“सम्पादकलाई चिठी”

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
२८ पटक हेरिएको
Shares
“सम्पादकलाई चिठी”

सारांश

  • राजकुमार दिक्पाल सम्पादकज्यू,  आज एउटा सानो कुरा गर्नुछ तपाईंसँग !
  • हिजोआज भयाक्रान्त हुन्छु म तपाईंको अखबारमा छापिने शब्दहरुसँग !
  • जसरी म तर्सन्थेँ –सानो छँदा आमाले ‘पुलिस बोलाउँछु’ भन्दा या कसैले भूतप्रेतको कथा सुनाउँदा ।

राजकुमार दिक्पाल

सम्पादकज्यू, 
आज एउटा सानो कुरा गर्नुछ तपाईंसँग !

हिजोआज भयाक्रान्त हुन्छु म
तपाईंको अखबारमा छापिने शब्दहरुसँग !
जसरी म तर्सन्थेँ
–सानो छँदा आमाले ‘पुलिस बोलाउँछु’ भन्दा या
कसैले भूतप्रेतको कथा सुनाउँदा ।

क्षमा पाऊँ
म तपाईंसँग डराइरहेछु आज !

कुनै बेला
तपाईंको अखबारको पर्खाईमा छटपटिन्थेँ
तर अहिले तपाईंको अखबार
भरसक पढ्न नपरोस भनेर
छटपटिन्छु म ।
किन यस्तो अनौठो अनुभूतिले सताइरहेछ
तपाईंको नियमित पाठकलाई आज ?

तपाईंसँग समय छ कि छैन सम्पादकज्यू,
तर आज एउटा सानो कुरा गर्नुछ तपाईंसँग ।

निभ्न लागेको आगोलाई बाल्नुपर्ने हो तपाईंले
तर बलेको आगो ताप्न थाल्नुभो तपाईं
– दुःखी भएँ म ।
सतित्व लुटिएकी चेलीहरु छटपटाइरहँदा
ब्लो अपमा छपिने सुन्दरीसँग डेटिङमा हुनुहुन्थ्यो तपाईं
–लज्जित भएँ म ।
यहाँ अन्यायविरुद्ध आवाज उठिरहँदा
चियर्स गरिरहनुभएको थियो, तपाईं शक्तिकेन्द्रहरुसँग
–विचलित भएँ म ।
यहाँ अग्र्यानिक बगैँचाहरु सुक्दै जाँदा
तपाईं बहुराष्ट्रिय कम्पनीको प्रवक्ता बन्नुभो
–साह«ै विरक्त भएँ म ।
नदेख्दा सप्तरंगी इन्द्रधनुषी नेपाली अनुहार तपाईंको अखबारमा
–म रोएँ सम्पादकज्यू !

धन्य छ, सम्पादकज्यू !
तपाईंले त ‘गजब’को अजेण्डा सेटिङ गरिदिनुभयो
फेरि पनि धन्य छ, तपाईंको ‘ब्यावसायिक धर्म निर्वाह’ ।

तपाईं आफैले किन धुजा धुजा पार्नुभयो–
आफैले रचना गरेको ‘सत्य, तथ्य र निष्पक्ष’ स्लोगन
किन स्खलीत हुनुभयो आदर्शबाट
क्षमा गर्नुहोला, सम्पादकज्यू !
मनबाट आस्थाको हिमालचुली
ढलिरहेको अनुभूति भइरहेछ आज मलाई ।

तर पनि च्यातेर तपाईंको अखबार
‘प्रेस स्वतन्त्रता’ कुण्ठित गर्न चाहन्न म
र, चाहन्न म त्यसपछि पढ्न
तपाईंको सम्पादकीयमा पोखिने अरण्य रोदन ।

धनकुटा (हाल :  काठमाडौं)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?