सगरमाथाको उचाइ नाप्न एक महिना लाग्ने
सारांश
- काठमाडौं ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जाने कर्मचारीको टोलीलाई विदाइ गरेका छन् ।
- टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथाको उचाइ नाप्न जाने कर्मचारीको टोलीलाई विदाइ गरेका छन् । टोलीले करिब एक महिनामा सगरमाथाको उचाइ नापेर फर्कने योजना छ ।
भूमि व्यवस्था तथा सहकारी मन्त्रालयबाट चार जना कर्मचारीको टोली गएका हुन् । टोलीमा प्रमुख नापी अधिकृत खिमलाल गौतम, नापी अधिकृत रबिन कार्की, सर्भेक्षक सुरजसिंह भण्डारी र अमिन युवराज धिताल छन् ।
शुभकामना तथा विदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ नाप्न लागिएकाले यस टोलीको प्रतिवदेन आधिकारिक हुने बताएका थिए ।
“नेपाल सरकारको तर्फबाट पहिलो पटक सगरमाथाको उचाइ मापन हुदैछ । तपाईंहरुले सेन्टिमिटर सहितको उचाइ नापेर ल्याउनु होला” प्रधानमन्त्री ओलीले भने, “तपाईंहरुले ल्याएको नाप नै सगरमाथाको आधिकारिक उचाइ हुनेछ ।”
प्रधानमन्त्री ओलीले टोलीलाई लक्ष्य हासिल गर्नका लागि शुभकामना दिंदै मौसम र स्वास्थ्यलाई भने ख्याल गर्न सुझाएका छन् । “लक्ष्यमा अडिग रहनुहोस् तर स्वास्थ्यले साथ दिएन वा मौसम प्रतिकुल भयो भने जिद्धी नगर्नुहोस् । सगरमाथा त्यही हुन्छ । अर्को पटक गएर नापेर आए हुन्छ” प्रधानमन्त्री ओलीले भने, “गाइडको निर्देशन पालना गर्नुहोला ।”
प्रतिक्रिया