विश्वकप फुटबल २०१८: रोनाल्डोको बेगमा कत्तिकाे टिक्ला त मोरोक्को ?
सारांश
- विश्वकपको पहिलो खेलमा असाधारण प्रदर्शन गरेका क्रिस्टियानो रोनाल्डोका सामु आज मोरोक्कोलाई प्रतियोगिताबाट बाहिरको बाटो देखाउँदै पोर्चुगललाई अन्तिम १६ को नजिक पुर्याउने मौका छ।
- रोनाल्डोको ह्याट्रिकसँगै स्पेनसँग पहिलो खेलमा पोर्चुगलले ३–३ को बराबरी खेलेको थियो।
- मोरोक्को भने पहिलो खेलमा इरानविरुद्ध आत्मघाती गोल गर्दै पोर्चुगलसँग खेल्न आएको हो।
विश्वकपको पहिलो खेलमा असाधारण प्रदर्शन गरेका क्रिस्टियानो रोनाल्डोका सामु आज मोरोक्कोलाई प्रतियोगिताबाट बाहिरको बाटो देखाउँदै पोर्चुगललाई अन्तिम १६ को नजिक पुर्याउने मौका छ।
रोनाल्डोको ह्याट्रिकसँगै स्पेनसँग पहिलो खेलमा पोर्चुगलले ३–३ को बराबरी खेलेको थियो। मोरोक्को भने पहिलो खेलमा इरानविरुद्ध आत्मघाती गोल गर्दै पोर्चुगलसँग खेल्न आएको हो। इरानविरुद्धको खेलको अन्तिममा फरवार्ड आजिज बाउहाडोजले आफ्नै पोस्टमा गोल गरेका थिए।
रोनाल्डोले सुरुवाती खेल प्रदर्शन मोरोक्कोविरुद्ध लुजनिकी स्टेडियममा दोहोर्याए पोर्चुगल अन्तिम १६ को नजिक हुनेछ भने मोरोक्को प्रतियोगिताबाट बाहिरिनेछ।
रोनाल्डोका तथ्यहरुले पनि मोरोक्को दबाबमा छ। रोनाल्डोले लगातार चार विश्वकपमा गोल गरेका छन् भने विश्वकप, युरोपियन च्याम्पियन जस्ता ठूला ८ ठूला प्रतियोगितामा लगातार गोल गरेका छन्।
पाँच पटक विश्वका सबोत्कृष्ट खेलाडी चुनिएका रोनाल्डोले २००३ मा पोर्चुगलका लागि डेब्यू गरेपछि १ सय ५१ खेल खेल्दै ८४ गोल गरेका छन्। उनले करिअरमा ५१औं ह्याट्रिक समेत गरेका छन्।
मोरोक्कोका म्यानेजर हार्भी रिनार्डले पनि रोनाल्डोलाई रोक्नु आफ्नो टोलीको मुख्य चुनौती रहेको बताउँछन्।
‘यदि तपाईले रोनाल्डोका विरुद्ध योजना बनाउनुहुन्छ भने पनि उनी अर्को उपाय निकाल्छन्,’ रिनार्डले भने, ‘उनी असाधारण छन् तर हामीले उनलाई रोक्न सक्नेजति प्रयास गर्नेछौं।’
पोर्चुगलका डिफेन्डर पेपेले रोनाल्डो जस्ता खेलाडी हुनु पोर्चुगलको अहोभाग्य रहेको बताए। ‘हाम्रो बलियो पक्ष भन्नु नै रोनाल्डो हुन्,’ बुधबारको खेलअघि उनले भने, ‘उनीपनि हामीसँग हुँदा खुशी छन्। उनीजस्ता खेलाडी पोर्चुगलले पाउनु अहो भाग्यको हो।’
रोनाल्डो र मोरोक्कोका मेहदी बिनासिया र यी दुई टोली बीच आफ्नै इतिहास छ।
यी दुई टोली एकअर्काविरुद्ध मेक्सिकोमा भएको १९८६ को विश्वकपमा खेलेका थिए। जसमा मोरोक्कोले ३–१ को जित हात पार्दै अन्तिम १६ मा स्थान बनाएको थियो भने पोर्चुगल समूहको पुछारमा रहेको थियो।
अन्तिम पटक रोनाल्डो र मेहदीको भेट च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा भएको थियो। युभेन्ट्सबाट खेल्ने मेहदीले लुकास भेन्जक्युजलाई डी बक्सभित्र धकेलेपछि पाएको पेनाल्टीमा रोनाल्डोले गोल गर्दै रियललाई सेमिफाइनलमा पुर्याएका थिए। पछि फाइनलमा लिभरपुललाई पराजित गर्दै रियल १३औं पटक युरोपियन च्याम्पियन बनेको थियो।
विश्वकप बाहेक भने मोरोक्कोलाई पोर्चुगलले २ खेलमा पराजित गरेको छ भने एक खेलमा जित हात पारेको छ। समूहको पुछारमा रहेको मोरोक्को विश्वकपमा रहिरन पोर्चुगलविरुद्ध एक अंक खोस्ने लक्ष्यका साथ मैदान उत्रनेछ।
प्रतिक्रिया