने छैन । झण्डै दुईतिहाईको बलियो र शक्तिशाली सरकार निर्माणको मार्गप्रशस्त भइसकेको छ । “तँ चिता, म पुराउँछु” भनेझैं केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले चिताएको कुरा नेपाली जनताले ठाउँका ठाउँ पुर्याइदिएका छन् । प्रतिनिधिसभा र प्रदेशसभाका प्रत्यक्ष र समानुपातिक दुबैमा जनताले वाम गठबन्धनमै आफ्नो प्रचण्ड अभिमत जाहेर गरेका छन् । सिटहरुमा तालमेलमात्रै होइन चुनावपछि दुबै पार्टीको एकता हुने उद्घोष र साझा घोषणापत्रसहित चुनावी मैदानमा आएको वाम गठबन्धनलाई प्रचण्ड जनादेश प्राप्त भएको हो ।

वाम गठबन्धनलाई यति धेरै प्रचण्ड जनादेश प्राप्त हुनुका एक हैन अनेक कारण छन् । उसै त नेपालमा वामपन्थी मत वा रुझान अत्यधिक छ । यत्रतत्र छरिएको वामपन्थी मत एकत्रित हुँदा परिणाममा वाम गठबन्धनका लागि सकारात्मक हुने नै भयो । नेपालमा नयाँ संविधान घोषणा जारी हुन नदिने भारतीय षडयन्त्र र त्यसलाई चिरेर संविधान जारी गर्नेदेखि नेपालमाथि भारतीय नाकाबन्दीमा तत्कालीन केपी शर्मा ओलीको चट्टानी अडान वाम गठबन्धनको अर्को पूँजी थियो । भारतसँगको निर्भरतालाई तोड्दै चीनसँगको सम्बन्ध विस्तार र नाका तथा व्यापार खोल्ने सम्झौता केपी शर्मा ओली सरकारको आफैमा ऐतिहासिक कदम थियो । त्यसमाथि आफ्नो क्रियाशीलता र कर्मका कारण एमाले र माओवादी केन्द्र आफैमा जनस्तरमा भिजेका र शक्तिशाली पार्टी थिए । दुई ठूला पार्टीमात्रै होइन राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र कथाले मागेका केही ठाउँमा राप्रपालाई समेत सहयोग गर्ने र सहयोग लिने सवालमा वाम गठबन्धनले बनाएको फराकिलो छातिले पनि यसप्रति सकारात्मक वातावरण निर्माण भयो । मुख्य कुरा त दुई ठूला दलहरु चुनावपछि पार्टी एकता नै गर्ने सन्देशसहित चुनावमा होमिएपछि देशव्यापी माहोल सिर्जना गर्नमा यसले ठूलो भूमिका निर्वाह गर्यो । अलग अलग पार्टीमा विभक्त हुँदा निराश वामपन्थी जनमतसमेत सक्रिय भएर वाम गठबन्धनको पक्षमा सक्रिय रह्यो ।

एकातिर वाम गठबन्धनको एकत्रित ताकत र त्यसतर्फ उर्लिएको जनमत थियो भने अर्कोतर्फ प्रतिष्पर्धी नेपाली कांग्रेसको फितलो र कमजोर प्रस्तुति । सरकारको प्रमुख भएकाले पनि धेरै काण्ड र अपजसहरुको भारी बोकेर हिडिरहे प्रधानमन्त्री शेरबहादुर देउवा । आइजीपी नियुक्तिदेखि प्रधानन्यायाधीश सुशीला कार्कीमाथिको महाअभियोग, उम्मेदवार छनौटमा मनोमानीदेखि नातावाद र कृपावादको भुमरीमा फस्दै गए शेरबहादुर देउवा । प्रधानमन्त्री शेरबहादुर देउवाको छवि पार्टीभित्र र बाहिर धुमिल हुँदै गयो र यी अत्यन्त विवादित र अलोकप्रिय पात्रका रुपमा हठी छविमा प्रस्तुत भइरहे । समग्रमा कांग्रेसको भारी यस्तो भयो कि यता सम्हाल्यो उता फुस्कियो, उता सम्हाल्यो यता फुस्कियो । यतिसम्म कि कांग्रेसले आफूभित्रको अन्तर्घातलाई पनि रोक्न असक्षम रह्यो । चुनावी मैदानमा देखिएको कांग्रेसको असफलताको स्वाभाविक लाभ वाम गठबन्धनलाई जाने निश्चित थियो, गयो ।

अब ? अब वाम गठबन्धनको पक्षमा प्रचण्ड जनादेश आउँदै गर्दा यसका शीर्ष नेता र दोस्रो तहका नेताहरुका बोलीमा हल्का दम्भको छनक पाउन थालिएको छ । शीर्ष नेता वा दोस्रो, तेस्रो तहका नेताहरुका दम्भमिश्रित प्रतिक्रियाहरुले अत्यन्त उत्साहित र आशावादी देखिएको ठूलो तप्कामा हल्का चिसोपन घुसेको छ । उत्साहमा निराशापन घुस्न थालेको छ । चुनावको अवधिभर निकै आशावादी देखिएको जनताको मन अलिकति चिसिएको छ । वाम गठबन्धनमा समाहित दलका नेताहरुले एकअर्कालाई निषेधै गर्ने खालका अभिव्यक्तिहरुले झस्काएको छ ।

जनताको पाटोबाट अब कुनै कसर बाँकी छैन । जनताले गर्ने आफ्नो काम गरिसकेका छन् । राष्ट्रियस्तरमा वाम गठबन्धनले आफ्नो साझा घोषणापत्रमार्फत अगाडि सारेका एजेण्डाहरु पूरा गर्नुको अर्को कुनै विकल्प छैन । प्रत्येक जिल्ला, निर्वाचन क्षेत्र र प्रदेशसभाको निर्वाचन क्षेत्रका आआफ्ना स्थानीय विशेषता र आवश्यकताका आधारमा उम्मेदवारहरुले फरक र स्थानीय एजेण्डाहरुको पनि उठान गरेका छन् । प्रत्येक उम्मेदवारहरुले स्थानीय समस्या तथा एजेण्डाहरु समेटिएको प्रतिवद्धतापत्रहरु पनि सार्वजनिक गरेका छन् । त्यसबाहेक जनस्तरबाट मागपत्रका रुपमा आएका समस्या वा योजनाहरुलाई एकत्रित गरी ती सबै माग वा समस्याहरुको सम्बोधन हुनेगरी गुरुयोजना बनाएर अगाडि बढ्नुको कुनै विकल्प छैन । तलदेखि माथिसम्म र माथिदेखि तलसम्म सेटै मिलाएर विजयको माला पहिराउनुको तात्पर्य पनि यही होला ।

जनताले वाम गठबन्धनका उम्मेदवारहरुको खाप्चो हेरेर मतदान गरेका पक्कै होइनन् । वाम गठबन्धनले लगाएको देशको विकास र समृद्धिको नारामा लोभिएका हुन् । विकास र समृद्धिको आशा गरेका हुन् । जनचाहना त्योभन्दा अर्को छैन । पछिल्ला २ दशकलाई फर्केर हेर्ने हो भने १० वर्ष माओवादीको जनयुद्ध र १० वर्ष शान्तिप्रक्रिया वा संक्रमणकालमा बितेको छ । बितेको २ दशकमा मुलुकले विकास र समृद्धिका लागि ध्यान केन्द्रित गर्नै पाएको छैन । जे भएका छन्, ती त्यसै भएका छन् भन्दा पनि हुन्छ । त्यसकारण मुलुक वा जनता सबैको एउटै चाहना छ, विकास र समृद्धि । विकास र समृद्धिले नै मुलुकका सबै खाले समस्याको सम्बोधन गर्नेछ भन्ने जनविश्वास छ । यही विश्वास र बुझाइका कारणले नै वाम गठबन्धनलाई जनमत चुलिएको हो ।

पार्टी एकताको शुरुवात सिद्धान्त, राजनीति, रणनीति, कार्यनीति, कार्यदिशा जस्ता विषयहरुमा छलफल र बहसबाट गर्ने परिपाटी वा प्रचलन थियो । यसपटक चाहिँ विषयको उठान माथिबाट भए तापनि त्यसलाई मैझारो मार्ने काम तलबाट भएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहाडलाई सम्याउने काम कार्यकर्तालाई दिएर एकता प्रक्रियामा होमिएको छ । कार्यकर्ताहरु नेताका आदेशलाई सहर्ष स्वीकार गरेर मैदानमा होमिए र प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पहाडलाई सम्याइसके । कार्यकर्ताहरु अहोरात्र खटेर भोकै, प्यासै जुटेर दुबै पार्टीका कार्यकर्ताहरुले लडाइँकै मैदानमा मन माझिसके । एकअर्काका नाडी पनि छामिसके । दिलैदेखि एक भइसके र आफ्ना अगाडि विजयको झण्डा गाडिसके । कोही कसैले पार्टी एकताबाट विमुख हुने कुरा गरेमा त्यो दुर्भाग्य नै हुनेछ ।

जेसुकै कारणले होस्, तलदेखि माथिसम्म वाम गठबन्धनले वर्चश्व कायम गरिसकेको छ । अब वाम गठबन्धनका अगाडि कि गर कि मर बाहेक अर्को कुनै बहाना वा विकल्प बाँकी छैन । यो यथार्थलाई आत्मसात गरेर पार्टी एकतालाई मूर्तरुप दिनुका साथै मुलुकलाई विकास र समृद्धिको दिशामा डोर्याउने हो भने पक्कै पनि वाम गठबन्धनले अझै केही दशक अहिलेको वर्चश्व र दबदवालाई कायम राख्ने निश्चित छ । जनभावनालाई लात हानेर फेरि पनि एकापसमा षडयन्त्र, सत्तासमीकरण, पद र प्रतिष्ठाको लडाइँलाई निरन्तरता दिन थालेमा यो नै वाम गठबन्धनको सबैभन्दा ठूलो दुर्भाग्य र अवसानको कारक बन्ने निश्चित छ ।

पछिल्लो २ दशकसम्म सत्तासमीकरणको खेलले आजित भएका नेपाली जनताले वाम गठबन्धनलाई झण्डै दुई तिहाईको जित दिलाएका छन् । यो जनादेशले नेपाली जनताको विकास र समृद्धिप्रति कति चाहना छ भन्ने कुरालाई पुष्टि गर्छ । वाम गठबन्धनका अगाडि अब कुनै पनि बहाना वा विकल्प बाँकी रहेका छैनन् । देशलाई विकास र समृद्धितर्फ लैजानुको अर्को कुनै बाटो छैन । अहिलेको प्रचण्ड जनादेश भन्छ, कि काम गर्न कम्मर कस कि खरानी घस्न तयार भएर बस । किनकि, कुनै बहाना र कुतर्क अगाडि सारेर अझै पनि पद र प्रतिष्ठाको लडाइँ लडिरहने हो भने झण्डै समान हैसियतको नेपाली कांग्रेस मैदानमा छ । वाम गठबन्धन अलिकति पनि चुक्ने हो भने स्वभावैले कांग्रेस लाभान्वित हुनेछ र कांग्रेसले आज भोगिरहेको नियति पाँच वर्षपछि वाम गठबन्धनले भोग्न वाध्य हुनुपर्ने छ । त्यसैले, कि काम गर्न कम्मर कस कि पाँच वर्षपछि खरानी घस्न तयार भएर बस ।

(समाप्त)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Anjan Shrestha Anjan

    हो सहि कुरो हो मिलेर छिटो पार्टी एकता गर्नु अती अवस्यक्ता छ नत्र जन्ताहरुलाई ठग्ने काम बन्दा गर्नु होस कालो मोसो जुत्ताको माला लगैदिनु न परोस्

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुम पश्चिमको प्रतिनिधिसभामा अर्थमन्त्री शर्माको उम्मेदवारी
रुकुम पश्चिमको प्रतिनिधिसभामा अर्थमन्त्री शर्माको उम्मेदवारी
कर्मचारी समायोजन अध्यादेशप्रति निजामती कर्मचारीको असहमति
कर्मचारी समायोजन अध्यादेशप्रति निजामती कर्मचारीको असहमति
अपांगता भएका व्यक्ति कोही पछाडि नपरुन् : प्रधानमन्त्री ओली
अपांगता भएका व्यक्ति कोही पछाडि नपरुन् : प्रधानमन्त्री ओली
आखिर ओली र प्रचण्ड कुन ठाउँमा बसेर गोप्य वार्ता  गर्दैछन् ?
आखिर ओली र प्रचण्ड कुन ठाउँमा बसेर गोप्य वार्ता गर्दैछन् ?
पहिले नेताहरु नारायणहिटी जान्थे, अहिले दिल्ली पानी पँधेरो : चित्रबहादुर केसी
पहिले नेताहरु नारायणहिटी जान्थे, अहिले दिल्ली पानी पँधेरो : चित्रबहादुर केसी
प्रधानमन्त्री प्रचण्डलाई एनआरएनएको बधाई
प्रधानमन्त्री प्रचण्डलाई एनआरएनएको बधाई
दाङमा अनिश्चितकालीन बन्दको घोषणा : बल्न थाले दाङका सडकमा टायर
दाङमा अनिश्चितकालीन बन्दको घोषणा : बल्न थाले दाङका सडकमा टायर
ललितपुर मोबाइल एक्स्पो २०७४ हुँदै, मोबाइल खरिदमा ७० प्रतिशतसम्मको छुट
ललितपुर मोबाइल एक्स्पो २०७४ हुँदै, मोबाइल खरिदमा ७० प्रतिशतसम्मको छुट
प्रदूषण न्यूनीकरणका लागि फोहर जलाउन मिल्ने डस्टबिन
प्रदूषण न्यूनीकरणका लागि फोहर जलाउन मिल्ने डस्टबिन
३३ किलो सुन प्रकरण: किन झीकाइयो अभियुक्तलाई काठमाडौ ?