विश्व कप क्रिकेटः दक्षिण अफ्रिकाको लज्जासपद हार, इंग्ल्याण्ड १०४ रनले विजयी
सारांश
- काठमाडौं ।
- विश्व कप क्रिकेटको उपाधि दाबेदार मानिएको घरेलु टिम इंग्ल्याण्डले आईसीसी विश्व कप २०१९ को उद्घाटन खेलमा जित निकाल्दै प्रतियोगिताको शुखद् शुरुआत गरेको छ ।
- लन्डनमा बिहीबार दक्षिण अफ्रिकालाई इंग्ल्याण्डले १०४ रनले पराजित गरेको हो ।
काठमाडौं । विश्व कप क्रिकेटको उपाधि दाबेदार मानिएको घरेलु टिम इंग्ल्याण्डले आईसीसी विश्व कप २०१९ को उद्घाटन खेलमा जित निकाल्दै प्रतियोगिताको शुखद् शुरुआत गरेको छ । लन्डनमा बिहीबार दक्षिण अफ्रिकालाई इंग्ल्याण्डले १०४ रनले पराजित गरेको हो । ३१२ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका २०७ रनमा अलआउट भयो । टस हारेर पहिला ब्याटिंग गरेको इंग्ल्याण्डका लागि उद्घाटन खेलमा घरेलु टिमलाई शानदार जिताउन बेन स्टोक्सले अलराउण्ड प्रदर्शन गरे । दक्षिण अफ्रिकालाई लक्ष्यमा पुग्न नदिन आईपीएलमा धमाल गरेका जोफ्रा आर्चरले घातक बलिंग गरे ।
उनले ३ विकेट लिए । यस्तै बेन स्टोक्स र लियम पलंकेटले समान २–२ विकेट लिए भने मोइन अली र अदिल राशिदको नाममा १–१ रह्यो । एक विकेट भने रनआउटका रुपमा प्राप्त भएको थियो ।
दक्षिण अफ्रिकाका लागि ओपनर क्वान्टन डि ककले सर्वा्धिक रन बनाए । उनले ६८ रन बनाए भने अर्का ब्याट्सम्यान भान डेर दुसनले ५० रन बनाए । अन्य ब्याट्सम्यानले खेल्न सकेनन् ।
यसअघि टस हारेर पहिला ब्याटिंगको निम्तो पाएको इंग्ल्याण्डले ८ विकेटमा ३११ रन बनाएको थियो ।
इंग्ल्याण्डका ४ खेलाडीले अर्धशतक बनाए भने स्कोर तीनसय पार हुँदा पनि एक पनि शतक लागेन । घरेलु टिमका लागि अलराउण्डर बेन स्टोक्सले सर्वा्धिक रन बनाउनेक्रममा ७९ बलमा ८९ रन बनाए । यस्तै कप्तान इयन मोर्गनले ५७ रन बनाए भने ओपनर जेसन रोयले ५४ रन बनाए । यस्तै जोय रुटले ५१ रन बनाए ।
इंग्ल्याण्डका तीन खेलाडीले सिंगल डिजिटमा रन बनाए भने ओपनर जोनी बेयरस्टो शून्यमा आउट भए ।
दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडी सबैभन्दा सफल रहे । उनले तीन विकेट लिए । यस्तै कागिसो राबाडाले २ विकेट लिए भने इमरान ताहिरले पनि दुई विकेट लिए । यस्तै अल्फासो फुल्क्यायोले १ विकेट लिए ।
प्रतिक्रिया