अहिले परमिट पाएको सिमराबाट पोखरा पुग्न १५ मिनेट ढिला हुने
नागरिक उड्डयन, संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले नेपाल भित्रिने विमानका लागि नयाँ रुट परमिट दिन भारत सकारात्मक भएको बताएका छन् । रुट परमिटलगायत प्राविधिक कुरामा भारतसँग अनौपचारिक छलफल भइरहेको र अहिले सकारात्मक रहेको मन्त्री अधिकारीले बताए ।
पोखरामा शनिबार भएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल उच्चस्तरीय सहयोग समितिको बैठकमा मन्त्री अधिकारीले सामान्य ढंगबाटै रुट परमिटको विषय टुंगिने बताए । बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डामा रुट परमिटलाई पनि राख्नुपर्ने बताए पनि मन्त्री अधिकारीले सामान्य प्रक्रियाबाटै परमिटको विषयले टुंगो लाग्ने बताए । उनले विमानस्थल निर्माण कार्य सकिँदासम्म सम्झौता भइसक्ने दाबी गरे । अहिले सिमराबाट मात्र नेपालमा अन्तर्राष्ट्रिय विमान भित्रिने गरेका छन् ।
चार ठाउँबाट परमिट माग, दुई ठाउँमा सकारात्मक
नेपालले चार ठाउँबाट अन्तर्राष्ट्रिय विमान भित्रिन रुट परमिट माग गरेको छ । माग गरेकोमध्ये भारत दुई ठाउँमा परमिटका लागि सकारात्मक भइसकेको छ । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले प्राविधिक बसेर रुट परमिटका विषयमा टुंगो लगाउने बताए ।
नेपालले महेन्द्रनगर, विराटनगर वा जनकपुर, नेपालगन्ज र भैरहवाबाट रुट परमिट माग गरेको छ । अहिले भारत महेन्द्रनगर र विराटनगर वा जनकपुरबाट अनुमति दिन सकारात्मक छ । एयरपोर्ट अफ इन्डिया र नेपालको प्राधिकरणको टोली बसेर टुंग्याउन बाँकी छ । भारतले नेपालगन्जबाट अनुमति नदिने अडान राखेको छ । नेपालले भैरहवाबाट पनि अनुमति मागेको छ, तर यस विषयमा विस्तृत छलफल भएको छैन ।
१५ मिनेट ढिला
अहिलेकै रुट परमिटका आधारमा अन्तर्राष्ट्रिय विमानलाई निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्न थप १५ मिनेट लाग्ने महानिर्देशक गौतमले बताए । सिमराबाट भित्रिएर भैरहवा र पोखरा विमानस्थल पुग्न १५ मिनेट बढी जहाज आकासमा उड्नुपर्ने हुन्छ ।
उच्चस्तरीय सहजीकरण समिति खारेज हुने
तत्कालीन संविधानसभा सदस्य रवीन्द्र अधिकारीको अध्यक्षतामा विमानस्थल निर्माणका लागि आवश्यक सहजीकरण गर्न उच्चस्तरीय सहजीकरण समिति बनेको थियो । अधिकारी अहिले नागरिक उड्डयन, संस्कृति तथा पर्यटनमन्त्री बनेका छन् । मन्त्री अधिकारीले पहिले सहजीकरण गर्न बनेको समिति अब आवश्यक नरहेको बताए । अब प्रदेश सरकार र स्थानीय तहले नै सहजीकरण गर्ने उनले जानकारी दिए । १०–१२ दिनमा समिति खारेज गरेर सहजीकरणको जिम्मा स्थानीय र प्रदेश सरकारलाई दिने उनले बताए ।
समयमै पोखरा विमानस्थल निर्माण : मन्त्री अधिकारी
पर्यटनमन्त्री रवीन्द्र अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य तोकिएकै समयमा सम्पन्न हुने बताएका छन् । १० जुलाई २०२१ मा सम्पन्न गर्ने लक्ष्य छ । मन्त्री अधिकारीले भने, ‘तोकिएकै समयमा काम पूरा हुन्छ । यसमा कुनै सम्झौता हुँदैन ।’ अहिले केन्द्रकै कारण काममा ढिलाइ भएको अब त्यस्तो नहुने उनको प्रतिबद्धता छ ।
मन्त्री अधिकारीले केन्द्र, प्रदेश सरकार र स्थानीय सरकारको क्षेत्राधिकारको लडाइँको चेपुवामा गौरवका आयोजनालाई पार्न नहुने बताए । छिटै केन्द्र सरकारले प्रदेश तथा स्थानीय सरकारलाई बजेट र कार्यक्रम हस्तान्तरण गर्ने उनको भनाइ छ ।
Arun Patel
Supob