सरकारको कामले सबै कुराको जवाफ दिनेछ : प्रधानमन्त्री ओली
सारांश
- सिराहा ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको र सरकारले बृद्धभत्ता बढाउने बताए ।
- शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेसबारे विभिन्न हल्ला चलाइएपनि सरकारका कामले सबै कुराको जवाफ दिने बताए ।
सिराहा । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको विकासका लागि सरकारले विभिन्न क्षेत्रमा काम अघि बढाएको र सरकारले बृद्धभत्ता बढाउने बताए । शहीद हेमनारायण यादवको १५ औं स्मृतिसभालाई सिराहामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मधेसबारे विभिन्न हल्ला चलाइएपनि सरकारका कामले सबै कुराको जवाफ दिने बताए ।
“मधेसबारे अनेक हल्ला चलाइएका छन्, तर सरकारको कामले सबै कुराको जवाफ दिनेछ” प्रधानमन्त्रीले भने, “हुलाकी सडकको निमार्ण, भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण, तराई मधेस समृद्धि कार्यक्रम सबै तराईकै विकासका लागि सञ्चालन भएका हुन् । केही दिन अघि झापा विमानस्थलमा रात्रीकालीन उडान सेवा सुरु भएको छ । जनकपुरमा केही महिनामा यस्तो सेवा सुरु हुदैछ ।”
प्रधानमन्त्री ओलीले मधेसलाई काठमाडौंसँग जोड्ने द्रुत मार्ग, निजगढ विमानस्थल, कमला मरिन डाइभर्सनबाट तराईलाई सिचाईं गर्ने योजनाका कामहरु धमाधम भइरहेको स्मरण गरे । त्यसैगरी तराईका जिल्लाका सदरमुकाम जोड्ने सडकहरुको स्तर वृद्धिका लागि आफू अघिल्लो पटक प्रधानमन्त्री भएका बेला सुरुवात गरिएको र अहिले काम धमाधम भइरहेको बताए ।
अघिल्लो सरकारले देशको ढुकुटी रित्तो पारेकोले अघिल्लो बर्ष वृद्धभत्ता बढाउन नसकेको प्रधानमन्त्रीको भनाइ छ । “वृद्धभत्ता बढेन भनेर निराश हुनुपर्ने अब धेर दिन छैन” प्रधानमन्त्री ओलीले भने, “आउने आर्थिक बर्षमा वृद्धभत्ता अवश्य बढ्छ । सरकारले बढाउने छ ।”
“यस जिल्लाबाट निरक्षरता उन्मुलन गर्नका लागि मैले नै पहलकदमी लिएको छु” प्रधानमन्त्री ओलीले भने, “त्यसका लागि गत बैसाख ५ गते यसै जिल्लाका दुई जना बालबालिकालाई विद्यालय भर्ना गरेर मैले अभिभावकत्व पनि ग्रहण गरेको छु ।”
२०६० साल माघ १९ गते तत्कालिन नेकपा (एमाले) सिराहा जिल्लाका अध्यक्ष एवं सांसद हेमनारायण यादवको धनुषा र सिराहाको सिमाना पर्ने कमला खोलामा रहस्यमय हत्या भएको थियो ।

प्रतिक्रिया