बल्दैछन् ट्राफिक बत्ती, कतिन्जेल !
सारांश
- काठमाडौं – विगत आठ वर्षदेखि बिग्रिएका उपत्यकाको ट्राफिक बत्ती मंगलबारदेखि बल्न थालेका छन्।
- पहिलो चरणमा उपत्यकाको अति व्यस्त चोक र जेब्राक्रसिङ गरी ६ स्थानमा ट्राफिक लाइट बल्न थालेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
- जापान सरकारको सहयोगमा २०५८ सालमा उपत्यकाका ११ स्थानमा ट्राफिक बत्ती जडान गरिएको थियो।
काठमाडौं – विगत आठ वर्षदेखि बिग्रिएका उपत्यकाको ट्राफिक बत्ती मंगलबारदेखि बल्न थालेका छन्। पहिलो चरणमा उपत्यकाको अति व्यस्त चोक र जेब्राक्रसिङ गरी ६ स्थानमा ट्राफिक लाइट बल्न थालेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
जापान सरकारको सहयोगमा २०५८ सालमा उपत्यकाका ११ स्थानमा ट्राफिक बत्ती जडान गरिएको थियो। ती बत्ती मर्मत अभावमा २०६७ सालदेखि बल्न छोडेका थिए।
उपत्यका महानगरीय ट्राफिक महाशाखाका प्रमुख डिआइजी सर्वेन्द्र खनाल, काठमाडौं महानगरपालिकाका धनीराम शर्मा र सडक विभाग ट्राफिक शाखाका दीप बराहीले सामूहिक रुपमा नयाँ बानेश्वर चोकबाट बत्तीको उट्घाटन गरे।
जसअनुसार नयाँ बानेश्वर चोक, पद्मोदय चोक पुतलीसडक, नारायण गोपाल चोकमा बत्ती बलेको छ। यी तीन चोकसहित दुई जेब्राक्रसिङ चोक काठमाडौं महानगरपालिका कार्यालय चोक सुन्धारा र कुमारी बैंक र न्युरोड चोकमा पनि मंगलबारदेखि नै बत्ती बल्न थालेका छन्। नारायणगोपाल चोकमा सबै नयाँ प्रविधि र नयाँ बानेश्वर चोकमा पुरानै बत्तीमा नयाँ सर्भर जडान गरिएको जनाइएको छ। नागरिक दैनिकमा खबर छ ।
सुरुमा नमुना परियोजनाका रुपमा दुई स्थानमा मात्र सम्झौता भएकाले उपत्यकाका सबै स्थानमा एकैपटक बत्ती बल्न नसकेको ठेकेदार कम्पनीले जनाएको छ। ‘यसको परीक्षण हेरेपछि अरु ठाउँमा जोड्दै जाने कुरा छ,’ कम्पनीका इन्जिनियर सद्धिक अन्सारीले भने। उनका अनुसार यी ६ स्थानसहित ३६ स्थानमा ट्राफिक बत्ती जडान गर्न आवश्यक रहेको सरोकारवालाको ठम्याइ छ।
बल्न थालेका बत्तीहरु पुरानो प्रविधिका तुलनामा आधुनिक र व्यवस्थित भएको बत्ती निर्माणमा संलग्न यार्सा टेक्नोलोजीको दाबी छ। पुरानो प्रविधिमा जमिनमुनि तार ओच्छ्याइएको थियो । नयाँ प्रविधीमा तार जहाँबाट जोडेको भए पनि सर्भरबाटै ट्राफिक बत्ती नियन्त्रण गर्न सकिन्छ। एउटै स्थानबाट धेरै ठाउँमा एकै पटक नियन्त्रण गर्न सक्नु नयाँ सर्भरको अर्को विशेषता हो। साथै, भिआइपीको सबारीका बेला र एम्बुलेन्सको सबारीको लागि पनि रिमोटबाटै ग्रीन सिग्नल दिन सकिने व्यवस्था सर्भरबाटै गर्न सकिनेछ।
Bishnu Acharya
Backbite jailai