समय तालिका बनाएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्री तथा सचिवहरुलाई जिम्मेवारीमा रहेको काम छिटो छरितो र प्रभावकारी ढंगले गर्न निर्देशन दिएका छन्।
- १५ साउनमा कार्यसम्पादन सम्झौता गर्दै काममा आलटाल नगर्न भनेका छन्।
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका मन्त्री तथा सचिवहरुलाई जिम्मेवारीमा रहेको काम छिटो छरितो र प्रभावकारी ढंगले गर्न निर्देशन दिएका छन्। १५ साउनमा कार्यसम्पादन सम्झौता गर्दै काममा आलटाल नगर्न भनेका छन्।राजनीतिक या अन्य कुनै बहानामा काममा आलटाल गर्ने छुट नभएको स्पष्ट पारे। उनले मन्त्रीहरुलाई निर्देशन दिदै भने,‘मासिक र वार्षिक कार्यतालिका बनाएर काम गर्नुहोस्।’
प्रधानमन्त्री ओलीले जनताको सेवा, सुविधालाई ध्यानमा राखेर सरकार अघि बढेको दाबी गर्दै त्यस अभियानलाई अझै प्रभावकारी बनाउन पनि सबै मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराए। उनले विकास, निर्मााणको कामलाई सहज ढंगले अघि बढाउने गरी जनताले बहुमतको सरकार बनाएको स्मरण गर्दै सोही अनुकूलतालाई ध्यानमा राखेर विकास, निर्माणको काममा तीव्रता दिनुपर्ने आवश्यक्ता पनि औंल्याए।
प्रधानमन्त्री ओलीले सरकार मुलुकको हित हुने गरी अडान लिन सक्ने हैसियतमा रहेको उल्लेख गर्दै सोही अनुसारको कार्य सम्पादन गर्नुपर्नेमा पनि जोड दिए। त्यस अवसरमा सचिवहरुले मन्त्रीहरुसँग पनि कार्य सम्पादन सम्झौता गरेका थिए। चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको कामलाई पूर्णता दिन प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्य सम्पादन सम्झौंता गर्ने कामको सुरुवात गरिएको हो। प्रधानमन्त्री ओलीले सरकारको सो अभियानलाई सफल बनाउन सहयोग गर्न पनि सबैलाई आग्रह गरे।
यो पनि पढ्नुहोस
कांग्रेसमा पार्टी संगठनको अन्तरिम व्यवस्था सहमतिमा गर्न सुझाव
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिकांश केन्द्रीय सदस्यले पार्टी विधानअनुसार संगठनको अन्तरिम व्यवस्थाअनुसारको गठन सहमतिमा गर्न सुझाव दिएका छन् ।गत असार २२ गतेदेखि प्रारम्भ केन्द्रीय समितिको बैठकमा पार्टी विधानको धारा ७२ ९४० अनुसार सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित छ ।
बैठकमा करीब पाँच दर्जन केन्द्रीय सदस्यले धारणा व्यक्त गरिसकेका छन् । सो क्रममा अधिकांशले पार्टी विधानअनुसार सङ्गठनको अन्तरिम व्यवस्था गठन सहमतिमा गर्न सुझाव दिएको केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले जानकारी दिए ।करीब डेढ वर्षपछि १४ औँ महाधिवेशनको प्रक्रिया आरम्भ हुने भएकाले स्थानीयस्तरमा सहमतिको वातावरण कायम राख्न पनि हाल अन्तरिम संरचना सहमतिमा गठन गर्नुपर्नेमा अधिकांश केन्द्रीय सदस्यबाट सुझाव आएको उनले बताए ।
बैठकमा मंगलबारदेखि विधानअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण, जागरण अभियानको प्रतिवेदन, प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति, अनुशासन समितिको प्रतिवेदन, भ्रातृ एवं शुभेच्छुक संस्थालगायत कार्यसूचीमाथि छलफल पार्टी कार्यालयले जनाएको छ । गत असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका लागि १४ कार्यसूची प्रस्तुत गरेका थिए ।
पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा मंगलबार बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले आ–आफ्नो विचार व्यक्त गरे ।केन्द्रीय कार्यसमितिको बैठक साउन १५ गते आज दिउँसो ३ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
प्रतिक्रिया