सावधान !  चिसो दुध नपिउनुस् , तताएर मात्र पिउने गरौं ! कोलीफर्मले पखाला लाग्न सक्छ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ४, २०७५
|
|
२४ पटक हेरिएको
Shares
सावधान !  चिसो दुध नपिउनुस् , तताएर मात्र पिउने गरौं ! कोलीफर्मले पखाला लाग्न सक्छ

सारांश

  •   काठमाडौं ।
  • दूध एकमात्र त्यस्तो खाद्य पदार्थ हो जसलाई सम्पूर्ण खाद्य पदार्थ पनि भनिन्छ ।
  • मानिसको शरिरलाई आवश्यक पर्ने चिल्लो पदार्थ, प्रोटिन, कार्वोहाइड्रेड, खनिज पदार्थ र भिटामिन जस्ता पौष्टिक तत्वहरु दुधमा पाईन्छ ।

 

काठमाडौं । दूध एकमात्र त्यस्तो खाद्य पदार्थ हो जसलाई सम्पूर्ण खाद्य पदार्थ पनि भनिन्छ । मानिसको शरिरलाई आवश्यक पर्ने चिल्लो पदार्थ, प्रोटिन, कार्वोहाइड्रेड, खनिज पदार्थ र भिटामिन जस्ता पौष्टिक तत्वहरु दुधमा पाईन्छ ।

 

बिरामी, बालबच्चा र वृद्धवृद्धा अधिकांशलाई दूध नभई हुन्न । तर, यही दूध नै बिरामीको अर्को कारण भए के होला ? पछिल्लो समय दैनिक उपभोग्य दूधमा विभिन्न कैफियत देखिएका छन् । हामीले दैनिक पिउने दुधमा कोलीफर्म (दिशामा पाईने जिवाणु) भेटिएको हो । सरकारी अनुगमनका क्रममा जिवाणु भेटिए पनि कारवाही हुन सकेको छैन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको परीक्षणमा कोलीफर्म भेटिएको हो । राजधानीका २३ वटा प्रशोधित दुध डेरीका ३३ वटा ब्राण्ड मा कोलिफर्म पाइएको थियो । सङ्कलन गरिएका दुधका ४२ नमुनामध्ये एउटै ब्याच नं नदोहोरिने गरी परीक्षण गरिएका ३६ नमुनामा कोलीफर्म भेटिएको हो । मानव स्वास्थ्यलाई हानि पु(याउने कोलिफर्म नामक सूक्ष्म जीवाणु फेला परेको हो ।

 

अन्तर्रा्ष्ट्रियस्तरको खाद्य सुरक्षा व्यवस्थापन प्रणालीमा आधारित आईएसओ प्रमाणीकरण गरिएको सरकारी स्वामित्वको दुग्ध विकास संस्थानसहित २३ वटा निजी तथा सामुदायिक डेरीको दुधमा कोलिफर्म फेला परेको हो । तर अझै डेरी उद्योगहरुलाई कुनै कारवाही हुन सकेको छैन । दैनिक हामीले त्यहि कोलीफर्म भएको दुध उपभोग गरिरहेका छौं । यता अनुगमन र कारवाही गर्ने निकाय पनि छ तर अझै पनि यस्ता डेरी उद्योगहरुलाई कारवाही हुन सकेको छैन ।

दुधमा कोलीफर्म भेटिए पछि अहिले आम सर्वसाधारणमा एक प्रकारको त्रास नै फैलिएको छ । नेपालको दूग्ध मापदण्ड अनुसार प्रशोधित दूधमा कोलिफर्मको उपस्थित वर्जित छ । ‘तर कोलिफर्म भन्ने बित्तिकै डराइहाल्नु नपर्ने’ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सन्जीव कर्णले बताए । अहिले दुधमा पाईएको कोलीफर्म सामान्य खालको रहेको भन्दै खतरापुर्ण नभएको उनको भनाई छ ।

 

 

तर चिसो दुध पिउदा खतरा पुर्ण रहेको बताउंछन् । र चिसो दुध नपिउन सल्लाह दिदै दुध तताएर मात्र पिउन सवैलाई आग्रह गरेका छन । उनका अनुसार दुध उमाल्न सम्म पर्दैन तताएमात्र पनि कोलीफर्म नस्ट हुन्छ । त्यसो त पछिल्लो समय दूधमा अनेक समस्या देखिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आचारसंहिता ल्याउने तयारी गरेको विभागका महानिर्देशक सन्जीव कर्णले बताए ।

गुणस्तर सुधार्न कानुन परिमार्जनको तयारी गरेको उनको भनाई छ । अब दूग्ध किसान, संकलन, चिस्यान र वितरण केन्द्रका लागि छुट्टाछुट्टै आचारसंहिता जारी गर्ने तयारी भएको छ । त्यस्तै, साना डेरी पसलका लागि पनि छुट्टै मापदण्डको तयारी भइरहेको विभागले जनाएको छ । ‘अहिलेका दूधसम्बन्धी आचारसंहिता खाद्य ऐनअनुसारका नभएको भन्दै दुधमा गुणस्तरियता कायम र कोलीर्फमको समस्या हटाउन समेत ‘खाद्य ऐनसँग जोडेर आचारसंहिता ल्याउने तयारी गरेको उनको भनाई छ ।

दुध उत्पादकहरुको छाता संगठन डेरी उद्योग संघका अध्यक्ष  अरनीको राज भण्डारी भने दुधमा खराबी नभएको दाबी गर्छन् । डेरी उद्योग संघका अध्यक्ष  भण्डारी  उद्योगमा ७२ डिग्रीसम्मको तापक्रममा दुधलाई उमालेर जीवाणु नष्ट गर्ने गरिएको छ त्यसैले दुध तताएर उपभोग गर्दा कुनै खतरा नरहेको बताए ।

 

उनका अनुसार गाई वा भैंसी दुहुँदा थुनमा गोबर लागेको, भाँडावर्तनको फोहोर, वातावरण सफा नभएको, उचित किसिमले ढुवानी नभएकोले पनि किसान बाटै दुधमा कोलीफर्म आउने गरेको उनको भनाई छ ।

 

दूधमा कोलिफर्म भेटिएपछि सम्बन्धित उद्योगलाई आवश्यक कारबाहीका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले प्रतिवेदन तयार गरेको छ त्यसो त दूधमा न्यून गुणस्तर समेत हुने गरेको छ । नमुना परीक्षणबाट १७ वटा ब्राण्डका दूधमा न्यून चिल्लो वस्तु (फ्याट) र ९ वटामा चिल्लो बाहेकका ठोस वस्तु (एसएनएफ) को कमी देखाएको छ ।

 

विभागका अनुसार प्रशोधित दूधमा फ्याटको मात्रा कम्तीमा ३ प्रतिशत र एसएनएफको मात्रा कम्तीमा ८ प्रतिशत हुनुपर्छ । मापदण्डभन्दा कम मात्रामा फ्याट र एसएनएफ हुनु न्यून गुणस्तर हुनु हो । तर आम सर्वसाधारणले न्युन गुणस्तरको दुध उपभोग गर्न बाध्य बनाइएको छ । यसअघि २०७० सालमा पहिलो पटक थुप्रै ब्राण्डका दूधमा कोलिफर्म जीवाणु फेला परेको थियो ।

 

के हो कोलिफर्म ?
कोलिफर्म मानिस तथा जनावरको दिसामा पाइने जीवाणु हो । यो जीवाणु बाहिरी वातावरणमा पनि पाइन्छ । सबै कोलिफर्म हानिकारक हुँदैनन् । कोलिफर्म ब्याक्टिेरियाका इ.कोलीलगायतका प्रजाति निकै हानिकारक हुन्छन् । त्यसले वान्ता गराउने, झाडापखाला लाग्ने, युरिन इन्फेक्सन गराउने गर्छ ।

 

कोलिफर्म बाहिरी वातावरणमा रहेको पानी, मानिस वा तातो रगत भएका जनावरका दिसामा पाइने गर्छ । यो एक दर्जनभन्दा बढी ब्याक्टेरियाको समूह हो । यदि कुनै पानीमा कोलिफर्म भेटिए, त्यसमा ढलको पानी मिसिएको भनेर बुझ्न सकिन्छ । तर, यसमा हुने धेरैजसो ब्याक्टेरियाले मानव स्वास्थमा उल्लेख्य हानी र्पुयाउँदैन ।

 

यसलाई सामान्यतः तीन स्तरमा छुट्याएर हेरिन्छ र यसैका आधारमा स्वास्थ्य जोखिम पनि छुट्याइन्छ ।

१. टोटल कोलिफर्म यसले कोलिफर्मको समूहलाई बुझाउँछ। यसले आफूले प्रयोग गर्ने पानी फोहोर मिसिएको संकेत गर्छ ।

२. फेकल कोलिफर्म : यसले पानीमा जनावर वा मानिसको दिसा मिसिएको संकेत गर्छ। टोटल कोलिफर्मभन्दा यसको उपस्थितिले मानिसको स्वास्थ्यमा हानी गर्न सक्ने सम्भावना बढी हुन्छ ।

३. इकोलाई : फेकल कोलिफर्मको उपसमूहका रुपमा ’इकोलाई’लाई लिने गरिन्छ । पानी पिउनका लागि अयोग्य भएको संकेतका रुपमा यसलाई सबैभन्दा भरपर्दो रुपमा लिने गरिन्छ। धेरैजसो इकोलाईका प्रजातिहरू हानिकारक हुँदैनन ्। तर, कहिलेकाहीँ बान्ता, पखाला, टाउको दुख्ने र मांशपेशी बाउँडिने हुन सक्छ ।

नेपालमा कोलिफर्मबारे व्यापक चर्चा हुने गरे पनि कुन स्तरको हो भनेर वर्गीकृत गर्ने गरेको पाइँदैन । केही अनुसन्धानहरुमा भने वर्गीकृत गरी अध्ययन गरिएका छन् । कोलिफर्मको मात्रा जति बढी हुन्छ स्वास्थका लागि उति जोखिम रहन्छ भनेर बुझ्नुपर्ने हुन्छ ।

 

दूध र दुग्धजन्य परिकार मानवीय संस्कार, चाडपर्व र जीवनपद्धतिको अभिन्न अंगको रुपमा जोडिएका छन् । बिहान उठ्नेबित्तिकै अधिकांशले तातो दूध वा दूध हालेको चिया पिउँछन् । दुधको गुणस्तरका लागि गुणस्तर विभागले गुणस्तर सुधार्न कानुन परिमार्जनको तयारी समेत गरेको छ ।

 

अहिले स- साना डेरी पसलमा समेत खुल्ला रुपमा दुध विक्रि हुदै आईरहेको छ । ति डेरीहरुमा बेचिने दुधको कुनै नमुना संकलन नै हुदैन । त्यसैले डेरी उद्योग आफै पनि आम उपभोक्ताको स्वास्थ्य प्रति गम्भिर हुनु पर्ने देखिन्छ ।

 

हाल दुधमा देखिएको कोलीफर्मले कुनै नोक्सानी नुहने भन्दै गुणस्तर विभागले तताएर दुध पिउन आग्रह गरेको छ । त्यसैले अव हामीले दुध प्रयोग गर्दा तताएर मात्र पिउने गरौ र कोलीफर्म भएका डेरी उद्योगले अव गुणस्तरिय दुध प्रशोधन गर्न सक्नु पर्छ । आम उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने काम कोही कसैबाट हुनु हुदैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?