श्रवणशक्ति कमः चित्रकलामा निपुण

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ११, २०७५
|
|
२४ पटक हेरिएको
Shares
श्रवणशक्ति कमः चित्रकलामा निपुण

सारांश

  • काठमाडौँ, ११ असोज ।
  • नेपाली समाजमा शारीरिक अपाङ्गता भएका मानिसले समाजमा खुलेर आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर विरलै पाउँछन् ।
  • त्यस्ता व्यक्तिको विवाह पनि कमैको हुने गरेको छ ।

काठमाडौँ, ११ असोज । नेपाली समाजमा शारीरिक अपाङ्गता भएका मानिसले समाजमा खुलेर आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर विरलै पाउँछन् । त्यस्ता व्यक्तिको विवाह पनि कमैको हुने गरेको छ । ललितपुर कुपण्डोलमा जन्मनुभएकी ३६ वर्षीया रश्मि अमात्य भने बोल्न नसक्ने भएर पनि एक उदाहरणीय पात्र बन्नुभएको छ ।विवाहअघि आफ्ना रहरलाई खुम्च्याएर राख्न बाध्य उहाँको विवाह लमजुङका हरि अधिकारीसँग भएपछि उहाँको दिशा नै बदलियो । उहाँ संकेतमार्फत भन्नुहुन्छ, “मैले त कल्पना पनि गर्न सकेकी थिइन म पनि पढ्न सक्छु, केही गर्न सक्छु भनेर ।” श्रीमान्को साथ र हौसलाले आफूलाई अघि बढ्न मद्दत मिलेको उहाँ बताउनुहुन्छ । सामान्यभन्दा असामान्य हुँदा नै आफूले प्रगति गर्न सकेको रश्मिको जिकिर छ ।

अाफू बोल्न नसक्ने भए पनि परिवारमा छोरीले बोल्न सक्दिन भन्ने लाजले आफूलाई सामान्य व्यक्ति पढ्ने विद्यालयमा नै भर्ना गरिदिनुभएको रश्मिले बताउनुभयो । बहिरा विद्यालय धेरै टाढा भएपछि उहाँलाई कुपण्डोलकै नाइटिङ्गेल विद्या मन्दिरमा भर्ना गरिएको थियो । “अरु साथीहरुले पढेर बस्दा म केही बुझ्दिनथेंँ, अल्छी लाग्थ्यो र चित्र कोरेर बस्थेंँ”, उहाँले भन्नुभयो । केही दिनसम्म गृहकार्य गरेर शिक्षकशिक्षिकाबाट कुटाइ खाए पनि शारीरिक अवस्थाका बारेमा थाहा पाइसकेपछि उहाँहरुबाट उहाँले हौसला पाउनुभएको थियो ।विसं २०३९ मा जन्मनुभएकी रश्मिलाई परिवारमा बुवाको सहयोग नभए पनि आमाले भने चित्र बनाउन सिकाउने गर्नुहुन्थ्यो । आमाको सल्लाहपछि नै उहाँले चित्रकलासम्बन्धी तालीम लिनुभएको थियो । सधैंँ पसलमा मात्र व्यस्त हुने उहाँको परिवारबाट आफूले समय नपाउँदा चित्र बनाउने काम नै उहाँको मुख्य थियो ।

उहाँ कक्षा नौसम्म लगालग उत्तीर्ण भए पनि प्रवेशिका परीक्षा भने उत्तीर्ण हुनुभएन । अनुत्तीर्ण भएपछि उहाँले पढाइ नै छाडिदिनुभयो । पढाइ छाडेपछि उहाँ नेपाल बहिरा सङ्घमा आबद्ध हुनुभयो । सङ्घमा आबद्ध भएपछि आफूले त्यहीँबाट नाटक सिक्ने अवसर पाएको उहाँ बताउनुुहुन्छ । शुरुआतमा उहाँले कृष्ण सहयात्रीको तीन नाटकमा काम गर्ने अवसर पाउनुभएको थियो । नाटककै क्रममा रश्मिको भेट हरिसँग भएको थियो ।हरिसँग विवाह भएपछि नै उहाँले पढाइलाई निरन्तरता दिँदै व्यावसायिक रुपमा चित्र बनाउने काम गर्न थाल्नुभएको थियो । चित्र बनाउने गरेर मात्र नसिकिने लागेपछि हाल उहाँ काठमाडौँ विश्वविद्यालयअन्तर्गत स्नातक तहमा ललितकला विषय अध्ययन गर्दै हुनुहुन्छ । चित्र कोर्नमा निपुण उहाँले हाल आफूजस्तै बोल्न नसक्ने बालबालिकालाई चित्र बनाउन सिकाउने काम समेत गर्दै आउनुभएको छ ।

रश्मिले कलाकारका रुपमा बालबालिकालाई चित्र बनाउन सिकाउने गर्नुहुन्छ भने उहाँका श्रीमान्ले सहयोगीका रुपमा काम गर्दै आउनुभएको छ । हाल उहाँले लमजुङ, नुवाकोट, पाल्पा, सर्लाहीलगायत १६ जिल्लामा संस्थागत र व्यक्तिगत रुपमा चित्रकला तालीम दिइसक्नुभएको छ ।“म कल्पनासमेत गर्न सक्दिन पहिले कसैसँग मनका कुरा व्यक्त गर्न नसक्ने म आज सबैसँग खुलेर कुरा गर्न र सिकाउन समेत सक्ने भएकी छु”, उहाँले हर्षित हुँदै भन्नुभयो । आफूजस्ता अपाङ्गता भएका व्यक्तिलाई आफूले मन लागेका काम गर्नुपर्ने सुझाव उहाँको छ । उहाँ थप्नुुहुन्छ, “हामीजस्ता बोल्न नसक्ने व्यक्तिको शब्द पनि सीमित छ, भावना व्यक्त गर्ने उपयुक्त माध्यम भनेकै चित्रकला हो ।” रश्मिकै नामबाट हात्तीवन निवासी अधिकारी दम्पतीले हाल कुपण्डोलमा ‘रश्मि आर्ट हाउस’ सञ्चालन गर्दैआएको छ ।

“विवाहअघि त जिन्दगी अन्धकारजस्तै लाग्थ्यो, कसैको हौसला पनि थिएन तर अहिले धेरै काम गर्न सफल भएको छु”, रश्मिले भन्नुभयो । हाल उहाँले बोल्न नसक्ने बालिकाहरुलाई विभिन्न जनचेतनामूलक तालीमसमेत दिँदै आउनुभएको छ । उहाँ आफ्नो सफलताको श्रेय पतिलाई नै दिनुुहुन्छ ।हरि चलचित्र निर्माता हुुनुहुन्छ । ‘उडी छुनु चन्द्र एक’ नामक टेलिचलचित्रको कलाकारमा बोल्न नसक्ने कलाकारको आवश्यकता परेपछि अधिकारी बहिरा सङ्घमा पुग्नुभएको थियो । सोही क्रममा उहाँहरुको भेट २०६४ सालमा भएको थियो । रश्मिले उक्त टेलिचलचित्रमा प्रमुख पात्रको भूमिका निर्वाह गर्नुुभएको छ ।

“पाँच महिनासम्म सँगै काम गरेपछि म अष्ट्रेलिया गएँ, उतै हँुदा नै मलाई रश्मिले साथ पाइन् भने केही गर्न सक्छिन् भन्ने लागेपछि उसलाई विवाहको लागि प्रस्ताव राखेंँ”, अधिकारीले बताउनुभयो । उहाँहरुको विवाह २०६५ सालमा भएको थियो ।दुवैको जात फरक भए पनि मागीविवाह नै भएको थियो । “अरू सामान्य केटीसँग विवाह गरेको भए राम्रो हुन्थ्यो भन्ने होइन, विवाह भएको दश वर्षसम्म पनि हाम्रो सम्बन्ध अहिले उस्तै गाढा छ”, उहाँले बताउनुभयो । रश्मि आर्ट हाउसमार्फत हरि चलचित्र बनाउनुहुन्छ भने रश्मिले चित्र बनाउने काम गर्दै आउनुभएको छ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
नेप्से परिसूचकमा झिनो अङ्कको सुधार
नेपालमा विदेशबाट गाईगोरुको मल आयात गर्नु कति विडम्वना: अधिकारी
नेपालमा विदेशबाट गाईगोरुको मल आयात गर्नु कति विडम्वना: अधिकारी
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमाले पार्टीका तर्फबाट उम्मेदवार सिफारिस
नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा
नारायणगढ—मुग्लिन सडकखण्डः समयमा काम नसकेपछि छानबिन गर्न निर्देशन : गृहमन्त्री थापा
हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
हुम्लामा फेरि हिमपात, हवाई सेवा अवरुद्ध, जनजीवन प्रभावित
देउवाले गरे जनताका पक्षमा नयाँ निर्णय !
देउवाले गरे जनताका पक्षमा नयाँ निर्णय !
राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण
राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण
बेलारूसमा विश्व हेलिकोप्टर प्रतियोगिता !
बेलारूसमा विश्व हेलिकोप्टर प्रतियोगिता !
जुम्लामा ६९ प्रतिशत मत खस्यो, ४२ केन्द्रका मतपेटिका भोलि मात्र ल्याइने
जुम्लामा ६९ प्रतिशत मत खस्यो, ४२ केन्द्रका मतपेटिका भोलि मात्र ल्याइने
नवलपुरमा चैतेधान लगाउने क्षेत्रफलमा वृद्धि
नवलपुरमा चैतेधान लगाउने क्षेत्रफलमा वृद्धि

तपाईंले छुटाउनुभयो कि?